२०८२ मंसिर ७ गते आइतवार
राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ। बुधबार सताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै विभागले ई-पासपोर्ट सार्वजनिक गरेको हो।
विभागका अनुसार नयाँ सार्वजनिक गरिएको राहदानी ३४ र ६६ पृष्ठको हुनेछ। जसकारण अब यात्रा गर्नेहरूले पेज सकिएर राहदानी धाइरहनुपर्ने समस्या धेरै हदसम्म समाधान हुने विश्वास गरिएको छ।
सुरक्षाका लागि यसमा इलेक्ट्रोनिक चिप्स राखिएको छ। जसलाई जाँच गर्न आफूसँग २ ओटा ८ मिटरका पूर्ण अटोमेटिक मेसिन रहेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए।
आजदेखि केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ। यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिँदै आएकोमा विद्युतीय पासपोर्ट पनि ६ रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ।
मंसिर २ गतेदेखि सीमित सेवाग्राहीलाई विद्युतीय चिपमा आधारित पासपोर्ट वितरण हुनेछ। त्यस्तै मंसिर १५ गतेदेखि सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्नेछन्। व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको विभागले जनाएको छ।
विभागले ६ प्रकारको ई-पासपोर्ट जारी गर्न लागेकोमा ३४ पृष्ठको राहदानी नियमित प्रक्रियाबाट जिल्ला प्रशासन कार्यालय र नियोगमार्फत बनाउँदा ५ हजार रुपैयाँ शुल्क लाग्नेछ। यस्तै ६६ पृष्ठका लागि भने १० हजार रुपैयाँ शुल्क विभागले निर्धारण गरेको छ।
आपतकालीन अवस्थामा दुई दिने सेवा अवधिभित्र पासपोर्ट बनाउँदा ३४ पृष्ठको १२ हजार र ६६ पृष्ठको २० हजार रुपैयाँ शुल्क तोकिएको छ। राहदानी हराएमा, केरमेट भएमा वा अन्य कारणले प्रयोग गर्न नमिल्ने भएमा नयाँ बनाउन पाँच हजार शुल्क लाग्ने विभागले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij