२०८२ भाद्र ७ गते शनिवार
काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने बताउनुभएकाे छ । मन्त्री पाैडेलले त्यसका लागि प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह पनि गर्नुभएकाे छ ।
मुस्लिम आयोगले तयार पारेको 'नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण' अध्ययन प्रतिवेदन आज सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशिताको कुरा सुनिश्चित गरे पनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको बताउनुभयाे । उहाँले राजनीतिक दलहरूभित्रै संविधानको भावनाअनुसार समावेशिताको सिद्धान्तलाई अङ्गीकार गरिसकेको अवस्था नरहेको स्वीकार गर्नुभयो ।
मन्त्री पौडेलले मदरसा शिक्षाको रूपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि बताउनुभयाे ।
कार्यक्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताउनुभयो । उहाँले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष अन्सारीले भन्नुभयो, ‘अझै पनि मदरसामा बोरामा बसेर पढ्नुपर्ने अवस्था छ । कहिलेसम्म यो अवस्था रहन्छ ? जुन सार्वजनिक शिक्षालय स्कुल छ । सरकारी स्कुल चाँहि सुविधा सम्पन्न छ । मदरसामा भने बोरा ओछ्याएर पढ्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ ? अब यो अवस्थामा परिवर्तन गर्नुपर्छ ।’
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij