२०८२ भाद्र २ गते सोमवार
नयाँ स्वरुपको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेपछि बेलायत सरकारले फेरि देशव्यापी लकडाउन घोषणा गरेको छ । मंगलबारदेखि इंग्ल्याण्डमा लकडाउन लागू भएसँगै स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्ड समेत सिंगो बेलायत नै लकडाउनमा गएको छ ।
सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा लकडाउन घोषणा गरेका हुन्। इंग्ल्याण्डमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो। पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो। दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो । डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिवन्धहरु लगाइएको थियो ।
नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत कि वर्कर र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आव्हान गरेका छन् ।
खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको सहयोग गर्न, उपचार वा कोभिड परीक्षण गर्न बाहेकका अवस्थामा घर नछोड्न प्रधानमन्त्रीले आग्रह गरे । मंगलबारदेखि नै स्कुल, कलेजहरु बन्द गरी सबै कक्षा अनलाइनमा सिमित गरिने उनले घोषणा गरेका छन् ।
नयाँ स्वरुपको भाइरसको संक्रमण ५० देखि ७० प्रतिशतका दरले फैलिरहेको भन्दै सरकारका वैज्ञानिक सल्लाहकारहरुले थप प्रतिवन्धको सल्लाह दिएको प्रधानमन्त्री जोन्सनले बताए । तत्काल कडा कदम नचालिए अबको तीन सातामै देशको स्वास्थ्य सेवाले थेग्न नसक्ने भार सिर्जना हुने खतरा रहेकाले लकडाउन लागू गरिएको उनले स्पष्ट पारे ।
लकडाउन यति नै अवधिका लागि भनेर स्पष्ट घोषणा नभएको भएपनि कमसकेकम मध्य फेब्रुअरीसम्म कायम रहने अनुमान छ । तीव्र संक्रमण फैलिरहंदा बेलायतमा सोमबार लगातार सातौं दिन ५० हजारभन्दा बढी संक्रमित थपिएका छन् । सोमबारदेखि नै बेलायतमा अक्सफोर्ड र एक्सट्राजेनेकाद्धारा निर्मित कोभिड खोप आम मानिसलाई लगाउन सुरु गरिएको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij