२०८२ भाद्र १० गते मंगलवार
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेन्डर) को बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ।
पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा गठित बजार अनुगमन समितिमा पञ्चाङ्गकार मुरारीराज पाण्डे र समितिका कर्मचारी खिलहरि घिमिरे सदस्य छन्। समितिले बजार अनुगमन गरी स्वीकृति नलिएका भित्तेपात्रो जफत गरी कानुनी कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्ने जनाइएको छ।
समितिले विसं २०७९ का लागि हालसम्म १०० भन्दा बढी भित्तेपात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। समितिले १४ पात्रोलाई प्रकाशनको स्वीकृति दिएको छ। स्वीकृति प्राप्त भित्तेपात्रो र पात्रोले प्रकाशनका क्रममा समितिबाट स्वीकृति प्राप्त भनी उल्लेख गर्नुपर्ने व्यवस्था छ। आफूखुसी निस्किएका भित्तेपात्रोले चाडपर्व, बिदालगायत विषयमा भ्रम सिर्जना गरेको भन्दै सरकारले भित्तेपात्रो प्रकाशनअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो।
२०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गर्दै पात्रो र भित्तेपात्रो प्रकाशनअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो। पात्रो र भित्तेपात्रोमा आफूखुसी चाडपर्व, बिदालगायत विषय उल्लेख गर्दा समस्या भएपछि समितिले यस्तो व्यवस्था गरेको हो। भित्तेपात्रोमा मूल्य निर्धारण गरेकाले रु १० हजार र मूल्य निर्धारण नगरेकाले रु ५ हजार शुल्क तिनुपर्ने व्यवस्था पनि समितिले गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij