२०८२ मंसिर १२ गते शुक्रवार
रसिया हुँदै जर्मनी प्रवेश गरेका १८ जना नेपालीहरू जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थलबाट पक्राउ परेका छन् ।
रसियाबाट नक्कली कागतजात बनाएर जर्मनी प्रवेश गरेपछि चेकजाँचका क्रममा त्यहाँको अध्यागमन कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जानकारी दिएको हो ।
नक्कली कागजात बनाएर रसियाहुँदै जर्मनी प्रवेश गरेका कारण १८ जना नेपाली फ्र्याङ्कफर्ट विमानस्थलबाट पक्राउ परेको सूचना त्यहाँको अध्यागमन विभागले मेलमार्फत जानकारी गराएको जर्मनीस्थित नेपाली दूतावासका राजदूत रामकाजी थापाले जानकारी दिए ।
उनीहरू कसरी रसिया आएर जर्मनी प्रवेश गरे भन्ने विषयमा अनुसन्धान भइरहेको राजदूत थापाले बताए । ‘पक्राउ परेका नेपाली हाल विमानस्थलमै रहेको र उनीहरू कुन रुट भएर कसरी आएका हुन्, त्यही रुट भएर फर्काउने पहल भइरहेको छ ।
पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसासमेत भेटिएको विमानस्थलले जनाएको छ,’ उनले भने, ‘उनीहरू किन जर्मनी आएका थिए भन्ने खुलेको छैन । उनीहरू अवैध रूपमा जर्मनी प्रवेश गर्न खोज्दा प्रहरीको फन्दामा परेका हुन् ।’
पक्राउ परेका नेपालीहरूका बारेमा जर्मन अध्यागमन कार्यालयले सूचना दिएपछि मात्र पहिचान खुल्ने राजदूत थापाको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij