काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
टेलिकमको नाफा गत वर्षको भन्दा ४८.८९% ले धेरै हो । गत वर्ष यसले १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता, टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी पनि बढाउन सफल भएको छ ।
गत वर्ष टेलिकमले सेवा व्यापारबाट ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक बढाएर ९ अर्ब ७७ करोड रुपैयाँ पुर्याएको छ । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने १ अर्ब ४६ करोड रुपैयाँबाट घटेर १ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ ।
यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ८३ अर्ब ८२ करोड रुपैयाँ जम्मा छ । गत वर्ष यसको रिजर्भ कोषमा ८१ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी पनि १९ रुपैयाँ ७९ पैसाले बढेर ६० रुपैयाँ २६ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा छ ।
कम्पनीले दूरसञ्चार लगायतका विभिन्न प्रविधि सम्बन्धी सेवा उपलब्ध गराउँछ । सामाजिक सञ्जालमार्फत पनि यस्ता व्यापारको हिस्सा बढ्न थालेको छ । जसका कारण दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुलाई चुनौती थपिएको छ । यसबाहेक ग्राहक बढाउने प्रतिस्पर्धा भने खुम्चिंदै गएको छ । किनभने धेरैको हातमा मोबाइल फोन पुगिसकेको छ ।