२०८२ मंसिर ८ गते सोमवार
काठमाडौँ । सरकारले गत असार १ को बाढीबाट क्षतिग्रस्त हेडवर्क्सको संरचनालाई ‘फास्ट–ट्र्याक’ प्रक्रियाबाट पुनर्निर्माण गरेर मेलम्चीको पानी जतिसक्दो छिटो काठमाडौं ल्याउने तयारी गरेको छ । सिन्धुपाल्चोकको हेलम्बुमा गेग्रानले पुरिएको आयोजनाको हेडवर्क्स र सुरुङको मुखलाई पूर्वअवस्थामा ल्याउन फास्ट–ट्र्याकबाट टेन्डर प्रक्रिया पूरा गरेर अस्थायी रूपमा पानी ल्याइने खानेपानी मन्त्रालयले जनाएको छ ।
आयोजनाको हेडवर्क्स र सुरुङ सफा गरेर काठमाडौंमा पानी ल्याउन बढीमा तीन महिना लाग्ने अनुमान प्राविधिकहरूको छ । हेडवर्क्सको संरचना करिब २० देखि ३० फिट बाक्लो गेग्रानले पुरिएको छ । डाइभर्सन र अडिट टनेल कति पुरिएको छ भन्ने यकिन भएको छैन ।
मेलम्चीको शिर भेमाथाङबाट बगेको पहिरोले हेडवर्क्सको सबैजसो भाग पुरिएको छ भने प्रवेश मार्गको करिब ६ किमि भागमा क्षति पुगेको छ । गत फागुनमा परीक्षणका क्रममा मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको थियो तर बाढी आएकै दिन बिहान सुरुङमा पठाइएको पानी बन्द गरिएको थियो । बाढीले बगाएका आयोजनासम्बद्ध ८ जनामध्ये दुई नेपालीसहित पाँच जना विदेशी अझै बेपत्ता छन् । दुई जना चिनियाँ र एक जना भारतीय मृत फेला परेका थिए ।
मेलम्ची आयोजना अब के होला भन्ने अन्योल भइरहेका बेला खानेपानीमन्त्री उमाकान्त चौधरीले फास्ट–ट्र्याक प्रक्रिया पूरा गरेर निर्माणलाई तीव्रता दिने बताएका छन् । काठमाडौंमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले फास्ट–ट्र्याकबाट टेन्डर प्रक्रियाका लागि नीतिगत निर्णय गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा खानेपानी, भौतिक पूर्वाधार, अर्थ एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीहरूबीच भएको छलफलले अस्थायी रूपमा पानी काठमाडौं ल्याउन सम्बन्धित मन्त्रालयले निर्माण प्रक्रिया अघि बढाउने सहमति भएको छ । मन्त्री चौधरी सोमबार आयोजनास्थल गएर फर्केका थिए । उनले कान्तिपुरसँग भने, ‘पानी कति समयमा काठमाडौं ल्याउन सकिन्छ, अहिल्यै यकिन गर्न सक्दिनँ । काम सुरु भएपछि क्यालेन्डर नै बनाएर कुरा गरौंला । जतिसक्दो छिटो काम गरौं भन्ने नै हो ।’
मेलम्चीको भौतिक संरचना निर्माण सुरु गरेको २२ वर्षमा गत फागुनमा पानी काठमाडौं ल्याएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो । हेडवर्क्स निर्माण पूरा नभई उद्घाटन गरिएको थियो । बाढी आएकै दिन सुरुङको मुख बन्द गरेकाले लेदो र गेग्रान सुरुङमा पस्न नपाएको प्राविधिकहरूले बताएका छन् । काठमाडौंको सुन्दरीजलदेखि मुहान क्षेत्र हेलम्बुसम्मको २६ किमि सुरुङलाई तीन भागमा विभाजन गरिएको छ । सुरुङको लम्बाइ सुन्दरीजल–सिन्धु ९ दशमलव ४, सिन्धु–ग्याल्थुम ८ दशमलव २ र ग्याल्थुम–अम्बाथान ८ दशमलव २ किमि छ ।
आयोजनाको प्रमुख ऋण सहयोगी एसियाली विकास बैंक (एडीबी) ले अस्थायी रूपमा पानी ल्याउन तत्काल आर्थिक सहयोग नगर्ने भएपछि सरकारले आफ्नै खर्चले पुनर्निर्माण सुरु गर्न लागेको हो । क्षति र भौगोलिक अवस्थाका बारेमा अध्ययन गर्न एडीबी टोली बिहीबार (आज) आयोजना क्षेत्रमा जाँदै छ । अध्ययनपछि एडीबीले गर्ने सहयोगबारे छलफल हुन सक्ने जानकारी आयोजनाका प्राविधिकहरूले दिए । हाल एडीबीले पहिलो चरणमा प्रदान गर्ने ऋण सहयोग सबै प्रयोग भइसकेकाले सरकार आफैंले मर्मत गर्न लागेको हो ।
मुआब्जा, सुरुङ, ट्रिटमेन्ट प्लान्टसहित करिब ३० अर्ब खर्च भइसकेको आयोजनाको हेडवर्क्सको निर्माण अन्तिम चरणमा पुगेका बेला बाढीले क्षति गरेको हो । इटालियन ठेकेदार कम्पनी (सीएमसी) ले छाडेपछि हेडवर्क्सको संरचना चिनियाँ कम्पनी सिनो हाइड्रोले बनाइरहेको छ ।
मन्त्री चौधरीले आयोजना, स्थानीय तह, सेना र ठेकेदार कम्पनीले क्षेत्रगत रूपमा काम विभाजन गरेर पुनर्निर्माण गर्ने तयारी गरिएको बताए । उनका अनुसार नयाँ बजेटमार्फत मर्मतका लागि तत्काल एक अर्ब विनियोजन गरिएको छ । मेलम्ची बजारबाट करिब १८ किमि टाढा हेडवर्क्ससम्मको सडक पूर्वाधार मन्त्रालयले अस्थायी रूपमा निर्माण गर्ने प्रस्ताव गरिएको छ । आयोजना निर्माणको सुरुकै चरणमा बनेको प्रवेश मार्ग जीर्ण छ । उक्त सडकको स्थायी रूपमा मर्मतका लागि स्थानीयले समेत दबाब दिइरहेका छन् ।
मन्त्रालयका अनुसार नदी नियन्त्रणको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई दिने प्रस्ताव छ भने मेलम्ची खोलाको चनौटेमा बेलिब्रिज जडान सेनाले गरिरहेको छ । बेलिब्रिज सडक विभागले उपलब्ध गराएको हो । दोस्रो पटक साउन १६ मा आएको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि हेलम्बु गाउँपालिका र हेडवर्क्ससँगको सम्बन्धविच्छेद भएको थियो । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले सडकको अस्थायी निर्माणका लागि चरिकोट सडक डिभिजन कार्यालयले छिट्टै काम सुरु गर्ने जानकारी दिए । उनका अनुसार तत्काल आयोजनाको हेडवर्क्स पुग्न अस्थायी सडक निर्माण गरिनेछ । ‘दीर्घकालीन रूपमा गरिने निर्माणका लागि विस्तृत अध्ययन आवश्यक छ,’ उनले भने, ‘कतिपय विषयमा कानुनी प्रक्रिया पुर्याउनुपर्ने भएकाले फास्ट–ट्र्याकमा काम गर्न अप्ठ्यारो भएको छ ।’
मुख्य प्रवेश मार्गको मेलम्ची बजारदेखि चनौटेसम्मको सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन गर्न सक्ने अवस्था छ भने त्यसमाथि हेडवर्क्ससम्मको करिब ६ किमि सडकको स्थायी संरचना पुरानै स्थानमा बनाउन सकिने अवस्था छैन । हाल हेलम्बु गाउँपालिकाले अस्थायी सडक निर्माण गरेर मुहानस्थलसम्म सवारीसाधन जान सक्ने बनाएको छ । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले आयोजनाले ढिलासुस्ती गरेर काम गर्ने हो भने अर्को वर्षात्मा पनि पानी काठमाडौं पठाउन नसकिने बताए । उनले भने, ‘स्थानीय तहलाई विश्वासमा लिएर छिटोभन्दा छिटो काम गर्ने हो भने काठमाडौंमा पानी पठाउन तीन महिना पनि लाग्दैन ।’
मेलम्ची शिरको हिमाली भेगमा पहिरोको जोखिम कायम रहेकाले स्थायी संरचना निर्माण तत्काल सुरु गर्न सकिने अवस्था छैन । हिउँदमा पानी सञ्चालन गरे पनि वर्षात्मा पहिरो आएपछि बन्द हुने प्राविधिकहरूले बताएका छन् । सामान्य वर्षा हुनासाथ पहिरो खस्ने गरेको छ । आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालका अनुसार प्रारम्भिक अध्ययनका आधारमा आयोजनाको क्षतिग्रस्त संरचना निर्माणका लागि करिब डेढदेखि दुई अर्ब लाग्ने अनुमान छ । बेलिब्रिज निर्माणका लागि भने सरकारले अतिरिक्त रकम विनियोजन गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij