२०८२ भाद्र १२ गते बिहिवार
जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।
वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिनुभयो । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका–८ ले परिचयपत्र वितरण गरेको थियो ।
बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका हुन् । चालिस परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताउनुभयो । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ ।
अधिकांश दैलेखमा बस्दै आएका छन् । उनीहरुलाई सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij