२०८२ भाद्र ३ गते मंगलवार
प्युठान । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी- ६ ओखरपाटामा दुर्घटनामा परेको हो।
जिप सडकबाट झण्डै तीनसय मिटर अग्लो भिरबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक बेनीप्रसाद गैरेले जानकारी दिए।
‘दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ गैरेले भने, ‘मृतकको सनाखत हुन बाँकी छ।’ उनले ज्यान गुमाउनेमध्ये पाँचजना महिला र तीनजना पुरुष भएको बताए। जिपमा बेहुला बेहुली भएनभएको यकिन हुन बाँकी छ। ‘बेहुला-बेहुली लिएर आउँदै गरेको जिप भनिएको छ,’ त्यसमा बेहुला-बेहुली थिए/थिएनन् खुलेको छैन। हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ।’ घटनास्थल जिल्ला सदरमुकामबाट झण्डै २५ किमी टाढा पर्छ। अप्ठ्यारो कच्ची सडकमा दुर्घटना भएको हो।
गैरेका अनुसार घाइते पाँच जनालाई जिल्ला अस्पताल बिजुवार लगिँदै छ। घाइते पाँच जना अझै अस्पताल पुगिसकेका छैनन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ। घटनाको थप विवरण आउन बाँकी छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij