Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि

दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि


  • 3.1K
    Shares

    • images
    दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि
    images

    सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत नागरिकले औषधि खाएका छन् । हात्तीपाइले रोग मानिसलाई शारीरिक समस्या गराउने र अशक्त, अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

    स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म तीन लाख ७४ हजार १४४ जनाले औषधि खाएका छन् । जिल्लाका १० वटै पालिकामा आम औषधि सेवन कार्यक्रम जारी छ । यस वर्ष छ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको थियो । हालै घोराही–२ रामपुरमा ३३० जनाको नमूना जाँच गर्दा ११ जनामा र देउखुरीको सिसहनियामा ३१४ जनाको नमूना जाँच गर्दा १५ जनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो । कार्यालयको आँकडाअनुसार हातखुट्टा सुन्निएका २८९, हाइड्रोसिल भएका एक हजार ६१४ र दुवै भएका १३२ जना हात्तीपाइलेका रोगी रहेका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

    एक हजार स्वास्थ्यकर्मीहरू औषधि खुवाउन घरदैलोमा रहेका छन् । लगातार छ वर्षसम्म औषधि सेवन गरेमा यो रोगबाट बच्न सकिन्छ तर दाङमा आम मानिसले औषधि सेवन नगरिदिँदा १२औँ वर्षका रूपमा यस वर्ष पनि औषधि खुवाउने अभियान सञ्चालन भएको उहाँले बताउनुभयो । गत वर्ष दाङमा ६४ प्रतिशत नागरिकले मात्रै औषधि खाएका थिए । सबै नागरिकले नियमित औषधि सेवन नगर्दा अभियान नै प्रभावित हुँदै आएको छ । सबै पालिकाहरुको पूर्ण विवरण आउन बाँकी रहेकाले अहिलेसम्म ५० प्रतिशतले औषधि खाएको फोकल पर्सन चन्दले जानकारी दिनुभयो । पालिकाहरूले औषधि खुवाउनका लागि एकदेखि दुई हप्ताको समय छुट्याएका छन् ।

    शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिमा हात्तीपाइले रोगको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भनेर बुझ्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो । ती लक्षणहरु केही घण्टाभित्र आफैँ हराएर जाने उहाँले बताउनुभयो । आगामी दुई वर्षमा जिल्लाबाट हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिइएको प्रमुख शाहीको भनाइ छ । अहिले पनि जिल्लामा चार प्रतिशतमा हात्तीपाइलेको परजीवी रहेको छ । कम्तीमा दुई प्रतिशतभन्दा तल झार्ने गरी आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    प्रकाशित मिति :चैत्र ९ २०७८ बुधवार - ११:३९:१० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij