Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

'सानो स्वार्थ, भयङ्कर अपराध'को लोकार्पण

'सानो स्वार्थ, भयङ्कर अपराध'को लोकार्पण


  • 7.7K
    Shares

    'सानो स्वार्थ, भयङ्कर अपराध'को लोकार्पण

    कवि,समालोचक तथा उपन्यासकार डा•धनप्रसाद सुवेदी 'श्रमिक'कृत पहिलो उपन्यास 'सानो स्वार्थ, भयङ्कर अपराध'को लोकार्पण गत शनिबार पोकली झरना लिखु गा•पा• -९,लेती मा•वि•प्राङ्गण ,ओखलढुङ्गामा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । युवा वयमा गाविस सचिव बनी यो भूगोलमा प्रवेश गरेका उनले यहीँको समाजमा व्याप्त प्रेम, बिछोड, शोषण, दमन, अत्याचार, स्थानीय जनजाति र तिनका कला , संस्कृतिको सेरोफेरो समेटेर उपन्यास तयार गरे तर छापियो पर्चा छाप्ने कागजमा ।

    263265824_452364532989660_3978688565543963706_n.jpg

    अहिले त्यही उपन्यासको दोस्रो संस्करण सार्वजनिक गर्न स्रष्टा पदयात्रीसँग आइपुगे उनी पोकली छाँगोको वरपर । लोकार्पण कार्यक्रममा उपन्यासबारे आफ्नो मन्तव्य राख्ने सिलसिलामा स्थानीय शिक्षक वासु गौतमले आञ्चलिकताको सेरोफेरोमा रही यहीँका पात्र, दमन, शोषण र त्यस विरुद्ध गर्नुपर्ने प्रतिरोधबारे उपन्यास लेखी देशदेशावरमा सो स्थान परिचयसमेत गराइदिएकामा सर्जक डा•धनप्रसाद सुवेदी 'श्रमिक'प्रति आभार व्यक्त गरे । त्यसरी नै स्रष्टा पदयात्राका सदस्य माधव घिमिरे 'अटल'ले कृतिको सङ्क्षिप्त टिप्पणी गर्दै उतिबेलाको एउटा भरभराउँदो लोर्के ठिटोले गरेको सामाजिक र भौगोलिक शल्यक्रिया आज थप सान्दर्भिक भएको र शोषण, दमन, अन्याय र अत्याचारविरूद्ध धारिलो कलम चलाई विद्रोह गर्न उत्प्रेरित गर्नु चानचुने कुरा नभएको जिकिर गरे । सरकारी जागिरे अनि कलिलो मस्तिष्कले यति भयङ्कर रूपान्तरणको परिकल्पना गर्नु नै असामान्य कदम भएको दाबी गरे । उपन्यास यो दुर्गम आभास हुने भूमिको वास्तविक दर्पण भएको तथ्य औँल्याउँदै थप अनुसन्धानात्मक अर्को उपन्यास शीघ्रातिशीघ्र जनसमक्ष पस्कन विशेष आग्रह गरे । उपन्यासकार तथा सह-प्राध्यापक डा• धनप्रसाद सुवेदी 'श्रमिक'ले रचना गर्भ केलाउँदै उक्त भूगोल आफ्नो सिर्जनाको प्रेरक भूमि रहेको उल्लेख गर्दै संसार सामु यसको उजागर गर्न पाएकोमा आफू अत्यन्त गौरवान्वित भएको राय व्यक्त गरे । त्यहाँको जनजीवनलाई आख्यानका रूपमा समेट्न पाएकामा सन्तोष व्यक्त गर्दै सो उपन्यासकै अभिप्रेरणाबाट अर्को उपन्यासको गर्भाधान भएको खुलासा गरे । स्रष्टा तथा पत्रकार डिल्लीराम सुवेदीले स्रष्टाले पदयात्रा गरेर मात्र भूगोल र भावनासँग सामीप्यता कायम गरी सार्थक सिर्जना गर्न सक्ने दाबी गरे । स्रष्टा पदयात्राका संयोजक शीत्तल गिरीले त्यो क्षेत्रलाई ५२ औँ शृङ्खलासँग जोड्न चाहेको गुत्थी सार्वजनिक गरे । कार्यक्रममा जनजीवन मा•वि•,वाच्पू, जालपा मा•वि•,टारकेरावारी, नर्मदेश्वर मा•वि• ,रगनी, चण्डेश्वरी मा•वि•,खिजीदेम्बाका झन्डै साढे चार दर्जन छात्रछात्राले आआफ्ना रचना वाचन गरेका थिए। देवप्रसाद घिमिरेले सहजीकरण गरेको सो कार्यक्रमका प्रमुख अतिथि समाजसेवी कोमलहरि गौतम थिए भने अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार घिमिरेले गरेका थिए ।

    यस अघि मिर्मिरे प्रभातमै भक्तपुरको राधेराधेमा पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्ट र महासचिव शम्भु बरालले स्रष्टा पदयात्रीहरूलाई खादा अर्पण गरी शुभयात्राको कामना गर्दै बिदाइ गरेका थिए। स्रष्टा पदयात्रीहरू शीत्तल गिरी, डा•धनप्रसाद सुवेदी, डिल्लीराज अर्याल, वसन्त रिजाल, खोलाघरे साहिँलो, सुमन पुडासैनी 'मित्र',माधव घिमिरे 'अटल',डिल्लीरमण सुवेदी र माधव श्रेष्ठ सम्मिलित टोलीले साँझमा आगो ताप्दै पोकली झरना होटल एन्ड लजको आँगनीमा 'रचना वाचन सन्ध्या' कार्यक्रम सञ्चालन गरे । पोकली पदयात्रा कार्यक्रमका संयोजक डा•धनप्रसाद सुवेदीले सहजीकरण गरेको सो अनौपचारिक कार्यक्रममा स्रष्टा पदयात्रासँग सम्बद्ध तमाम स्रष्टासहित बासुदेव गौतम र मञ्जु पौडेलले समेत आआफ्ना गहन रचना वाचन गरेका थिए । भोलिपल्ट सखारै सुरू भएको पदयात्रामा स्थानीय राजनीतिक कार्यकर्ता तथा होटल व्यवसायी ठाकुर घिमिरे, शिक्षकहरू डम्बर खत्री, बासुदेव गौतम, कमल दङ्गाल, शङ्कर सुनुवार, राजन दाहाललगायतले पथप्रदर्शन र झरनासँग सम्बन्धित अनेकौँ सूचना एवं विषयवस्तुबारे पदयात्रीहरूलाई अवगत गराएका थिए ।

    १३१ मि• लामो पोकली झरना अवलोकन गर्ने अतिथिलाई सहजताका निम्ति छपनी बिछ्याएको बाटो, व्यवस्थित दृश्यावलोकन स्थल,झोलुङ्गे पुललगायतका अत्यावश्यक संरचना निर्माण गरिएको छ। बाटोको बीचबीचमा दुग्धेश्वर स्वास्थ्य आमा समूह, सरस्वती स्वास्थ्य आमा समूह, शिरीष कन्या स्वास्थ्य आमा समूह र चण्डेश्वरी आमा समूहले माला, खादा र पुष्पगुच्छा अर्पण गरी पदयात्रीको न्यानो स्वागत गरेका थिए भने गीत र नृत्यले अवलोकनलाई थप रोचक बनाए । स्थानीय पशुपति सुनुवारको निवासमा अतिथिलाई भोजन गराएपछि जनजीवन मा•वि• वाच्पूमा पदयात्री र विद्यालय शिक्षकबीच परिचयात्मक कार्यक्रम आयोजना यो । प्र•अ• गोविन्द बहादुर खत्रीको संयोजनमा आयोजित उक्त भेटघाटमा उपन्यासकार धनप्रसाद सुवेदीले कृति बिक्रीबाट प्राप्त रकम बाल साहित्य उन्नयनका निम्ति अक्षयकोष खडा गर्न हस्तान्तरण गर्ने वाचा गरे भने स्रष्टा पदयात्री वसन्त रिजालले सो कोषमा एकलाख रूपैयाँ पुर्याउन आवश्यक रकम आफूले थप गर्ने प्रतिबद्धता जाहेर गरे । अन्त्यमा सुनुवार सेवा समाजको स्वागतपश्चात् स्रष्टा पदयात्रीहरू राजधानी प्रस्थान गरे ।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १७:३९:०७ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij