Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपत्यकाका विद्यालय खोल्ने निर्णय विवादित, अब के होला ?

उपत्यकाका विद्यालय खोल्ने निर्णय विवादित, अब के होला ?


  • 8.1K
    Shares

    उपत्यकाका विद्यालय खोल्ने निर्णय विवादित, अब के होला ?

    काठमाडौँ । कोरोनाका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरू खुल्ने समय अनिश्चित बनिरहँदा विद्यालय खोल्न गरिएको निर्णय विवादित बनेको छ । सोमबार प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ उपत्यकाका सरकारी र निजी विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

    दसैँ- तिहारलगायत ठुला चाडपर्व नजिकिँदै गएको र चिकित्सकहरूले कोरोनाको नयाँ भेरियन्ट आउनेसक्ने चेतावनी दिइरहेका बेला विद्यालय खोल्ने निर्णय गर्न हतारिएको कतिपयको भनाइ छ । कतिपयले भने जोखिमको नाममा लामो समय विद्यालय बन्द  गर्न नहुने बताइरहेका छन् ।

    अहिलेसम्म बालबालिकालाई करोनाविरुद्धको खोप लगाउने तयारी भएको छैन । नेपालमा अझै पनि कोरोना संक्रमणदर नघटेकाले जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयले बताइरहेको छ ।

    त्यस्तै दसैँअघि २२ दिन मात्रै विद्यालय सञ्चालन हुन्छ । त्यसपछि फेरि १५ दिन बिदा हुन्छ । लामो बिदाको मुखमा र जोखिम कायमै रहेका बेला विद्यालय सञ्चालन गर्न दिने निर्णय गर्नुको कारण प्रष्ट छैन ।

    दसैँका लागि निजी विद्यालय सञ्चालकले शुल्क उठाउनका लागि विद्यालय खोल्न प्रमुख जिल्ला अधिकारीहरूलाई दबाब दिएका कारण त्यस्तो निर्णय गरेको आरोप पनि लागिरहेको छ ।

    मङ्गलवार सरुवा भएका काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले सोमबार राखेको छलफलमा अभिभावक संघले विद्यालय खुलाउने निर्णयप्रति असन्तुष्टि जनाएको थियो । २० दिनका लागि विद्यालय खोल्नुको औचित्य नभएको नेपाल अभिभावक संघको भनाइ छ । जोखिम घट्यो भने दसैँ बिदापछि विद्यालय खोल्न सकिने धारणा अभिभावक संघको छ । सङ्क्रमणको दर घट्दै गयो भने कात्तिकको १५ गतेदेखि विद्यालय खोल्न संघले सुझाव दिएको छ ।

    अहिले अनलाइनबाट पढाइ भइरहेको विद्यालयमा निरन्तर गर्न र नसकेको ठाउँमा सरकारले पनि विद्यालय अभिभावकहरूलाई राहत दिन सरकारसँग माग गरेको छ ।

    विद्यालय सञ्चालनबारे आफूले निर्देशन दिन नमिल्ने भन्दै  शिक्षा मन्त्रालय  पन्छिरहेको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले विद्यालय खोल्न विज्ञको सुझावअनुसार स्थानीय तहहरुले नै निर्णय गर्ने बताए ।

    ‘हामीले त कार्ययोजना बनाउँछौ । सोहीअनुसार स्थानीय तहले कार्यान्वयन गर्ने हो’, उनले भने, ‘हाम्रो कार्ययोजनाले कहाँ कसरी विद्यालय सञ्चालन गर्ने भनेको छ ।’

    उनका अनुसार स्मार्ट लकडाउनको अवधारणा अनुसार देशभर एकै किसिमको लकडाउन छैन । लकडाउनकै प्रकृतिअनुसार विद्यालय पनि फरक–फरक ढङ्गले सञ्चालन भएको छ । कडा खालको लकडाउन छ भने विद्यार्थीलाई बोलाउन नमिल्ने उनको भनाइ छ ।

    खुकुलो लकडाउन भएको ठाउँमा विद्यालय खोल्न डिसिएमसीसँग परामर्श गरेर स्थानीय तहले नै निर्णय गर्ने उनले बताए ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १४:५२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij