२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालतमा बहसका क्रममा बिहिबार अधिवक्ताहरुले प्रश्न उठाएपछि रातारात प्रतिनिधी सभा विघटनको निर्णयसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । संसद विघटनको झण्डै ३५ दिनपछि नेपाल राजपत्रमा उक्त सूचना पुस ५ गतेकै मिति राखेर बिहिबार राति प्रकाशित गरिएको हो ।
बहसका क्रममा राजपत्रको सुचनामा वकिलहरू केन्द्रित भए पछि महान्यायाधिवक्ता अग्नि खरेल संकटमा परेका थिए । बिहीबारको सुनुवाई सकिए पछि प्रधानमन्त्री केपी ओलीले खरेललाई बालुवाटार बोलाएर झपारेको श्रोतको भनाई छ ।
यता, महान्यायाधिवक्ता अग्नि खरेलले त्यही पुरानै मितिमा प्रकाशित राजपत्रको सूचना शुक्रबार संवैधानिक इजलासमा पेश गरेका छन् ।
शुक्रबारको इजलासमा न्यायाधीश अनिल कुमार सिन्हाले आफूले र आफ्नो सहयोगीले समेत राजपत्रमा खोज्दा त्यो सूचना नभेटेको भन्दै खरेललाई यो राजपत्र कहाँबाट ल्याउनुभयो भन्दै प्रश्न गरेका थिए ।
जवाफमा महान्यायाधिवक्ता खरेलले कार्यालयमा बसेर खोज्दा राजपत्रमा प्रकाशित सूचना देखेको जवाफ दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर प्रतिनिधि सभा विघटनको सूचना भने राजपत्रमा प्रकाशित गरिएको थिएन । सरकारका निर्णयहरु राजपत्रमा सूचना प्रकाशित नभएसम्म उक्त निर्णय कार्यान्वयनमा आएको मानिदैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij