२०८२ मंसिर ८ गते सोमवार
लमजुङ । बेंसीसहर नगरपालिका ७, मा संचालित ल्यान्डस्टार आवासीय माध्यमिक विद्यालय (बोर्डिङ स्कुल) को बसमा आगलागी भएको छ । पार्किङ गरेर राखिएको ग१क २८२५ को बसमा आइतबार दिउँसो एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार दिउँसो पौने ३ बजेतिर बसमा आगो लागेको जानकारी आएपछि प्रहरी खटिएको थियो । प्रहरी, स्थानीय, शिक्षक, अभिभावक, विद्यार्थी मिलेर आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए ।
उनका अनुसार सवारी चालकको सिटमुनी इन्जिनबाट एक्कासी आगो निस्केको देखिएको छ । बसको बाहिरी भागमा खासै असर नपरेको देखिए पनि भित्रपट्टी अगाडिको ईन्जिन भएको ठाउँमा क्षति भएको उनले बताए । ‘सबै मिलेर समयमै आगो निभएकाले थप क्षति हुन पाएन’, उनले भने ।
विद्यालयका संचालक सरोज रेग्मीका अनुसार सबै मिलेर आगो निभाएकाले बसको सबै भागमा क्षति हुन पाएन । प्रिन्सिपल ईश्वर पौडेलले बसको इन्जिनमा क्षति पुगेको बताए । ‘समयमै आगो निभाउन सफल भयौं । पूर्ण रुपमा आगो निभ्न करिब १ घण्टा लाग्यो,’ उनले भने । प्रहरी, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सबै मिलेर आगो निभाएको उनले बताए ।
ल्यान्डस्टारद्वारा संचालित किड जोन मन्टेश्वरीको अगाडि क्षेत्रमा पार्किङमा राखेको बसको ईन्जिनबाट आगलागी भएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij