Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

तिहारमा कागको पूजा किन गरिन्छ ? यस्तो छ यसको धार्मिक कारण

तिहारमा कागको पूजा किन गरिन्छ ? यस्तो छ यसको धार्मिक कारण


  • 4.5K
    Shares

    तिहारमा कागको पूजा किन गरिन्छ ? यस्तो छ यसको धार्मिक कारण
    images

    हिन्दू धर्मावलम्बीहरुले हर्षोल्लासपूर्ण रुपमा मनाउने तिहार पर्वको आफ्नै विशेषता रहेको छ । उज्यालो र खुसीयालीको पर्वको रुपमा चिनिने यस पर्वले मानिसहरुमा छुट्टै उमंग लिएर आँउछ ।

    तिहारको कुरा गर्नासाथै हाम्रो दिमागमा झिलिमिली बत्तिहरुको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरु, देउसीभैलो टोलीको रमाइलो नाचगानको साथै सेलरोटी लगायत विभिन्न मिठाईहरुको स्वाद आइहाल्छ ।

    तर, तिहारपर्वको साँस्कृतिक महत्वमात्रै होइन धार्मिक महत्वपनि धेरै ठूलो रहेको छ । यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफना दाजुभाईको पूजा गरिन्छ ।

    तिहार पर्व कात्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ ।

    काग तिहारको धार्मिक महत्व

    हिन्दू धर्मावलम्बीहरुको अर्को महान पर्व बडादशैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ ।

    काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।

    हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।

    कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझै पनि आफ्नो घरआँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल… सुबोल…’ अर्थात शुभ बोल भनेर भनिन्छ ।

    हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

    आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आˆनो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।

    यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापकोभागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।

    यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ ।

    त्यस्तै प्रकृतिको लागि पनि काग एउटा नभई नहुने पन्छी हो । यसले हाम्रो ‘इकोसिस्टम’मा पनि ठूलो योगदान दिन्छ । हामीले लगाएको बालीनालीलाई हानी गर्ने किरा फट्याङ्ग्राहरुलाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ ।

    यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ । मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - ११:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij