२०८२ भाद्र ४ गते बुधवार
मनमैजु सांस्कृतिक समाज तथा गोलढुङ्गा साहित्य परिषद्को आयोजनामा शनिबार राजेन्द्रमान डङ्गोलकृत दोस्रो नियात्रा सङ्ग्रह 'पैतालामा हिउँ,आँखामा हिमाल' बारे मन्थन तथा परिचर्चा कार्यक्रम राजधानीमा भव्यरूपमा सम्पन्न भएको छ । परिचर्चा कार्यक्रमका विशिष्ट अतिथि दामोदर पुडासैनी 'किशोर'ले जीवनको सिङ्गो भोगाइ नै यात्रा हो ।
नियात्राकार राजेन्द्रमान डङ्गोलले पहाडीदेखि हिमाली जनजीवनका तमाम ऊहापोह प्रतिविम्बित गर्न सफल भएको जिकिर गरे । उनले अनेकानेक दृष्टान्त प्रस्तुत गर्दै राजेन्द्रमान समकालीन समयका हस्तक्षेपकारी नियात्राकार बन्न सफल भएको दाबी गरे । कवि, समालोचक तथा प्रलेसका पूर्व महासचिव आरएम डङ्गोलले राजेन्द्रमान डङ्गोलले दोस्रो कृति सार्वजनिक गर्नु पूर्व अथक र अविराम साधना गरेकाले कृति अत्यन्त परिष्कृत भएको प्रस्ट पारे ।
साठीको दसक प्रारम्भदेखिका नियात्रालाई समेत समाविष्ट गर्दा पनि कृति यति उत्कृष्ट हुनुले डङ्गोललाई नवोदित नियात्राकार भन्नु अन्याय हुने उनको कथन थियो । त्यसरी नै कवि तथा समीक्षक माधव घिमिरे 'अटल'ले आफू पनि कतिपय यात्रामा उनकै सहयात्री भएकाले डङ्गोलको लेखनीका अनगिन्ती आयामबारे आफ्नो अनुभव र अनुभूति पस्केका थिए । कृतिकार डङ्गोलले रचनागर्भबारे चर्चा गर्दै फिलिपसँग यात्रा गर्दाको दुःखद संयोगबारे सङ्क्षिप्त मन्तव्य राखे । आयोजकप्रति आभार व्यक्त गर्दै उनले कृति अध्ययन गरी सिर्जनशील सल्लाह र सुझाव दिन आग्रह गरे ।
कार्यक्रममा मसांसका साहित्य विभाग प्रमुख तथा हालै विद्यावारिधि गरेका मूर्धन्य साहित्यिक व्यक्तित्व घनश्याम पुडासैनीलाई सम्मान गरिएको थियो । तारा केसीले सम्मानित डा. घनश्याम पुडासैनीको व्यक्तित्वको बारेमा चर्चा गरेकी थिइन् । मसांसका महासचिव जनार्दन फुयाँलद्वारा सहजीकरण गरिएको सो कार्यक्रमका प्रमुख अतिथि प्रा• डा• रामचन्द्र लम्साल थिए । उनले सम्मानित व्यक्तित्वको बहुआयामिक क्षमताबारे सङ्क्षिप्तमा प्रकाश पारे । तारकेश्वर न•पा•वार्ड नं• -६ का अध्यक्ष मधु कार्की, गोलढुङ्गा साहित्य परिषदका अध्यक्ष देवेन्द्र अर्याल 'आँसु', वरिष्ठ साहित्यकार लव गाउँलेलगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य प्रकट गरेको सो कार्यक्रममा उपस्थित पाहुनाहरूलाई डा•कान्छी महर्जनले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता मसांसका अध्यक्ष ध्रुवराज खड्काले गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij