२०८२ मंसिर १२ गते शुक्रवार
सरकारको कुल ऋण १७ खर्ब २३ अर्ब पुगेको छ । असोज मसान्तसम्म कुल आन्तरिक ऋण ७ खर्ब ७३ अर्ब ९४ करोड छ भने वाह्य ऋण ९ खर्ब ४९ अर्ब २३ करोड रहेको छ ।
सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा सार्वजनिक ऋण १३ अर्ब ९१ करोड रुपैयाँले घटाएको छ । गत असोज मसान्तसम्ममा सरकारले २९ अर्ब रुपैयाँ आन्तरिक ऋण तिरेको छ । यहीं अवधिमा बाह्य ऋण भने १५ अर्ब ८ करोड ९६ लाख रुपैयाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार गत असार मसान्तसम्ममा सरकारले लिएको कुल आन्तरिक ऋण ८ खर्ब २ अर्ब ९४ करोड १७ लाख रुपैयाँ बराबर रहेकोमा असोज मसान्तसम्ममा ७ खर्ब ७३ अर्ब ९४ करोड १७ लाख रुपैयाँमा झारिएको हो ।
त्यस्तै, गत असार मसान्तसम्ममा बाह्य ऋण ९ खर्ब ३४ अर्ब १४ करोड ७१ लाख रुपैयाँ बराबर रहेकोमा १५ अर्ब ८ करोड ९६ लाख रुपैयाँ थपिएर ९ खर्ब ४९ अर्ब २३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १९ अर्ब ४९ करोड रुपैयाँ बाह्य ऋण प्राप्त भए पनि ५ अर्ब १७ करोड ऋण तिरेको कार्यालयले जनाएको छ ।
यो अवधिमा वैदेशिक ऋण बढेपनि समग्रमा भने सरकारको ऋण रकम घटेको छ । गत आर्थिक वर्ष २०७७/७८ सकिँदासम्म नेपालको कुल सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबर थियो । गत असोज मसान्तसम्ममा यो घटेर १७ खर्ब २३ अर्ब १७ करोड ८४ लाख रुपैयाँ कायम भएको देखिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij