२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेका थिए ।
नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेका थिए । ‘उनले संग्रहालयको श्रीपेच कक्ष (रुपन्देही कक्ष)बाट खुकुरी निकालेर सोकेस फुटाउन खोजेका थिए,’ निर्देशक दाहालले भने, ‘सोही कक्षका सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रण लिएर प्रहरीलाई बुझाएका छन् ।’
संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाले घर्तीलाई दरबारमार्ग प्रहरी वृत्तलाई बुझाएका थिए । उक्त कक्षमा खुकुरी र अन्य सामग्रीसहित सोकेसमा नेपालका पूर्वराजाहरूले लगाएको श्रीपेच राखिएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी सिंहले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij