Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता आठ हजार ८७१ ले बढी

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता आठ हजार ८७१ ले बढी


  • 2.8K
    Shares

    • images
    कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता  आठ हजार ८७१ ले  बढी
    images

    स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ । जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ ।

    पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या बढी छ । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता लालझाडी गाउँपालिकामा १४ हजार १४ रहेका छन् । कृष्णपुर नगरपालिकामा ४० हजार ३३८, पुनर्वास नगरपालिकामा ३४ हजार ६३, बेलडाँडी गाउँपालिकामा १४ हजार ७३७ मतदाता छन् ।

    बेलौरीमा ३४ हजार ५३९, दोधाराचाँदनीमा २६ हजार ८०३, वेदकोटमा ३२ हजार ७६० र शुक्लाफाँटा नगरपालिकामा ३१ हजार ४४८ मतदाता रहेका छन् । कञ्चनपुरमा १३२ मतदानस्थल र ३४१ मतदान केन्द्र रहेका छन् । सबैभन्दा बढी भीमदत्त नगरपालिकामा २० मतदानस्थल र ७१ मतदान केन्द्र निर्धारण गरिएका छन् । बेलौरीमा १८ मतदानस्थल र ४२ मतदान केन्द्र, पुर्नवासमा १७ मतदानस्थल र ४० मतदान केन्द्र, दोधारा चाँदनीमा १६ मतदानस्थल र ३३ मतदान केन्द्र, कृष्णपुर नगरपालिकामा १५ मतदानस्थल र ४४ मतदान केन्द्र तोकिएका छन् ।

    यसैगरी शुक्लाफाँटा नगरपालिकामा १४ मतदानस्थल र ३८ मतदान केन्द्र, बेदकोट नगरपालिकामा १५ मतदानस्थल र ३७ मतदान केन्द्र, लालझाडी गाउँपालिकामा नौ मतदानस्थल र १८ मतदान केन्द्र र बेलडाँडीमा आठ मतदानस्थल र १८ मतदान केन्द्र निर्धारण गरिएका छन् । निर्वाचन अधिकृत को–कहाँ ? वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले कञ्चनपुरमा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृतमा मदनबहादुर धामीलाई नियुक्त गरिएको छ ।

    आयोगले जिल्ला अदालतका न्यायाधीश धामीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । भीमदत्त नगरपालिकामा धामी र उच्च अदालत महेन्द्रनगर इजलासका रजिष्ट्रार नरेन्द्रबहादुर बुढालाई कृष्णपुरमा खटाएको छ । पुनर्वास नगरपालिकामा गृहमन्त्रालयका उपसचिव किरण जोशी, बेलडाँडी गाउँपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्र केसीलाई निर्वाचन अधिकृत तोकेको छ ।

    बेलौरी नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता तारासिंह धामी, दोधाराचाँदनीमा वैदेशिक रोजगार विभाग काठमाडौँका निर्देशक डम्बरबहादुर सुनवारलाई खटाएको छ । त्यस्तै लालझाडी गाउँपालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव कुलप्रसाद खनाल, बेदकोटमा जिल्ला अदालतका श्रेस्तेदार जयन्ती अवस्थी भट्ट, शुक्लाफाँटा नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत ताराप्रसाद जोशीलाई निर्वाचन अधिकृत बनाएको छ ।

    सुदूरपश्चिममा १६ लाख बढी मतदाता निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार सुदूरपश्चिम प्रदेशको मतदाता सङ्ख्या १६ लाख ३२ हजार १५० रहेको छ । पुरुष मतदाताको सङ्ख्या आठ लाख ६६२, महिला मतदाताको सङ्ख्या आठ लाख ३१ हजार ४७० र अन्य १८ रहेको छ । सुदूरपश्चिम प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार १३५ र मतदान केन्द्रको सङ्ख्या दुई हजार १०२ रहेको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०७८ मंगलवार - १०:४६:३८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij