२०८२ भाद्र ४ गते बुधवार
डेढ दर्जनभन्दा बेसी साहित्यिक कृतिहरूका सर्जक विश्वराज अधिकारीकृत 'सागरमणि दाइ नेपाल फर्किनु भयो' अमेरिकी नेपाली प्रवासी कथा सङ्ग्रहको यही आषाढ-१८ गते शनिबार राजधानीमा आयोजित एक समारोबीच सार्वजनिकीकरण भयो । उक्त कृतिबारे पाठकीय टिप्पणी भन्दै आफ्नो सटीक टिप्पणी राख्ने दर्मियानमा डा• दीनबन्धु शर्माले सङ्ग्रहमा द्वन्द्वमा फसेका प्रवासी नेपालीका कथा, व्यथा र मनोविज्ञान समेटिएको बताए । 'देश भूमि हो, राज्य होइन । देशलाई उन्नति वा अवनतिको बाटोतिर लैजाने भन्ने संयन्त्र चाहिँ राज्य हो ' उनको कथन थियो । उत्तरआधुनिकताको लक्षण भएको कृतिमा मूलतः स्मृतिदंश (नोस्टाल्जिया) छ भन्ने शर्माको दाबी थियो । समालोचक तथा अर्का चर्चित साहित्यकार डा• शैलेन्दुप्रकाश नेपालले कथामा अतीतमोहका अनुभूति पर्याप्त भए तापनि कथाका विषयवस्तुलाई विविधीकरण नगरिएको जिकिर गरे । कथा आख्यानजस्ता भन्दा पनि निबन्धात्मक बनेका, पट्यारिला खाले लामा, सूचनामूलकआलेखझैँ अनुभूत हुने, संस्मरण हो कि भन्ने भान हुने हुँदा हुँदै पनि देशभक्ति र माटोको ममता जस्ता अवयवले नराम्रा भन्न नमिल्ने उनको स्पष्टोक्ति थियो ।
सबै कथाको निचोड उस्तैखाले आउने पनि उनको अभिमत थियो । खरा समीक्षक तथा समालोचक हरि अधिकारीले प्रवासका आर्थिक सांस्कृतिक र सामाजिक मुद्दाहरूको दरिलो उठान भएको दाबी गरे भने अर्की समालोचक सावित्री मल्ल कक्षपतीले जब अवसर खोज्न समुद्रपार गइन्छ भने असन्तुष्ट हुने आधार नरहेको दाबी गरिन् । जाने कुराको चयन आफूले गर्ने, त्यतै लिसोझैँ टाँसिएर बस्न पनि रुचाउने किन्तु ऊर्जा निथ्रिँदै आएपछि नेपाल सम्झनुभन्दा त्यही कर्मभूमिमा रहेर आफ्नो क्षमता उजागर गर्नु बढि श्रेयस्कर हुने उनको राय थियो । अर्का समालोचक, आख्यानकार तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले कृतिलाई 'आख्यानकारिता कमजोर र विचार बलियो' भएको कृतिका रूपमा चित्रित गरे । परम्परागत साँचोमा अधिकारीका कथा प्रिय वा अप्रिय होलान् तथापि कृत्रिमताको जमेर विरोध गर्न सक्नु उनको वैशिष्ट्य हो भन्ने रोदनको अभिमत थियो । कथाका बुनोट र विषयवस्तुबारे मोहन सिटौला र ममता मृदुलले पनि आआफ्ना सारगर्भित भनाइ राखेका थिए । प्रमुख अतिथि प्राज्ञ तथा वरिष्ठ आख्यानकार माया ठकुरीले पुरानो तर कालजयी तीज गीत गाउँदै तिनमा चेलीहरूको अनन्त कथा रहेको अर्थ्याइन् । कृतिकार विश्वराज अधिकारीले उपस्थित तमाम पाहुनाप्रति आभार प्रकट गरे । प्रकाशक मोलुङ फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रमका पनि अध्यक्ष भूपप्रसाद धमलाले कार्यक्रमलाई बिट मारे । कार्यक्रमको सहजीकरण वरिष्ठ लघुकथाकार तथा बहुआयामिक व्यक्तित्व खेमराज पोखरेलले गरेका थिए । कार्यक्रम समापनपछि प्रमुख अतिथि ठकुरीको शुभ जन्मदिन पनि हर्षोल्लासका साथ मनाइएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij