२०८२ भाद्र १२ गते बिहिवार
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर र बोयोटेकको कोरोना खोपको पहिलो डोज लगाएका छन् । उनले खोप लगाएको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
फाइजरको कोरोना खोप सुरक्षित भएको सन्देश अमेरिकी जनतालाई दिन आफूले पहिलो डोज लगाएको बाइडेनले बताएका छन् । उनले डेलावेयरको नेवार्कमा खोप लगाएका हुन् । यो खोप कार्यक्रमको श्रेय ट्रम्प प्रशासनलाई दिनुपर्ने उनले बताए।
बाइडेनले आफ्नी पत्नी जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएको जानकारी दिएका छन् । नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एम्हाफले आगामी साता खोप लिने अपेक्षा गरिएको छ ।
यसअघि उपराष्ट्रपति माइक पेन्स र अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख नान्सी पेलोसीले पनि खोपको पहिलो डोज लिइसकेका छन् । अमेरिकाले भर्खरै मात्र फाइजरको खोप प्रयोगका लागि अनुमति दिएको थियो । गत हप्ता मोडेर्नाको खोपलाई पनि अनुमति दिइसकेको छ। उक्त खोप पनि चाँडै सर्वसाधारणलाई लगाउन शुरु गर्ने तयारी छ ।
नवनिर्वाचित राष्ट्रपति बाइडेनको टीमले ह्वाइट हाउस प्रशासन सम्हालेको १०० दिनमा अमेरिकाका १० करोड मानिसलाई खोप दिने लक्ष राखेको छ । उनको कार्यकाल २० जनवरीबाट शुरु हुनेछ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij