Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ५ वटा सिमेन्ट उद्योग कारबाहीमा (सूचीसहित)

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ५ वटा सिमेन्ट उद्योग कारबाहीमा (सूचीसहित)


  • 4.4K
    Shares

    गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ५ वटा सिमेन्ट उद्योग कारबाहीमा (सूचीसहित)
    images

    काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले पूर्वको मारुती सिमेन्ट सिमेन्टसहित ५ उद्योगलाई कारबाही गरेको छ। विभागले ती उद्योगका उत्पादनले निर्धारित मापदण्डअनुसारको उत्पादन नगरेको भन्दै कारबाही गरेको हो।

    विभागले सिराहाको मिर्चैयामा सञ्चालित मारुतीको ओपिसी ४३ ग्रेडको सिमेन्टको विक्री वितरण रोक्न निर्देशन दिएको छ। साथै कारबाहीमा परेको ब्याचका समग्र उत्पादनलाई बजारबाट फिर्ता लैजान र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचारसमेत गरेको छ।

    विभागद्वारा प्राप्त प्रेस विज्ञप्तिमा मारुती सिमेन्टको सङ्कलित नमुनाको ७ र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थको मान क्रमशः न्यूनतम ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ देखिएको बताइएको छ। 

    मारुती सिमेन्टको प्याकिङ गर्ने बोरा पनि अत्यधिक पातलो र च्याङ्लो भएको हुँदा सिमेन्ट झर्ने र छिटै हावा पसेर त्यसको गुणस्तर खस्कने गरेको प्राविधिकले बताएका छन्। त्यस्तै धादिङको युनाइटेड सिमेन्ट प्रालिलाई पनि विभागले कारबाही गरेको छ।

    विभागले युनाइटेडको ओपिसी ५३ ग्रेडको विक्रीवितरण रोक्न निर्देशन दिएको छ। साथै कारबाहीमा परेको ब्याचको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता लैजान र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले पत्राचार गरेको छ।

    युनाइटेडबाट सङ्कलित नमुनाको ७ र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थको मान कम्तीमा १६ र २२ हुनुपर्नेमा १५ र २० देखिएको विभागले बताएको छ।

    रुपन्देहीको जगदम्बा सिमेन्टलाई पनि विभागले कारबाही गरेको छ। जगदम्बाको कारबाहीमा परेको पीपी सिमेन्टको विक्रीवितरण रोक्न निर्देशन दिइएको छ। साथै कारबाहीमा परेको ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लैजान र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइएको छ।

    विभागको कारबाहीको दायरामा धनुषास्थित जानकी केबल इन्डस्ट्रीसमेत परेको छ। जानकी केबलको सङ्कलित नमुनाको ओभरअल डाइमिटर, स्ट्र्यान्ड डाइमिटर र कन्डक्टर रेसिस्टेन्सको मान नेपाल गुणस्तरबमोजिम नभएको विभागको जिकिर छ।

    विभागले जानकीको शून्य दशमलव ७५ र १ एमएमको पीभीसी केबल परीक्षणका लागि लगेको थियो। उक्त केबलमा नेपाल गुणस्तरअनुासर निर्धारित मापदण्ड नपाइएको हो।

    विभागले बाराको श्री ग्यास वान नेपाललाई पनि मापदण्ड नपुगेको अभियोगमा कारबाही गरेको छ।

    श्री ग्यासले सेफ्टी क्याप नलाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र सीभीटी मेसिन नभएको ठहर विभागले गरेको छ।

    त्यस्तै श्री ग्यासको उत्पादनमा एचएसटी मेसिन प्रयोग नगरेको, सिलिन्डर धुने–पखाल्ने काम नगरिएको, भल्भ मर्मत कार्य नगरिएको र स्प्रिङ्कल सिस्टम चालु अवस्थामा नभएको अभियोगसमेत विभागले लगाएको छ। श्री ग्यासमा प्रेसर गेजको क्यालिब्रेसन नभएको विभागको आरोप छ।

    विभागले श्री ग्यासलाई उल्लेखित कैफियत पूरा नहुन्जेल एलपीजी बोटलिङको कार्य वन्द गर्न र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको बताइएको छ।

    विभागका अनुसार कारबाहीमा परेका पाँच वटै उद्योगले नेपाल गुणस्तर चिह्न लिएका छन्। तर पाँचै वटा उद्योगका उत्पादन विभागका प्रयोगशालामा परीक्षण गर्दा तथा उद्योगसमेत निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तरबमोजिम नपाइएको विज्ञप्तिमा उल्लेख छ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - १४:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij