Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाली बालसाहित्यमा बालसाहित्यकार मन्जु ज्ञवालीको योगदान

नेपाली बालसाहित्यमा बालसाहित्यकार मन्जु ज्ञवालीको योगदान


  • 5.0K
    Shares

    नेपाली बालसाहित्यमा बालसाहित्यकार मन्जु ज्ञवालीको योगदान
    images

            मन्जु ज्ञवाली नेपाली बालसाहित्यको समृद्धि र विकासका लागि बाल कथा लेखन तथा प्रशिक्षणमा सक्रियता पूर्वक लागि परेकी एक नारी स्रष्टा हुन् । उनका बालकथा सङ्ग्रहहरु ,बालचित्रकथाका दर्जन भन्दा बढी पुस्तक प्रकाशन हुनाका साथै किशोर कथासँग्रह प्रकाशित भैसकेका छन् । 

             नेपालको पश्चिमी भू भाग गुल्मी जिल्लाको साविक दिगाम गा.वि.स. बोहामा बुबा लेखनाथ ज्ञवाली र आमा आशा ज्ञवालीको कोखबाट २०३२ साल फागुन ११ गतेका दिन उनले यस धर्तीमा पाइला टेकेकी थिइन् । उनी गुल्मीमा जन्मेकीे भए तापनि उनको बाल्यकाल भने नेपालगञ्जमा बितेको हो । उनका बुबा पत्रकारिताको शिलशिलामा नेपालगञ्जमा बस्थे । उनकी आमा पहाडबाट नेपालगञ्जमा गएपछि उनी पनि बाबा आमासँगै नेपालगञ्जमा बस्न थालेकी हुन् । उनका बुबा त्यति बेला पश्चिम नेपालबाट मातृभूमि पत्रिकाका लागि सम्वाददाता थिए । उनका बुबा एक नाम चलेका कुशल पत्रकार, कवि, तथा राजनीतिकर्मी भएकोले प्रायजसो घरमा राजनीतिक दलका नेता कार्यकर्ता, पत्रकारहरु तथा कवि, साहित्यकारहरुको जमघट हुने गर्दथ्यो । उनका बुबाले पत्रकारिताका साथै रोजीरोटीको लागि पुस्तक पसल पनि खोलेका थिए । त्यति बेला बालबालिकाका लागि नेपालीमा बालमैत्री पुस्तकहरु थिएनन् । पसलमा भएका विभिन्न पुस्तकहरु पल्टाएर हेर्ने, पढ्ने बानीले गर्दा पढाइप्रतिको लगावबढेको बताउँछिन् मन्जु ।

               उनका बुबाले नेपालगञ्जमा खोलेको भेरी न्युज सेन्टर स्टेशनरीमा राजनीतिक गफ र भेटघाटको केन्द्र थियो । ती ठूला मान्छेहरु के कुरा गर्थे बुझिदैनथ्यो । गफ सुन्दा आफु पनि कहिले ठूलो हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो रे मन्जुलाई । 

                २०४६ साल भन्दा पहिला खुलेर राजनीति गर्न पाउने अवस्था थिएन । कहाँ कतिबेला पुलिस प्रशासनले छापा मार्ने हो भन्ने डर थियो । किनभने पञ्चायती शाषकहरुको आँखाको तारो भैररहनुपर्ने अवस्था थियो । राजनीति गर्ने व्यक्ति त्यसमाथि पनि कम्युनिष्ट विचारधारा भएका व्यक्तिहरुले त भेटघाट, सभा सम्मेलन गर्दा पनि लुकिछिपी , घना जङगल वा रातको समयमा गर्ने गर्दथे । गाउँ होस् वा शहर यस्ता सभा सम्मेलन भएको थाहा पाएमा त्यो कुरा जिल्लामा पुग्थ्यो उसलाई जिल्लाबाट वारेन्ट काटिथ्यो । त्यसै कारणले गर्दा पनि पञ्चायतकालमा राजनीति गर्न सजिलो थिएन । यति हुँदाहुँदै पनि उनका बुबाले गरिव ,शोषित, पीडित ,श्रमजीविवर्गको पक्षमा बोलिरहे, लेखिरहे कहिले अखबारका पानामा त कहिले गीत कवितामा । उनको डेरामा नेपालगञ्जका पटवारीबाको घरमा थियो । पटवारीबा पनि साह्रै रसिक मान्छे । डेरामा सधै राजनीतिक , साहित्यिक व्यक्तिहरुको जमघट हुने गर्दथ्यो । घरको यही वातावरणले गर्दा मन्जु ज्ञवालीमा पनि वाल्यकाल देखि नै साहित्यको विजारोपण हुन गएको मान्छिन् लेखक स्वयं पनि ।

                उनी कक्षा पाँच पढ्दादेखि नै कविता लेख्ने गर्थिन् उनलाई कविता लेख्न प्रेरणा जगाउने उनका गुरु नन्दराम लम्साल हुन् ।
    २०४५ सालको भदौ ४ गते बाल दिवसको अवसरमा काठमाडौमा हुने राष्ट्रियस्तरको बालसाहित्य सम्मेलनमा सहभागी भइन् । उक्त सम्मेलनमा उनले राजा रानीको महिमा गान गरिएको कविता सुनाएकी थिइन् । त्यो कविता लेखेर बुबालाई देखाउँदा सुरुमा बुबाले त्यति रुचाएनन रे ! पछि उनका बुबाले काँटछाँट गरिदिएपछि त्यही कविताले प्रथम स्थान हातपार्न सफल भएछ । त्यसपछि उनमा साहित्यप्रति झन् बढि रुचि बढ्न थाल्यो । स्कुलमा हुने निवन्ध लेखन, वक्तृत्वकला, कविता प्रतियोगिताहरुमा भागलिने गर्न थालिन् । उनका बुबाले लेखेका राष्ट्रभक्तिका गीत, आफ्नाु देशको माटोका गीत, महिला मुक्तिका गीत, श्रमजीवी वर्ग र गरिव दुःखीका गीत र सामन्तलाई मास्नुपर्छ भन्ने सन्देश बोकेका जनमुक्तिका गीत ,वर्गविभेद निम्त्याएको पीर व्यथाका गीत ,शासकका अमानवीय र कुकृत्यप्रति व्यँग्य र विद्रोही चेतनाले युक्त गीतहरुको प्रभावले उनी प्रगतिशील चिन्तनतर्फ आकर्षित भइन् ।

              उनी सानैँ छँदा उनका बुबाले लेखेका गीतहरु देउसी, भैलो र जनसाँस्कृतिक कार्यक्रममा गाउने, नाच्ने गर्दा ती गीतहरुले उनको मन मुटुलाई निकै छुन्थ्यो । उनी सानैँ छँदा उनका बुबाले गाएको गीत उनलाई अहिले पनि सम्झना छ –

    “लाहुरे हुन नजाऊ दाइ अब त ,
         खेर गयो नेपाली रगत ”

    “एउटा आँखा छोरा मेरो ,अर्को आँखा छोरी.....!”
    “लाहुर जाने लाहुरे दाई......!”

    जस्ता अनेकौँ गीत, सोरठी, भैलो , कव्वाली, आधुनिक गीतहरु गाएर नाचेको सम्झँदा उनलाई अहिले पनि बाल्यकालमा फर्किऊँ जस्तो लाग्छ । 

             उनका बुबा बनारसमा पढ्दा पुष्पलाल श्रेष्ठसँगको सङ्गतले माक्र्सवादी राजनीतिमा लागेका ज्ञवालीले थुप्रै प्रगतिशील गीतहरु लेखेका छन् र लेखनाथ ज्ञवालीको ‘बोल नेपाली जिन्दावाद’ भन्ने गीत पुष्पलालले निकै मन पराउएको  र गुन्गुनाउँने गरेको उनका बुबाले सुनाउँने गरेको सम्झन्छिन् मन्जु । मन्जु आफुमा पनि आफ्ना बुबाका गीतहरुले निकै प्रभाव पारेको बताउँछिन् । उनको साहित्य लेखनप्रतिको पहिलो प्रेरक व्यक्तित्व आफ्ना बुबा भएको बताउँछिन् । स्कुले जीवनमा छिटफुट रुपमा कविता निवन्ध लेखे पनि क्याम्पस तहमा पुगेपछि भने उनको लेखनको क्रम टुटेको थियो । अध्ययन, अध्यापन, घर गृहस्थी र बालबच्चा हुर्काउनु पर्दा लेखनको क्रम टुट ेपनि पछि उनलाई रेडियो प्रस्तोता बन्ने रहर जागेर रेडियो सगरमाथामा केही समय भोलेन्टियरको रुपमा काम गरे पनि त्यसलाई निरन्तरता दिन नसकेको स्वीकार गर्छिन् ।

               २०६८ सालतिर पारिवारिक भेटघाटको क्रममा विनय कसजूसँग भेट भएको र कसजूले उनलाई बालसाहित्य लेख्न प्रेरित गरेपछि उनी पनि बालसाहित्य लेखन तर्फ लागेको बताउने ज्ञवालीका अहिलेसम्म दर्जन भन्दा बढी बाल तथा किशोर कथाका पुस्तकहरु प्रकाशित भैसकेका छन् । त्यसैगरी विभिन्न पत्रपत्रिका तथा सँयुक्त संग्रहहरुमा उनका बालकथाहरु प्रकाशित भएका छन् । केही फुटकर संस्मरणात्मक लेख तथा लघुकथा लेखनतिर पनि उनको कलम चलेको पाइन्छ । 

                उनले बालसाहित्यकार विनय कसजूको “‘साइबर बालकथा’मा सूचना प्रविधिको प्रयोग”शीर्षकमा शोधकार्य गरेकी छन् ।
    बालसाहित्यमा लाग्न प्रेरित गर्ने अर्काे स्रोत भनेको उनका आफ्नै छोराछोरीहरु र उनका स्कुले विद्यार्थी पनि हुन् । अधिकांश समय उनी बालबालिकासँग रहने र बालबालिकाको मनोभावनालाई नजिकबाट नियाल्न, बुझ्न र अध्ययन गर्न पनि पाएकी हुनाले पनि उनलाई लेख्न प्रेरित गरिरन्छ । 

                 बाल्यकालदेखि नै साहित्य सिर्जना र साहित्यिक माहोलमा हुर्किने, पढ्ने र बढने अवसर पाएकी ज्ञवालीको साहित्यिक लेखनको सुरुवात कविताबाट भएको भए तापनि अहिले उनी बालसाहित्यकारको रुपमा परिचित छिन् । हालसम्म उनका बालकथा सङ्ग्रहहरु , बालचित्र कथाका पुस्तकहरु प्रकाशित छन् । उनका केही बालकथाहरु पाठ्यक्रममा पनि समावेश गरिएका छन् । साथै किशोर किशोरीका कथातिर पनि उनको ध्यान तानिएको छ । विशेष गरेर ज्ञवालीले बालसाहित्यमा बढी कलम चलाएकी छन् । आज नेपाली बालसाहित्यमा मन्जुको योगदान विशेष रहको छ । शिक्षण पेशा सँगसँगै लेखनमा पनि निरन्तर लागिरहेकी मन्जुले बालबालिकासँग नजिक रहेर उनीहरुको मनोविज्ञानलाई पढ्ने र बुझ्ने अवसर पाएको हुनाले पनि उनका बालकथाहरु बालबालिकाको उमेर , उनीहरुको रुचि र मनोविज्ञानलाई ध्यानमा राखेर लेखिएको पाइन्छ । त्यसैले पनि उनका बालकथाहरु बालउपयोगी ,रोचक र आकर्षक छन् ।  

                बालसाहित्य लेखनमा निरन्तर क्रियाशील ज्ञवालीका कृतिहरुबाट आज बालबालिकाहरुले सिक्ने र अभ्यास गर्ने सुअवसर पाएका छन् । उनका बालसाहित्यका कृतिहरु बालबालिकाले मात्र नभइकन युवायुवती र प्रौढहरुले समेत मन पराएका छन् । 
    बालबालिकाहरु शारीरिक, मानसिक र बौद्धिक रुपमा स्वस्थ हुनुपर्दछ । माथिका यी तीनै तत्वहरु मध्ये कुनै एक तत्वमा कमजोर हुने बित्तिकै उनीहरुले स्वतःस्फूर्त रुपमा चाहेअनुसारको ज्ञान सीप हासिल गर्न कठिनाइ पर्दछ । बालबालिकाहरु शारीरिक मानसिक र बौद्धिक रुपमा स्वस्थ राख्नु भनेको उनीहरुको खानपान सँगसँगै उनीहरुलाई दिनुपर्ने बौद्धिक खुराक पनि महत्वपूर्ण कुरा हो भन्छिन् मन्जु ज्ञवाली । बालबालिकाको असल बानी, व्यवहार र चरित्र निर्माणमा बालसाहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने भएकाले बालबालिकाको उमेर र रुचि अनुसारको ज्ञान सीप र क्षमता बिकास गराउन असल पुस्तक सिर्जनामा लाग्नुपर्ने बताउँछिन् । बालबालिकामा सोच्न सक्ने र सिक्न सक्ने अपार क्षमता हुन्छ र उनीहरुलाई समयमा नै असल ज्ञान, सीप दिन सक्यौँ भने मात्र भोलि गएर बालबालिकाको भविष्यमात्रै होइन देश कै भविष्य उज्वल हुन्छ । आजका बालबालिका भोलिको देशका धरोहर हुन् । बालबालिकालाई सही मार्गनिर्देशन गर्ने दायित्व हामी सबैको हो । यो दायित्वबाट हामी कोही पनि पन्छिन हुँँदैन । यदि यो दायित्वबाट पन्छियौँ  भने हामीले भोलिको हाम्रो देश हाँक्ने पुस्ताको क्षमता माथि कुठाराघात गरेको ठहरिनेछौँ भन्छिन् मन्जु ज्ञवाली । 

               प्रौढ पाठकका लागि लेखिने साहित्य लेखकले आफ्नो रहरले वा आफ्नो आत्मसन्तुष्टिको लागि लेखेको हुन सक्छ । तर बालसाहित्य लेख्नु भनेको आफ्नो सन्तुष्टिको नभएर बालबालिकाको असल चरित्र निर्माणका लागि, उनीहरुको मनोरञ्जनका लागि साथै बालबालिकाको ज्ञान सीप र धारणा विकासको लागि लेख्नुपर्ने भएकोले बालसाहित्य लेख्नु भनेको रहरको विषयभन्दा पनि एक जिम्मेवारी बोधका साथ लेख्नुपर्ने बताउँछिन् ज्ञवाली । अहिलेको युग भनेको सूचना प्रविधि मैत्री युग हो । प्रविधिमा आएको तीब्र विकाससँगै बालबालिकाले पढ्ने ,लेख्ने र उनीहरुको व्यवहारमा पनि परिवर्तन आइरहेको हुँदा अहिलेका बालबालिकाले रुचाउने खालका बालसाहित्य लेख्नु बालसाहित्यकारका लागि चुनौति र अवसर दुबै भएकोले संवेदनशील भएर यो क्षेत्रमा लाग्नुपर्ने बताउँछिन् ज्ञवाली । 

               पछिल्लो समयमा बालसाहित्यको क्षेत्रमा पनि धेरै सुधार आएको छ । बालसाहित्यको क्षेत्रमा पनि धेरै साहित्यकारहरु तन, मन दिएर लागिपरेका छन् । तिनै व्यक्तिहरु मध्येकी एक हुन् मन्जु ज्ञवाली । हालसम्म उनका तीनवटा बालकथा सङ्ग्रह, एउटा किशोर कथा सङ्ग्रह र आठवटा चित्रपुस्तक प्रकाशित भैसकेका छन् । उनका थुप्रै बालकथाहरु प्त्रपत्रिकामा पनि प्रकाशित भएका छन् भने थुप्रै कथाहरु सँयुक्त संग्रहमा प्रकाशित छन् । छोटो समयमा नै यति धेरै पुस्तकहरु प्रकाशनमा आउनु भनेको चानचुने कुरा होइन । यस हिसाबले  साहित्य सिर्जनामा एक अथक स्रष्टाको रुपमा उनलाई लिन सकिन्छ । उनी आजका कलिला बालबालिकालाई कसरी देशको उर्जाशील व्यक्तित्व निर्माणमा बालसाहित्यले महत्वपूर्ण योगदान दिन सक्छ भन्ने कुरामा विश्वास राख्छिन् र त्यसैको लागि निरन्तर बालसाहित्य सिर्जनामा लागि परेकी छन् । ज्ञवालीको योगदान बालसाहित्यको क्षेत्रमा मात्र नभएर किशोर किशोरी साहित्य लेखनमा पनि उत्तिकै रहेको छ । 

               ज्ञवालीका रचनामा राष्ट्र र राष्ट्रियता बोल्छ, देशभक्ति बोल्छ , मानवता बोल्छ, बालबालिका र किशोर किशोरीका समस्या र समाधानका उपाय बोल्छन् । उनका बालकथा तथा किशोरकिशोरीका कथाले बाल तथा किशोर किशोरीको मनोविज्ञानलाई छोइने गरी अभिव्यक्ति दिइएको छ । 

             कुनै पनि व्यक्तिको साहित्यिक पृष्ठभूमि उसको जीवनमा घटेका घट्नाहरु त्था जीवन संघर्षका अनुभूतिले उसको लेखनमा प्रभाव पारेको हुन्छ नै । मन्जु ज्ञवालीको साहित्यिक यात्रामा पनि उनको आफ्नै जीवनमा घटेका घट्नाहरुको प्रभाव पर्नु कुनै नौलो कुरा होइन । उनको अहिलेसम्म प्रकाशन भएका साहित्यिक कृतिको अध्ययन गर्दा उनका कृतिहरुमा उनले बाल्यकालमा देखेका, भोगेका र अनुभूति गरेका कुराको साथै शिक्षणका क्रममा देखा परेका बालबालिकाका, क्षमता, समस्या , जिज्ञासा, कौतुहलता, बदमासी, चकचकेजस्ता कुराहरुलाई आफ्नो बाल र किशोर किशोरी साहित्यको विषय बनाएकी छन् भन्दा दुई मत नहोला । 

              मन्जु ज्ञवाली साहित्यका क्षेत्रमा प्रगतिशील चेतनाबाट प्रेरित भएर लेखनमा अघि बढेकी साहित्यकार हुन् । नेपाली समाजमा रहेका रुढीवाद, कुसंस्कार, शोषण, दमन, वर्गीय भेद, जातीय विभेद, लैँगिक विभेद जस्ता कुरीतिकाविरुद्ध साहित्य सिर्जना गर्ने र बालबालिकालाई सचेत, बौद्धिक सुसंस्कृत तुल्याउने उद्धेश्यका साथ अगाडि बढिरहेकी छन् । 

            उनका कथाका विषय वस्तुमा विशेषगरी हाम्रो वरिपरिको वातावरणमा पाइने बोटविरुवा, खोलानाला, चराचुरुङ्गी, जीवजन्तु, किराफट्याग्रा, कुकुर, विराला, सर्प मुसाका साथै प्राकृतिक विपत्ति, मायाँममता , अभिभावकत्व जस्ता कुरालाई उनले बालसाहित्यको विषयवस्तु बनाएकी छन् भने किशोर किशोरीका कथामा किशोरावस्थामा देखापर्ने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनका कारण उनीहरुमा देखापर्ने समस्या र त्यसबाट उनीहरुले कसरी सँघर्ष गर्दै कसरी ती समस्या पार गरेर अगडि बढ्छन् र त्यो समयमा किशोरीकशोरीको मन कतातिर ढल्किएको हुन्छ भन्ने कुरा उनर्को फेक आइडि’ कथा संग्रहबाट देखाउन खोजिएको छ । साँच्चै नै भन्ने हो भने ज्ञवालीको 'फेक आइडि’ आजका किशोर किशोरीको र ज्ञवाली स्वयंको पनि दर्पण छायाँ हो जस्तो लाग्छ । उनले रुखविरुवा, पशुपंक्षी, चराचुरुगीलाई विषयवस्तु बनाएर कथा रचना गर्न सक्नु उनको बहुप्रतिभाशाली क्षमता हो । उनले  नेपाली ,साहित्य, बालसाहित्य र किशोर किशोरी साहित्यको माध्यमबाट नेपाली समाजलाई परिवर्तन गर्नको लागि गरेको प्रयास आफैमा महत्वपूर्ण र स्रहानीय कार्य हो । 

             मन्जु ज्ञवालीका बाल तथा किशोर किशोरी कथा संग्रहमा हाम्रै समाजका आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, पर्यावरणीय मनोरञ्जनात्मक तथा मनोबैज्ञानिक पक्षको चित्रण गरिएको छ । उनका रचनाहरुमा बालबालिकाहरुलाई कस्तो विषय र प्रशङ्ग मन पर्छ भन्ने कुरा ‘चंखे स्याल र लाइफज्याकेट’, ‘आँपखाने उल्लु’, ‘भँगेरा र जेरी’, ‘सहयोगी साथी’, ‘फेक आइडि’, ‘इम्जाको झस्को’, ‘आफ्नै आवाज’ , ‘टि.भीको कमाल’, ‘खुर्सानीबुढी ’, ‘नागपूजा ’,‘उजेलीको उज्यालो‘, ‘नरिसाउने देउता’,‘जन्मदिनको निम्तो’, ‘धनेशको कथा’ ‘किसान गुरु’ ‘डाक्टर हजुरआमा‘, ‘नचिनेको मान्छे’ जस्ता अरु थुप्रै बाल, किशोर कथाहरु र बाल चित्रकथाबाट प्रष्ट हुन्छ ।

              बालबालिकालाई कसरी सिकाउने ? उनीहरुलाई सिक्नको लागि कस्तो वातावरणको खाँचो पर्दछ र कसरी वातावारण तयार पार्नु पर्दछ भन्ने कुरा पनि उनका रचनामा पाइन्छन् । त्यति मात्रै होइन उनका बालकृतिहरुले समाजमा परम्परादेखि जरा गाडेर बसेको कुसँस्कार, कुरीति, अन्याय अत्याचार शोषण, दमन र राजनीतिक खरावीको अन्त्य गरी आशावादी जीन्दगीको विजारोपण गरेको छ । 

                ज्ञवालीका बालकथाहरु एक बसाइमा पढेर सकिने, छोटा छोटा वाक्य गठन,, छोटो, सरल, रोचक, ज्ञानवद्र्धक र सन्देशमूलक रहेका छन् । उनका कथाको अर्को विशेषता भनेको मानवेत्तर पात्रहरुमा एक अर्कोमा विरोधी चरित्रका पशुपंक्षीहरु एक आपसमा मेलमिलापको भावना बोकेर आएको देखिन्छ । मांसाहारी लाटोकोसेरोलाई शाकाहरी पंक्षीको रुपमा रुपान्तरण गराएर समय र परिस्थितिअनुरुप आफूलाई पनि परिवर्तन गर्दै लैजानु पर्छ भन्ने सन्देश दिन खोजेकी छन् । यिनका मानवेत्तर पात्रहरु मानवकै भाषामा बोल्छन् । उनका बाल, किशोर किशोरी कथाहरुले बालबालिकालाई सकारात्मक सन्देश दिने र सही दिशा निर्देश गर्ने खालका छन् । ज्ञवाली माया, प्रेम, करुणा, पीडा, आक्रोश, विद्रोह, आशा,विश्वास र विजयको संखघोष गर्ने स्रष्टा हुन् । उनका प्रत्येक रचनाले नेपाली समाजको मुक्ति, सुख, समृद्धि, विकास र भोलिको सुनौलो नयाँ नेपालको आशाको सपनाको विजारोपण गरेका छन् । आधुनिक बालसाहित्यको क्षेत्रमा उनका रचनात्मक कार्यहरुलाई हेर्दा उनी नेपाली साहित्यको उज्वल भविष्यको सङकेत हुन भनेर ठोकुवा गर्न सकिन्छ । 

                  ज्ञवालीको सानैदेखि साहित्य लेखन र पठनमा रुचि भए पनि प्रकाशन र औपचारिकताका दृष्टिले नागरिक दैनिकको जुनकिरीमा बि.स. २०७१ साल बैशाख २० मा ‘मुसा र चिपचिपे’ भन्ने कथाबाट भएको हो । उनको पहिलो प्रकाशित कृति ‘चङ्खे स्याल र लाइफज्याकेट’ बालकथा सङ्ग्रह पनि सोही सालमा प्रकाशन भएको हो । यो पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशन गरको हो । 

               त्यसपछि भने उनका बालसाहित्यका कृतिहरु लगातार प्रकाशन भैरहेको देखिन्छ । पत्रपत्रिकाहरुमा पनि यिनका थुप्रै फुटकर कथाहरु प्रकाशित भएका छन् । यो आठ वर्षको अन्तरालमा उनले दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशन गरेर नेपाली बालसाहित्यको फाँटलाई अझ फराकिलो बनाउने प्रयास गरेकी छन् । ज्ञवालीका रचनाहरु एकल रुपमा मात्र नभई संयुक्त रुपमा पनि प्रकाशित भएका छन् । “मेरो के दोष”, “भुइँचालोका कथा”, ‘अटेरी घडीहरु ’कोरियनभाषामा, ‘किशोर कथा’भाग १”, ‘किशोर कथा’भाग२, ‘किशोरी कथा’ –भाग १, र ‘किशोरी कथा’भाग २, ‘सिपका कथा’, ‘प्राकृतिक विज्ञान सँग्राहलयका कथा’ , र ‘कलिलामनहरु’ आदि संयुक्त कथासँग्रहहरुमा उनका कथाहरु समावेश छन् । 

    20228307_1410841318993601_8329507603288916424_n.jpg

    मन्जु ज्ञवाली 

               एम ए नेपाली र एम ए आर डि(ग्रामीण बिकास) दुईवटा बिषयमा स्नातकोत्तर गरेकी मन्जु ज्ञवाली कथा लेखनको साथसाथै कथा लेखन प्रशिक्षण तथा सम्पादन पनि गर्ने गर्छिन । उनी विभिन्न सङ्घ संस्थाहरुमा आवद्ध रहेकी छन् । बालवाङ्गमय तथा अनुसन्धान केन्द्रकी सचिव, लेखनाथ ज्ञवाली स्मृति प्रतिस्ठानको कोषाध्यक्ष र नेपाल बालसाहित्य समाजको कार्यकारी सदस्य रहेकी ज्ञवालीले बालसाहित्यको विकास र उत्थानको लागि सक्रिय रुपमा काम गरिरहेकी छन् । त्यसै गरी २०६९ सालदेखि नै नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको श्री टीकाविद्याश्रम मा.बि.ललितपुरमा उच्च मावि शिक्षकको रुपमा कार्यरत रहेर राष्ट्रको सेवा गरिरहेकी छन् । मन्जु ज्ञवालीले नेपालका बिभिन्न जिल्लाहरुको भ्रमण गर्नुको साथै बेलायत, फ्रान्स, स्वीटजरल्याण्ड र भारतको भ्रमण गरेकी छन् । 


    निष्कर्ष:
                बि.सं. २०३२  साल फागुन ११ गते गुल्मीको साबिक दिगाम गा वि स बोहामा जन्मेकी मन्जु ज्ञवाली सानैदेखि बालसाहित्यमा रुचि राख्ने व्यक्तित्व हुन् । नेपाली विषयमा वि.एड र एम ए र ग्रामीण बिकासमा एम ए गरेकी मन्जु ज्ञवाली एस एल सी , पास भएदेखि नै शिक्षण सेवामा क्रियाशील रहेकी छन् जसले गर्दा उनलाई बाल, किशोरकिशोरी साहित्य लेखनमा लाग्न प्रेरणा जागिरहेको छ । 

             नेपाली साहित्यको क्षेत्रमा समसामयिक युवा पुस्तामा उनको नाम अग्र स्थानमा आउँछ । आफुलाई पढाउने गुरु नन्दराम लम्साल, आफ्ना बुबा लेखनाथ ज्ञवाली र बालसाहित्यकार विनय कसजूजस्ता व्यक्तित्वको प्रेरणाले साहित्य तथा बालसाहित्य लेखनमा प्रवेश गरेकी ज्ञवालीका थुप्रै बाल तथा किशोर कथाका कृतिहरु प्रकाशित भएका छन् । 

            प्रगतिशील विचारकी सम्वाहक मन्जु ज्ञवालीका बालसाहित्यहरु पनि प्रगतिशील विचारधारातर्फ नै केन्द्रित रहेका छन् । उनले आफ्ना बालसाहित्यका कृति मार्फत बाल मस्तिष्कलाई आवश्यक पर्ने बौद्धिक खुराक पस्कन सफल भएकी छिन् ।

             बालबालिकालाई हामी जस्तो संस्कार, संस्कृति र शिक्षा प्रदान गर्छौँ उनीहरुले पनि त्यस्तै संस्कार र संस्कृति सिक्ने हुँदा उनीहरुलाई असल संस्कार, दिन सकियो भने मात्र उनीहरु भ्विष्यमा राष्ट्रको असल नागरिक बन्न सक्ने छन् । राष्ट्र र राष्ट्रियताप्रति उन्नति, प्रगति र विकास गर्न सक्ने छन् भन्ने सोचाइ राखेर नै उनी बालबालिकाको अध्ययन अनुसन्धान गर्र्दै बालसाहित्यमा लागेकी हुन् । बहुप्रतिभाकी धनी मन्जु ज्ञवालीले नेपाली साहित्यलाई धेरै गुन लगाएकी छन् । 

                                                                                                                                            खगेश्वर सापकोटा
                                                                                                                                                  गोरखा

    प्रकाशित मिति :श्रावण ३ २०७९ मंगलवार - १४:०४:५९ बजे
    प्रतिक्रिया

    खगेश्वर सापकोटा

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij