२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधि सभा निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आयोगले चुनावी तयारी सुस्त–सुस्त गतिमा सुरु गरेको छ । तयारी शुरु नै गरे पनि आयोगलाई प्रष्ट थाहा छ । तोकिएको समयमा चुनाव हुँदैन ।
अन्योल कै बिचमा चुनावी तयारी देखाउनकै लागि भए पनि सुरक्षा निकायले पनि काम सुरु गरेको छ । प्रतिनिधि सभा विघटन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पूर्णरुपमा तयारी सुरु नगरिएको उच्च सुरक्षा स्रोत बताउँछ ।
एक उच्च प्रहरी अधिकारीका अनुसार अहिले नै प्रहरीले सबै चुनावको लागि तयारी रहने भन्ने सामान्य छलफल बाहेक अरु प्रक्रिया अगाडि बढेको छैन् । ती अधिकारीले भने, ‘यो हुने चुनाव जस्तो त लाग्दैन, तर, प्रधानमन्त्रीले नै तोकेको निर्वाचन हामीले औपचारिक रुपमै हुँदैन, त्यसको व्यवस्थापन गर्दैनौं भन्न त मिल्दैन ।’
अन्यौलकै बीच गृहमन्त्रालय र नेपाली प्रहरीले भने केही काम थालिसकेका छन् । प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भने सरकारले निर्वाचन घोषणा गरिसके पछि सुरक्षा प्रबन्ध गर्ने जिम्मेवारी प्रहरीको रहेको भन्दै त्यसको तयारीमा लागेको बताए । भन्छन्, ‘प्रहरीले गर्नुपर्ने निर्वाचन सुरक्षाको तयारी भइरहेको छ । निर्वाचनकै लागि केही समिति पनि गठन भएका छन् ।’
निर्वाचन पूर्व सुरक्षा तयारीको लागि प्रहरी प्रधान कार्यालयले शुक्रबार अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल निर्माण गरेको छ ।
उक्त सेलले देशभरका मतदान केन्द्रको सुरक्षा अध्ययनदेखि जनशक्ति परिचालन, सवारी साधनको व्यवस्थानपनबारे रिपोर्ट तयार गर्ने प्रवक्ता एसएसपी कुँवरको भनाइ छ ।
गृह मन्त्रालयले समेत सुरक्षा समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा एकीकृत सुरक्षा समिति बनाएर काम थालको छ । निर्वाचनबारे सुरक्षा निकायहरुमा कुनै अन्योल नहोस् भनेर नै गृहमन्त्रालयले समिति गठन गरेको गृहन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।
‘निर्वाचन बारे कुनै अन्यौल छैन् । हामीले निर्वाचनको लागि काम थालिसकेका छौं । सुरक्षा संयन्त्रलाई पनि निर्वाचनलाई ध्यानमा राखेर सुरक्षा योजना ल्याउन भनेका छौं,’ प्रवक्ता बुढाले भने ।
प्रहरीले म्यादी प्रहरी भर्नासहितका सुरक्षा तयारी गर्नुपर्दछ । म्यादी प्रहरी भर्ना गर्नेबारे प्रहरीले गृह मन्त्रालयलाई आवश्यक संख्या पठाउँछ । त्यसपछि सरकारको निर्णयमा म्यादी प्रहरी भर्ना हुने गर्दछ । गृह मन्त्रालयको तथ्यांक अनुसार गएको निर्वाचनमा ९८ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । यसपालि निर्वाचन भए १ लाख भन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने आवश्यकता हुनसक्ने प्रहरीको अनुमान छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij