Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर एकाउन्ट ह्याक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर एकाउन्ट ह्याक


  • 7.1K
    Shares

    • images
    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर एकाउन्ट ह्याक
    images

    काठमाडौँ ।  नेदरल्यान्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाताभित्र प्रवेश गर्न सकेको सरकारी अधिकारीहरूले बताएका छन् । ट्रम्पको पासवर्ड "maga2020!" भएको बताइएको छ ।

    तर "नैतिकतापूर्वक काम गरेकाले" भिक्टर गेभर्सलाई नेदरल्यान्ड्समा कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरूको भनाइ छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रीनशटहरू सार्वजनिक गरेका थिए । 

    त्यतिबेला ह्वाइट हाउसले ह्याकसम्बन्धी दाबीको खण्डन गरेको थियो । ट्विटरले पनि त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएको थियो। अहिले दुवैले थप प्रतिक्रिया दिएका छैनन्। गेभर्स साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान गर्छन् । "यो मेरो मात्र कामको कुरा हैन, इन्टरनेटमा भएका कमजोर पक्षहरू हेर्ने सबै स्वयंसेवकको हो," उनले भने ।

    उनका अनुसार अमेरिकाको राष्ट्रपतीय निर्वाचनका बेला ठूला उम्मेदवारहरूको ट्विटर खाता आफूले बेलाबेलामा निगरानी गर्ने गरेका थिए । त्यही क्रममा अक्टोबर १६ मा ट्रम्पको पासवर्ड मिलेको उनको भनाइ छ । डच प्रहरीका अनुसार गेभर्स आफैँले उक्त घटनाबारे जानकारी दिएका हुन् ।

    "राष्ट्रपतीय निर्वाचनको मुखैमा उक्त ट्विटर अकाउन्ट हात पार्न सकिन्छ कि भनेर ठूलो चासो भएकाले आफूले त्यसको पासवर्ड कति सबल छ भनेर अनुसन्धान गरेको उनले पछि प्रहरीलाई बताए ।" डच प्रहरीले आफूसँग भएको जानकारी अमेरिकी निकायलाई पठाएको थियो। गेभर्सले उक्त ह्याकिङबारे सरकारी अधिकारीहरूलाई आफूसँग थप प्रमाण भएको बताएका थिए ।

    सिद्धान्ततः उनले ट्रम्पका निजी तस्बिर र सन्देश, ट्रम्पले मात्र देखिन सक्नेगरी बुकमार्क गरिएका ट्वीटहरू, अनि क(कसलाई ब्लक गरिएको छ त्यो देख्न सक्थे । झन्डै ८.९ करोड फलोवर भएको ट्रम्पको ट्विटर अहिले सुरक्षित भइसकेको छ । उक्त खातामा के अहिले थप सुरक्षा वा शङ्कास्पद प्रवेशबारे सङ्केत गर्ने लग छ भन्ने बीबीसी न्यूजको प्रश्नको ट्विटरले सीधा उत्तर दिन अस्वीकार गरेको छ ।

    यो वर्षको आरम्भतिर गेभर्सले आफू र अन्य साइबर सुरक्षा अनुसन्धाताहरूले सन् २०१६ मा पनि "yourefired" पासवर्ड प्रयोग गरेर ट्रम्पको ट्विटरभित्र छिरेको दाबी गरेका थिए । ट्रम्पका अन्य सामाजिक सञ्जालहरूका पासवर्ड चुहाइएको एउटा घटनामा यो पनि सार्वजनिक भएको थियो । बीबीसी 

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १६:२६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij