२०८२ भाद्र ३ गते मंगलवार
वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ । पोखरीया नगरपालिका–१ बस्ने ३३ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि भदौ १० गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार बिहान १ः४५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
‘विरामीको फोक्सो ९० प्रतिशत जति खराब भइसकेको थियो, रगतमा पनि संक्रमणको लक्षण देखिएको थियो,’ उनले भने, ‘स्वास्थ्य अवस्थामा सुधार नै हुन सकेन, बिहान मृत्यु भयो ।’
युवा अवस्थाका मानिसलाई समेत कोरोनाले एग्रेसिभली आक्रमण गरेको बताउँदै डाक्टर उदयले कुनै नयाँ भेरियन्टको संक्रमण हुन सक्ने बताए ।
नारायणी अस्पतालमा असार २३ गते यता कुनै पनि संक्रमितको मृत्यु भएको थिएन । पर्सामा हाल १२ जनामात्रै सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij