२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीचको मर्जर सम्बन्धी सम्झौता अस्वीकृति भएपनि दुबै बैंकको शेयर कारोबार भने रोक्का छ । दुबै बैंकले मर्जर प्रस्तावलाई स्वीकृति नदिने निर्णय गरिसकेपनि पनि शेयर कारोबार भने रोक्कानै रहेको हो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।
यी दुई बैंकबीच एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता भएको थियो । तर, हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत मात्र मत प्राप्त भएको थियो ।
सभाका लागि तय गरिएको विशेष प्रस्तावमा उल्लेखित मर्जर सम्बन्धमा उपस्थित शेयरधनीहरुमध्य ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत हुने व्यवस्था थियो । यसर्थ हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जर पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेका कारण उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।
हिमालयन बैंकले मर्जर प्रस्ताव सभाबाट अस्वीकृत गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मर्जर प्रस्ताव पारितका लागि माघ ४ गते बोलाएको विशेष साधारण सभा समेत रद्द गरेको थियो । मर्जर प्रयोजनका लागि २०७८ साल बैशाख ३१ गतेदेखि दुबै बैंकको शेयर कारोबार रोक्का रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबक्ता मुराहरी पराजुलीले दुबै बैंकले मर्जर प्रस्ताव अस्वीकृत गरेको समाचार आएपनि सम्बन्धित बैंकबाट लिखित जानकारी नआएकाले कारोबार रोक्कानै रहेको बताए ।
लगानीकर्ताले भने लामो समय आफ्नो सम्पत्ति बन्धक बनाएकोमा आक्रोस व्यक्त गरेका छन् । लगानीकर्ता डम्बरु बल्लब घिमिरेले लामो समयपछि मर्जर प्रस्ताव अस्वीकृत गर्नु बैंकहरुको गैरजिम्मेवारी पन भएको उल्लेख गरे । मर्जरको नाममा लामो समय शेयर बन्धक बनाउनु लगानीकर्ताहरुको हक बन्चित गर्नु भएको भन्दै उनले आगामी दिनमा यस्ता प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्दा सम्बन्धीत निकायले निश्चित समयभित्र प्रकृया पुरा गर्नुपर्ने व्यवस्था थप गर्न उनले सुझाब दिएका छन् ।
कारोबार रोक्काका सम्बन्धमा थप स्पष्ट व्यवस्था नभए नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको जस्तो आगामी दिनमा अन्य बैंकहरुको सम्पत्ति पनि लामो समयसम्म बन्धक बन्नेसक्ने सम्भावनालाई उनले औल्याएका छन् ।
उता, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले मर्जर अस्वीकृति प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने तयारी भैरहेको जानकारी दिए । लगानीकर्ताहरुकै इच्छाअनुसार डिमर्जरमा जान लागेको जानकारी दिदैं उनले लामो समय सदस्यहरुको सम्पत्ति बन्धक बनाउने बैंकको उदेश्य नभएको प्रष्ट पारे । राष्ट्र बैंकले डिमर्जरको प्रस्तालाई स्वीकृत दिएपछि मात्र दोस्रो बजारमा हाल रोक्का रहेको दुबै बैंकको शेयर कारोबार फुकुवा प्रकृया अघि बढ्ने जानकारी समेत उनले दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij