२०८२ मंसिर ८ गते सोमवार
लमजुङ । पिकअप जिपलाई ५ जना यात्रु बोक्ने अनुमति दिएको हुन्छ । उस्तै प्रकारको रातो नम्बर प्लेटको जिपलाई यात्रु बोक्ने अनुमति छैन । लमजुङमा भने रातो प्लेटको निजी जिपदेखि ५ जना यात्रु बोक्ने अनुमति पाएको जिपले भित्र कोचाकोच यात्रु राखेर मात्रै नभएर खस्नै लाग्ने गरी बाहिर ढालासमेत यात्रु बोकेका छन् ।
गाउँतिर प्रहरीको आँखा छलेरमात्रै नभएर बजार क्षेत्र, प्रहरी, प्रशासन, ट्राफिक प्रहरी कार्यालयकै अगाडि क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् ।
प्रहरी चेकिङ आउनेबित्तिकै यात्रुलाई झारेर हिँड्न लगाउने र अलि पर पुगेपछि पुनः जिपमै चढाउने गरेका छन् । त्यतिमात्र नभएर जिपमा झुन्डिएर यात्रा गर्ने गरिएका छन् । कतिपयले प्रहरीको आँखा छलेर वा भाग्ने गरेका छन् । प्रहरी चेकिङमा रोक्दासमेत भाग्ने गरेका छन् । कतिपयले भने सर्वसाधारणले सुझाव दिँदासमेत अटेरी गरेका छन् ।
बेंसीसहरबाट ग्रामीण भेगतर्फ जाने जिपले सामान बोक्ने ठाउँ ढालामा भाडाका यात्रु बोक्ने गरेको ट्राफिक प्रहरीले बताएको छ ।
बेंसीसहरबाट खुदी–भुलभुले साथै मनाङ, घलेगाउँ, भुजुङ, गाउँसहर, नाल्मा, पुरानकोट, हिलेटक्सार, चिती, बन्सार, गौंडा, दूधपोखरीलगायत क्षेत्रमा जाने तथा आउने जिप प्रायः सबैले क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको ट्राफिक प्रहरीले बताएको छ ।
ट्राफिक प्रहरी प्रमुख सई विष्णुबहादुर नेपालीले तिहारको समय ग्रामीण भेगमा चल्ने जिप, लामो यात्राका सवारी साधनले बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको बताए । उनका अनुसार लाइसेन्स, ब्लुबुकलगायत कागजपत्रसमेत नबोकी सवारी चलाउने गरेका छन् ।
ट्राफिक प्रहरीका अनुसार गाउँतिर जाने बसले समेत क्षमताभन्दा बढी यात्रु बोकेको र तोकिएभन्दा बढी रकम असुलेको भेटिएको छ । यस्तै, काठमाडौं जाने माइक्रो बसले क्षमताभन्दा बढी यात्रु बोकेको भेटिएको छ । माइक्रोबसले बेंसीसहर–काठमाडौं ५ सय ९० भाडा कायम रहेकामा दसैंको समय प्रतिव्यक्ति एक हजार रुपैयाँसम्म असुलेको ट्राफिक प्रहरीले जनाएको छ ।
तिहारमा भने माइक्रोबसले क्षमताभन्दा बढी यात्रु बोके पनि बढी भाडा लिएको गुनासो नआएको ट्राफिक प्रहरीले बताएको छ । ‘सवारी व्यवसायीले बढी भाडा लिएको देखिएमा यात्रुलाई फिर्ता गराएका छौं । क्षमताभन्दा बढी यात्रु बोक्नेलाई क्षमताअनुसारको मात्रै यात्रु बोक्न लगाएर कारबाही गर्ने गरेका छौं,’ उनले भने, ‘पछाडिपट्टि बसेका, उभिएका, झुन्डिएका यात्रुलाई सम्झाइबुझाइ गरेका छौं ।’
क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी भाडा असुल्ने, कागजपत्र नबोक्ने सवारीसाधनलाई कारबाही गरिएको समेत उनले बताए । आइतबार र सोमबार गरी २० हजार रुपैयाँ बढी जरिवाना उठाएको उनले बताए ।
सवारीसाधनले बढी यात्रु बोक्ने र बढी भाडा असुल्ने गुनासो बढेसँगै डीएसपी कृष्णबहादुर कार्की आफैं फिल्डमा खटिएका छन् ।
बेंसीसहरदेखि खुदीसम्मको करिब साढे ७ किलोमिटर सादा पोसाकमा हिँडेका उनले क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी भाडा असुल्नेलगायत १० वटा जिपको कागजपत्र नियन्त्रणमा लिएर कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएको बताए ।
‘ग्रामीण भेगमा चल्ने जिपले बढी यात्रु राख्ने, जोखिमपूर्ण तवरले यात्रा गराउने गरेको पाइयो । ५ जना क्षमताको जिपले १७ जनासमेत बोकेको पाइयो,’ उनले भने, ‘कैफियत देखिएकालाई ठाउँको ठाउँ कागजपत्र लिएर कारबाहीका लागि ट्राफिकमा पठाएको छु । आइन्दा गल्ती नगर्न चेतावनी दिएको छु ।’
ट्राफिक प्रहरीले कात्तिक महिनाको तेस्रो सातासम्म मात्रै ३ सय ७५ बढी सवारी कारबाही गरेको जनाएको छ । सवारी चालक कारबाहीबाट २ लाख ६० हजार राजस्व संकलन भएको ट्राफिक सई नेपालीले बताए । यो अवधिमा मादक मदार्थ सेवन गरी सवारी चलाएका ३ जनालाई कारबाही गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij