२०८२ मंसिर ६ गते शनिवार
पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद साउन ४ गतेसम्म लम्बिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij