२०८२ भाद्र ८ गते आइतवार
शिक्षक सेवा आयोगले यही महिनाभित्रस्थायी शिक्षक पदपुर्तिका लागि विज्ञापन आह्वान गर्ने भएको छ । मंसिर महिनामै विज्ञापन आह्वान गर्ने बार्षिक कार्यतालिकामा उल्लेख भएस्वरुप आयोगले यही महिनामा विज्ञापन खोल्न लागेको हो ।
आयोगले यो समयसिमाभित्र विज्ञापन खोल्ने वाचा गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले कुराकानी गर्दै त्यस्तो हल्ला गलत रहेको बताए । मरहठ्ठाले भने, ‘शिक्षक सेवा आयोगको कार्यतालिकामा मंसिर महिनाभित्र विज्ञापन गर्ने भनिएको छ, मंसिर महिनाभित्र आयोगले विज्ञापन गर्छ ।’
आयोगले बार्षिक कार्यतालिकामा यसबारे प्रष्ट पारिएको मरहठ्ठाले बताए । ‘आयोगले बार्षिक कार्यतालिकामा मंसिर महिनामा विज्ञापन आह्वान गर्ने भनेको हो, जसको अर्थ आयोगले १ गतेदेखि २९ गतेभित्र जुनसुकै बेला विज्ञापन खोल्न सक्छ’, मरहठ्ठाले भने । कथमकदाचित २९ गतेसम्म विज्ञापन गर्न नसकेमा पुस १ गते आयोगले के कति कारणले विज्ञापन आह्वान गर्न सकेन त्यसको जवाफ दिने बताइएको छ ।
लामो समयदेखि खुल्ने तयारी भए पनि नियमावली संशोधन र अन्य प्राविधिक समस्या देखाउँदै विज्ञापन अलमलमा पारिएको थियो । प्राथमिक तहमा १३ हजार बढी, निमावि तहमा २ हजार बढी र मावि तहमा १ हजार ५ सय बढी शिक्षक दरबन्दी रिक्त छ। आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार बढी शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij