२०८२ मंसिर १२ गते शुक्रवार
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङका तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या प्रकरण योजनाबद्ध रूपमा भएको प्रहरीले पुष्टि गरेको छ ।
संखुवासभा प्रहरीले यसअघि तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीको बयानको आधारमा योजनाबद्ध रूपमा हत्या भएको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वजन सुवेदीका अनुसार तेजबहादुरको परिवारको हत्याका मुख्य योजनाकार खड्गबहादुर कार्की हुन् । सोमबार प्रहरीले खड्गबहादुर कार्कीसहित उनका छोरा हस्तबहादुर कार्की, रणबहादुर कार्की र उनका छोरा नरेश कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । रणबहादुर र खड्गबहादुर दाजुभाइ हुन् ।
यसअघि प्रहरीले तेजबहादुरको परिवारको हत्या अभियोगमा रणबहादुरका जेठा छोरा लोकबहादुरमात्रै देखिएको भन्दै उनलाई गत बिहीबार पक्राउ गरेर सार्वजनिक गरेको थियो । तर, उनको बयानका आधारमा घटना योजनाबद्ध रूपमा भएको प्रहरीले खुलाएको हो ।
उनीहरूले २१ भदौमा तेजबहादुरसहित उनकी आमा ८४ वर्षीया पार्वती, उनकी श्रीमती ५२ वर्षीया कमला, ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या गरेका थिए ।
यसरी बनेको थियो हत्या योजना
प्रहरीको अनुसन्धानले तेजबहादुरका परिवारको हत्या योजना लोकबहादुरको घरमा भएको देखाएको छ । खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, नरेश कार्की र लोकबहादुर कार्कीले २० भदौको राति तेजबहादुरको हत्या गर्ने योजना बनाएको खुलेको डीएसपी लालध्वाज सुवेदीले जानकारी दिए ।
‘२१ भदौमा तेजबहादुरले खेतमा काम गर्न खेताला लिएर जाने योजना बनाएका थिए । खड्गबहादुर कार्कीसहित पाँच जना नै खेतमा काम गर्न जाने कुरा भएको देखिन्छ । त्यहीँ क्रममा लोकबहादुर अल्छी भएको र उनलाई बोलाउन आउँदा तेजबहादुरसहित उनकी श्रीमती कमलाको हत्या गर्ने योजना बनाएको देखियो,’ डीएसपी सुवेदीले भने ।
सोही योजना सफल पार्न खड्गबहादुर घटना घटेको बिहान ५ बजे नै तेजबहादुरको घरमा गएर लोकबहादुरको घरमा जान उनलाई दबाब दिएका थिए । खड्गबहादुरले लोकबहादुर अल्छी रहेको भन्दै उनलाई उठाएर खेताला जान तयार पार्न तेजबहादुरलाई लोकबहादुरको घरमा पठाएका हुन् ।
उनलाई लोकबहादुरको घर पठाएर खड्गबहादुर र उनका छोरा हस्तबहादुर कार्की हत्याका लागि लोकबहादुर कार्कीको घर पछाडि दाउराको चिर्पट लिएर बसेका थिए । त्यो बेला लोकबहादुर सुतेकै अवस्थामा थिए । तेजबहादुर उनको घर पुगेर लोकबहादुरसहित उनका बुवा रणबहादुर र भाइ नरेशलाई खेताला जान तयार हुन भन्दै फर्किएका थिए ।
फर्किने क्रममा भने तेजबहादुरको पिछा गर्दै सुरुमा लोकबहादुरले उनको टाउकोमा चक्कु प्रहार गरेको र पछि लोकबहादुर कार्कीको घर पछाडि बसेका खड्गबहादुर र हस्तबहादुरले चिर्पटले उनको टाउकोमा प्रहार गरेर हत्या गरेको खुलेको हो ।
तेजबहादुरको हत्या हुँदा कराएपछि उनकी श्रीमती कमला र बुहारी रञ्जनालाई बचाउन घटनास्थल जान खोजेका थिए ।त्यहीबेला हस्तबहादुर, लोकबहादुर र खड्ग बहादुरले कमला र रञ्जनाको पनि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूले हत्या गर्दैगर्दा तेजबहादुरकै ११ वर्षीय नाति दीपेन र नातिनी ७ वर्षीया गोमासमेत सोही बाटो हुँदै घटनास्थल नजिक आएको देखेपछि उनीहरूको समेत घाँटी थिचेर र चिपर्टले हानेर हत्या गरेका थिए । प्रहरीका अनुसार शव व्यवस्थापनमा रणबहादुरदेखि नरेशसमेत लागेका थिए । उनीहरूको हत्यापछि भने हाल पक्राउ परेका पाँच जना नै तेजबहादुरको घरमा गएर उनकी आमा ८४ वर्षीया पार्वतीको समेत हत्या गरेको बयान उनीहरूले दिएका छन् ।
हत्यापछि उनीहरूले फेरि लोकबहादुरकै घरमा बसेर हत्या गर्न प्रयोग भएका दाउराका चिर्पट आगोमा जलाएको, रगत लागेको कपडा पखालेको र चक्कु लुकाएको खुलेको छ । उनीहरूले घटनाबारे प्रहरीलाई केही थाहा नभएको बताउने सल्लाह गरेका थिए । यदि प्रहरीको अनुसन्धानले घटनाबारे पत्ता लगाए लोकबहादुर मानसिक बिरामी भएकाले उनी एक्लैले गरेको स्वीकार गर्न लगाउने योजना उनीहरूले बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सोही योजना अनुसार सुरुमा पक्राउ परेका लोकबहादुरले समेत आफू एक्लैले हत्या गरको प्रहरीलाई बताएका थिए । त्योबाहेक हत्यापछि उनीहरूले तेजबहादुरको घरको धनमालसमेत लुट्ने योजना बनाएको खुलेको छ । तर, हत्या गर्दा लामो समय लागेको र धनमाल लुट्दा कसैले थाहा पाउने भन्दै लिन नसकेको डीएसपी सुवेदीले बताए ।
हत्याको मुख्य कारण भने तेजबहादुरको परिवारको आर्थिक अवस्था राम्रो देखेपछि उनीहरूमा डाह हुनुका साथै खड्गबहादुर कार्की नियमित मादक पदार्थ सेवन गरेर घरमा झगडा गर्ने तथा घटनामा संलग्न अन्यलाई राम्रो काम गर्न नसकेको भन्दै हेप्ने, कराइरहने गरेकाले उनीहरूले हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँच जनाले नै अभियोग स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग गरेको चक्कुसहित रञ्जनाले प्रयोग गर्ने मोबाइल अभियुक्त नरेश कार्कीको साथबाट बरामद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij