२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक समस्याका विषयमा शिक्षा मन्त्रालयले गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने मिति अनिश्चित बनेको छ ।
मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमा बुधबार (८ मंसिर) मा महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने जानकारी दिएको थियो ।
शिक्षा सचिव रामप्रसाद थपलियाले महासंघका प्रतिनिधिहरूसँग बुधबार छलफल हुन नसकेको जानकारी बिहीबार बिहान वेबटिभी खबरलाई जानकारी दिंदै छलफलको मिति अनिश्चित बनेको जानकारी दिए ।
सचिव थपलियाले दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनमा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरू व्यस्त रहेकोले महाधिवेशनपछि मात्रै उनीहरूसँग छलफल गरिने जानकारी दिए ।
शिक्षामन्त्रीले भनेका थिए, ‘हामीले बुधबार छलफलका लागि गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरूलाई बोलाएका थियौं । पार्टीको महाधिवेनलाई कारण देखाएर उहाँहरू आउनुभएन । उहाँहरूसँग छलफल गर्ने भनेर मिति चैं तोकेका छैनौं । सम्भवतः महाधिवेशनपछि छलफल हुन्छ ।’
सचिव थपलियाले शिक्षा मन्त्रालयले इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा स्थानीय तहसँग समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २०७८ असार ८ गते पठाएको पत्र नै समस्याको समाधान भएको तर्क गरे ।
पत्रकार सम्मेलनमा शिक्षामन्त्री देवेन्द्र पौडेलले श्रम मन्त्रालयले तोकेको १५ हजार पारिश्रमिक अनिवार्य रूपमा इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाउनुपर्ने बताएका थिए ।
इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई पारिश्रमिक दिन स्रोत छ वा छैन भन्ने कुरा तीनै तहका सरकारको जिम्मेवारीभित्र रहेको र यसका लागि तीनै तहका सरकारले जिम्मा लिनुपर्ने मन्त्री पौडेलको भनाइ थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij