२०८२ भाद्र ११ गते बुधवार
बिश्वभर छरिएर रहेका नेपाली साहित्यकारहरूलाई सामाजिक संजालमा जोडेर म्यासेन्जर मार्फत निरन्तर अभ्यास गराईरहेको नेपाली साहित्यकार समुहका संयोजक बिनोद स्पन्दनको संयोजनमा सुरुवात भएको नेपाली साहित्यकार समुहले प्रशिक्षणको १००औँ पाईला टेकेको अवसरमा गत सोमबार हप्ताभरी प्रशिक्षण गराउँदै आएको ८ वटै विधा एकै दिन अभ्यास गराएर रचनात्मक रुपमा मनाएको छ ।
बिभिन्न विधाका ख्यातिप्राप्त नेपाली अग्रज प्रशिक्षकबाट दैनिक प्रशिक्षण दिँदै अभ्यास गराउँदै आएको नेपाली साहित्यकार समुहले नेपाली भाषा र साहित्यको बाटोलाई मजबुत बनाउँदै दरिलो खम्बाहरु थप्ने कार्य गरिरहेको छ । यस समुहको फेसबुकमा हालसम्म करिब २००० नेपाली साहित्यकारहरू जोडिनु भएको छ भने २५० जना नेपाली साहित्यकार फेसबुक म्यासेन्जरमा अभ्यासरत हुनुहुन्छ । नेपाली भाषा र साहित्यको लागि यस समुह अत्यन्तै फलदायी हुने प्रशिक्षक तथा अभ्यासकर्ताहरू बताउँनुहुन्छ ।
आफ्ना हरेक व्यस्ततालाई पन्छाउँदै नि:शूल्क प्रशिक्षणका लागि अनवरत रुपमा खटिरहनु हुने आदरणीय अग्रज प्रशिक्षकहरू प्रति यस समुहका परिकल्पनाकार स्पन्दन विनोद लगायत अभ्यासकर्ताहरूले आभारसहित हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
त्यस्तै अग्रज प्रशिक्षकहरूले अभ्यासमा निरन्तर लागी परेर आफ्ना सिर्जनाहरू पस्कन सधैँ तल्लीन रहनुहुने श्रष्टाहरुलाई हार्दिक धन्यवाद! बधाई तथा शुभकामना पनि व्यक्त गर्नु भएको थियो। अत्यन्तै अनुशासित, सभ्य र लगनशील भएर अभ्यास गर्ने-गराउने यस समुह नेपाली साहित्य जगतकै उदारणीय रहेकोले छोटो समयमा धेरै नेपाली भाषी साहित्यकारहरूको मन जित्न सफल भएको छ ।
बिशेषत: नेपाली भाषा साहित्यमा बाटो बिराएर अन्योलमा परेका प्रतिभावान सर्जकहरूलाई सही मार्ग दर्शन गराउने उद्धेश्यले संचालनमा आएको यो समुह कुनै संस्थाको रुपमा दर्ता नभएर आम नेपाली साहित्यकारहरूको साझा चौतारीको रुपमा प्रिय बनेको छ । बिश्वका कुना-कुनामा रहेका नेपाली भाषी अग्रज साहित्यकारहरूको अवस्था अवलोकन गरी सम्मान तथा सहयोग गर्ने, सर्जकहरूलाई आर्थीक, सामाजीक तथा शैक्षिक सहयोग गर्ने, प्रेरक पुरस्कार तथा सम्मान दिने र नेपाली भाषा साहित्यको विकासमा अतुलनिय योगदान दिँदै नेपाली भाषा साहित्य अन्तर्राष्ट्रीय बजारमा स्थापित गर्ने भावी योजना लिएर संचालन गरिएको यस समुहले अहिले राष्ट्रिय भावनाले निस्वार्थ साहित्य साधना गर्ने नेपाली साहित्यकारहरूलाई जोड्ने काम गरिरहेको यस समुहका परिकल्पनाकार स्पन्दन बिनोदको भनाई छ। कोरोना कहरपछि निकट भविष्यमा नै यस समुहले आम नेपाली साहित्यकारहरूको रोहवरमा धेरै ऐतिहासिक कार्य गर्ने जानकारी गराउँनुभयो ।
१००औँ अंकलाई पनि भर्चुअल जुम मार्फत प्रविधिको प्रयोग गरेर बिश्वभरका साहित्यकारहरूलाई समेटेर सम्मानका साथ भव्य कार्यक्रम गर्ने योजना भए पनि परिकल्पनाकार स्पन्दन विनोदको स्वास्थ अवस्था अनुकुल नरहेका कारण सम्भव नभएको र पछाडि सारिएको समायोजनकर्ता कमला महतको भनाई छ । कमला महतले स्पन्दन विनोद अस्वस्थ भएपछि यस समुहमा रचना समायोजन गर्दै आउँनु भएको छ। यसरी नै यस समुहमा अभ्यास गरिएका रचना शुष्मा आचार्य अंशु, सिर्जना खनाल, अमर त्यागी, विविधा भारती, र ओम कुमारी रानाभाटले पनि समय समयमा अभ्यास समायोजन गरिसक्नु भएको छ । अभ्यासमा सहभागी सर्जकहरूले यति धेरै विधामा प्रत्येक दिन अग्रज साहित्यकारबाट अभ्यास गराउने सम्भवतः पहिलो, यस समुहमा आफूहरू जोडिन पाऊँदा अत्यन्तै भाग्यमानी र सुरक्षित महसूस गरेको र अगाडि बढ्ने अवसर प्राप्त गरेको भन्दै संयोजक तथा प्रशिक्षकहरूलाई हृदयदेखि नै धन्यवाद दिएका छन् ।
स्पन्दन विनोदको संयोजन रहेको यस समुहमा अग्रज प्रशिक्षकहरुमा गजल विद्वच्छिरोमणी घनश्याम न्यौपाने परिश्रमी (गजल प्रशिक्षण), कवि माधव बियोगी तथा कवि हरि प्रसाद रिमाल (छन्द कविता प्रशिक्षण), कवि कलानिधि दाहाल (गद्य कविता प्रशिक्षण), कोपिलाकार गिरिराज डल्लाकोटी (कोपिला प्रशिक्षण), हाइजिन प्रकाश पौडेल माइला तथा हाइजिन पुरु सुबेदी (जापानी शुत्रका कविता हाइकुर सेन्यू प्रशिक्षण), बाछिटाकार अमर त्यागी (बाछिटा प्रशिक्षण), गीतकार सुनिल संगम (गीत प्रशिक्षण) र मुक्तककार सुनिल अधिकारी तथा प्रकाश गफाडी (मुक्तक प्रशिक्षण) रहेका छन् । यसरी हरेक हप्ता हरेक दिन विविध विधामा निरन्तर प्रशिक्षण रहेको समुहको म्यासेन्जरमा प्रशिक्षकहरू बाहेक पनि धेरै ख्यातिप्राप्त अग्रज नेपाली साहित्यकारहरू जोडिनु भएको छ।
स्पन्दन विनोद भन्नुहुन्छ-‘हामी नेपालीहरू विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो मातृभाषा र मातृभूमिलाई अगाध माया र श्रद्धा गर्दछौ । त्यसैले हामी आफ्नो मातृभूमि, मातृभाषा र यससँग जोडिएका ब्यक्तित्वहरूलाई मनबाटै पूजा गर्दछौँ । आदर गर्दछौँ । अग्रजको सम्मान विना हाम्रो सँस्कार पुस्तान्तरण हुन सक्दैन । भर्खर जन्मिएको बालकको मुस्कान र बृद्ध मानिसको मुस्कानमा फरक होला तर मुस्कानले बोलेको खुशी यौटै हुन्छ, भाव यौटै हुन्छ । त्यसैले हरेक अग्रज, हरेक अनुजको सम्मान गर्दै यो यस्तो समुह परिकल्पना गरिएको छ, जहाँ हामी केही सिमित २५० ब्यक्तिहरू म्यासेन्जरमा अभ्यासरत छौँ र फेसबुकमा हजारौँ जोडिएका छौँ । यो समुहबाट (फेसुकबाट) हजारौँले लाभ लिईरहनु भएको छ भन्ने आशा गरेको छु ।
सर्वप्रथम, हालसम्म यो कुनै संस्था हैन र सबै नेपाली भाषी साहित्यकारहरूको हक, हित र अधिकारको लागि लड्ने , खुशी र दुस्खमा साथ दिने चौतारी हो, जसलाई हामी सबैले आफ्नो साझा घर सोचेर साथ दिईरहेका छौँ । एउटा बिश्वबिद्यालयमा जसरी हप्तैभरी नेपाली भाषा साहित्यको शिक्षा दिईन्छ, त्यसै गरी यस समुहमा बिभिन्न विधाका विद्वान प्रशिक्षक ज्यूहरूले आफ्नो अमुल्य समय आफ्नो भाषा, साहित्य र देसका लागि विना शूल्क समर्पण गर्नु भएको छ । कुनै दिन देशले अनि अभ्यस्त मनहरूले त्यो योगदानको मूल्य चुकाउँनेछ। यसको लागि तमाम नेपालीहरूका तर्फबाट म लगायत सबैँ अभ्यासकर्ताहरू नतमस्तक भै नमन गर्दछौँ ।
आदरणीय गुरुवर्गहरूलाई हार्दिक धन्यवाद !’ त्यसो त धेरै नेपाली सर्जकका प्रिय, अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका अध्यक्ष समेत रहेका स्पन्दन विनोद दुई दशक अघिबाट निरन्तर नेपाली साहित्य साधनामा सक्रिय नाम हो । उहाँ अगाडि भन्नु हुन्छ- ‘हाम्रो यो प्रयासले एक जना मात्र असल नेपाली साहित्यकार जन्मनु भयो भने पनि हाम्रो भाषा, हाम्रो देश बाँचिरहनेछ । समय अनुरुप यस समुहबाट स्वतन्त्र रुपमा यसका उद्धेश्यहरू अगाडि बढ्नेछन् । यस समुहमा बिभिन्न विधाका ज्ञाताहरू अभ्यास पनि गरिरहनु भएको छ र कतिपय जोडिन सक्नु भएको छैन पनि, त्यसैले अभ्यास गर्दैमा अपमान नसोच्नु होला । सम्पूर्ण सर्जकको कलमको सम्मानले नेपाली स्वाभिमान उच्च बनाउँछ। तसर्थ हामी सबैको समान रुपमा सम्मान गर्दछौँ ।’ नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा अतुलनिय योगदान दिने यस समुह हरेक पाइलामा सबैँको बिश्वास जितेर निरन्तर अगाडि बढोस्, हाम्रो पनि शुभकामना ।
कमला महतद्वारा समायोजन गरिएको १०० औं श्रृंखला विशेषको अवसरमा सर्जकहरूद्वारा प्रस्तुत सिर्जनाहरू यसप्रकार रहेका छन् :
कोपिला
१)
भोलि के के हुन्छ के थाहा
रमाउन र हाँस्न नसाँचे है मायाले
को हाँस्छ को रुन्छ के थाहा
२)
कहिलेकाहीँ रिसाउने कोही छैन
सुख साँट्ने मान्छेको त भयो कुरै छाडौँ
मसँग दुख बिसाउने कोही छैन
३)
भ्रष्टाचारीले तान्ने गाँजामा बदलियौ
तुहिएर गयो त्यसै वर्षौँवर्षको मेहनत
सत्तामा पुगेपछि राजामा बदलियौ
४)
बल्ल पो पाएँ थाहा कति राम्रो
प्रकृति पुरुष मालीका अनुपम सृजनाहरु
कोपिला डाली आहा ! कति राम्रो
५)
सँगसँगै हिँडेपछि साथी भन्नुपर्छ
जिन्दगीको यात्रा रमाइलोसँग काट्ने होभने
अरुलाई आफूभन्दा माथि भन्नुपर्छ
गिरिराज डल्लाकोटी
एक डाली कोपिला:
अँधेरी रातमा जूनको चाह हुन्छ
समाजमा संस्कार र संस्कृति भुल्दै गए पनि
हर मान्छेसँग गुनको चाह हुन्छ
मनका दुई चार शब्द कोर्नु छ
नवीनतम विधा कोपिला बारे केही बुझी
विस्तारै साहित्यमा रङ्ग भर्नु छ
प्रीतको दियो बालेको राम्रो
बिना सङ्कोच साथ आत्मीयता जानेर
शुभ पाइला चालेको राम्रो
भेट हुँदा बोल्दिनौ कि के थाहा
बर्षौँ देखि दुस्ख पीडा झेल्दै बसिरहेकी
पीर व्यथा खोल्दिनौ कि के थाहा
हिजो दिलमा सजाउँला भन्थ्यौ
शंकटका दिनहरु शंकटमै बित्न थाले
दुस्खमा हात समाउँला भन्थ्यौ
कमला महत
गद्य कविता:
लद्दाख!
सलाम छ तिमीलाई
कलानिधि दाहाल
यौटा अकिञ्चन
कञ्चन
अमुक
उदार
शान्त
कुहिरोसँग
कुहिरोले
माटोसँग
माटोले
पहाडसँग
पहाडले
र जम्मैसँग
जम्मैले
लुकामारी खेल्दै
काउकुती लगाउँदै
घुम्टो उघारेर
घामसँग
घाम फैलाएर
घुम्टोसँग
सुनसानमा
तर
सारमा
सारमा
तर
सुनसानमा
तृप्त/अतृप्त
अतृप्त/तृप्त
चाहनाका
असङ्ख्य
बिस्कुन सुकेर
बिस्कुन ओसिएर
मान्छेभन्दा धेरै टाढा
सुदूरको क्षितिजमा
रहस्यका झिलिमिली
झिल्कासँग
असङ्ख्य झिल्काका
झिलिमिली रहस्यसँग
सृष्टिको चोखो मुस्कान
साटिरहेकी लद्दाख१
तिम्रा
कोमलरकञ्चन खेलहरू
भत्किएका छन् अहिले
तिम्रा स्वस्फुर्त
अन्तरा अन्तराहरू
चकित भएका छन् अहिले
दुई अतिवादी
जङ्गली आस्थाका
सेनाले
बुट बजारेका छन्
तिम्रा छातीमा
एउटा
माथिबाट उफ्रन्छ तल
अर्को तलबाट
चिथोरिन्छ माथि
-रामको नाममा
-सीताको नाममा
कपुर सल्काएर
वासना छर्नुपर्ने
एउटा
धार्मिक अतिवादी पण्डा
राफाल चढेर
तिम्रा छातीमा
क्षेप्यास्त्र छाडिरहेछ
-कार्लमाक्र्सको नाममा
-एञ्जेल्सको नाममा
विराट् विश्व
साझा सम्पतिको
चौडा चिन्तन जन्मेर
कल्पवृक्ष फैलनु पर्नेमा
अर्को
निरङ्कुश साम्यवादी शासक
बाक्लो सिरक ओढेर
चिनूक अनुसन्धानको
पछिल्तिर
जगुवार विमानका पङ्खामुनि
छुपेर
दिन होस्
वा रात
जाडो होस्
वा प्रचण्ड बाफ
मारक क्षेप्यास्त्रका
निशाना दागिरहेछ
हेर्यौ भने तिनलाई
आँखा झिल्किन्छन्
-बारुदले
चुपचाप
लम्पसार पर्यौ भने
छाती चिरिन्छन्
-बुटका काँटीले
-क्षेप्यास्त्रका प्रहारले
बम
र बन्दुक त
पचाई सके
-तिम्रा छातीले
-तिम्रा तनमन दुवैले
राडारका निशाना
माथिबाट ताकिदै
कहिले
-चितायानले
बाल्छ आगो
तिम्रा बरफमा
कहिले
जमीन ट्र्याङ्करले
निशाना ताक्छ
तिम्रो
हिउँजस्तो पग्लने शरीरमा
लद्दाख!
धार्मिक अतिवादी पण्डा
र निरङ्कुश साम्यवादी मुण्डाका बिच
तिमी
-चिथोरिएर भए पनि
-फहरिएर भए पनि
-मरेर भए पनि
-मारी बाँचेर भए पनि
उद्दीप्त!
उद्दाम!!
मानवताकी शिखर
सधैँ
सौम्य!
सधैँ
शान्त!!
सधैँ
मानवताको बुध्दविश्वासमा
धार्मिक अतिवादका पण्डा
र निरङ्कुश साक्यवादी
अतिवादका
बुख्याँचा मुण्डासँग
विजयको
लुकामारी खेलिरहिछ्यौ
बादल ओढेर
-बादलमै
पहाड अग्लेर
-पहाडमै
बरफ चिस्याएर
-बरफमै
पत्थर जमाएर
-पत्थरमै
हिमाल पगालेर
-हिमालमै
८
गद्य कविता
"प्रकृति र मान्छे"
कमला महत
सौन्दर्यकी
खानी
दुर्लभ क्षणहरूमा पनि
चर्म चक्षु
तथा
दिव्य चक्षुले
अनुभव गर्न सकिने
तिमी प्रकृति
आहा१
अनि
म
मान्छे
सौभाग्यले
तिम्रा यी अनुपम
आभाहरुमा
रम्नुको आनन्द१
स्वयं सृष्टिकर्ता ब्रम्हा
र
पालनकर्ता
विष्णु समेत
पटक
पटक
धर्तीमा
अवतरणका
मौकाहरु
हेरिरहेकाछन्
र त
कहिले
अमृत वर्षा
कहिले
करोडौँ ध्वनीहरू
गुञ्जित भएकाछन्।
तिमी
विविध
अलंकारहरूले
सुशोभित
केवल
यो अनुभव
म गरिरहेछु।
हरेक दिन
हरेक साँझ
मनको बगैँचामा
सुन्दर फूलहरू
फुल्ने गर्छ
अनि
म जीवनको
रङ्ग घोलेर
तिम्रो साथमा
रमाउन चाहन्छु।
जीवन
मार्गका काँढाहरु
पन्छाउँदै
सुकीलो
सपनाहरू देख्न चाहन्छु।
तिमी र म
अन्योन्याश्रित
सम्बन्धमा बाँधिएका
युगौँयुग सम्म
तिम्रो स्वच्छन्दतामा
रम्दै
म आफूलाई
तिमीमा
समाहित गर्न चाहन्छु
यो विषाक्त
भूमरीबाट
दिनको उज्यालो सँगै
सन्ताप
मेट्न चाहन्छु
तिम्रै स्वाभिमानका
फाँटहरूमा
आनन्दले निदाउँन चाहन्छु
म त
नदी जस्तै
कञ्चन
तिम्रो गर्भमा
गर्वले रम्ने
जिजीविषा लिएर
बाँचेको छु
केवल
तिमी र म
धन्य तिमी!
तिमी छौ
र
त म छु!
हरि ॐ । सबै नेपालीको जय होस् । हामी नेपाल भित्र र बहिर रहेका नेपाली मिली नेपाली पहिचानलाई विश्वका हरेक समुदायमा युग युग सम्म जीवन्त र दिगो राखन सकौं ।
यो बिनोद स्पनदन जीको संयोजनमा सुरुवात भएको नेपाली साहित्यकार समूहलाई १०० औं अंक पुगेको अवसरमा हार्दिक बधाई छ।
"हाइकु"
मानव चेष्टा
कृत्रिम प्रकृतिको
नरसंहार
यन्त्र भित्रको
कृत्रिम बुद्धिमत्ता
प्रकृति रुदै
डुङ्गाको आगो
मानब सभ्यताको
नबिर्सौं गुन
प्रकृति मायाँ
कृतिम यन्त्रबाट
लाउँने छैन
ऋण तिरोस
मानव प्रकृतिको
दूधको भारा
पुरु सुबेदी
केही हाइकुहरू
१)
धाराको पानी
पोखरीमा पोखियो
रित्तो जवानी ।
२)
तल पोखरी
माथि दुई टाँकुरा
तिर्खालु आँखा ।
३)
गहिरो कुवा
पहाडको खोचमा
अप्ठ्यारो बाटो ।
४)
असलो माछो
छट्पटाइ रहेछ
पोखरी खोज्दै ।
५)
बाँझो खेतमा
उमार्नु छ आँकुरा
चुनौती रोप्दै
६)
रित्तो ताप्केमा
अनिकाल पाक्दैछ
चिसो चुलोमा१
७)
घामको झुल्को
कोठा भित्र छिरेछ
तमासा हेर्न ।
८)
नदी किनार
परस्पर विरोधी
हुन्न मिलन ।
९)
वादल भित्र
लुकेको त्यो घामले
बाटो बिरायो ।
१०)
कस्तो अचम्म
लुकामारी खेल्दैछ
आगो र पानी ।
वासुदेव ठकुरी
"हाइकु"
उदासी पन
शान्तिको खोजी गर्दै
विवेकी मन
बञ्जर धर्ती
दविएका आवाज
अध्यात्म अर्ति
मौसमी छल
याम विशेष घाम
सुगन्धि पल
यो दीपावली
कोरोनाको कहर
खै खुशीयाली
आँखाको आँसु
विवस दिनहरु
सुखको सामु
८कमला महत
केही बाछिटा ।
ईर्ष्यालु धूर्तता
मानिस सर्प बाजको कृत्य
विषालु मूर्तता
आँधीको पार्श्वमा
नृत्य बस्तीमा हिंसाको जालो
व्याधिको विश्वमा
चिन्तामा भद्रता
डुब्नेको यात्रा व्यक्तित्व शैल
चितामा शुभ्रता
ञ्अमर त्यागीञ्
केहि बाछिटा
जूनको श्रद्धाले
छ शीतलता ढाकिन्छ दोष
गुनको पर्दाले
धनको आशाको
अन्तर द्वार अमर प्रेम
मनको प्यासको
जीतको विकृति
कर्तव्य पथ जीवन दृष्टि
हितको सुकृति
कमला महत
"बाछिटा"
विवाह प्रीतको
बन्धन जन्म सुरत एक्का
सम्बन्ध जीतको
मेवाको मायाको
सुस्वादु प्राप्ति रूप शीतल
सेवाको छायाको
यौवन धर्तीमा
फुल्दा रङ्गिन शोभित सारा
जीवन प्रीतिमा ।
चन्चल निर्दोष
मनको माया फूलको बास्ना
हल्चल सन्तोष
समाज विकृति
स्वसभ्यताको बन्दैछ आज
आवाज संस्कृति
विवाह रहर
सुसभ्यताको पुरा नहुँदा
प्रवाह कहर
छ्न्द कविता
वन्दना जोशी
सदा मानूँ मान्ने जन म नबनूँ तुच्छ मनको
नहूँ चर्को बोल्ने अधम शठ वा दम्भ धनको
बनून् वासन्तीझैँ सुमधुर सफा शब्द सगर
सबैमा देखाऊँ नियमित म सद्भाव लहर !!१
पढूँ लेखूँ देखूँ सुमधुर सबै काव्य लहर
बनूँ काव्यश्लाघी सरल र सफा कञ्चन शिर
पिऊँ पढ्दा पढ्दै सकल रसिला काव्यसुषमा
नहोस् आत्मश्लाघा नियमित रहूँ काव्य घरमा !!२
बुझूँ हेर्दा हेर्दै कमसल सबै अब्बल बनून्
बसूँ गम्दै पढ्दै अमर कविता व्यञ्जन न हुन्
मिठो मानी चाखूँ रसमय सुधा प्राप्त ललना
अझै ऊर्जा आओस् हरपल बुझूँ वेद सुषमा !!३
नथाकोस् उम्दा होस् सललल बगून् शब्द लहर
बनून् आभा जस्तै झरर झरना सौम्य प्रहर
बनूँँ पढ्दा मौनी तपरत लतावृक्ष सरिको
बनूँ व्याख्या गर्दा हिमशिखरका वायु सरिको !!४
सबै प्राणीलाई विनयसित राखूँ म ममता
ननाघूँ आस्था यो विचलित नहूँ सभ्य दृढता
बनोस् प्यारो लागोस् भुवन दिलसद्भाव भरियोस्
नहोस् ग्लानी भागोस् परपर सरोस् चिन्तन झुमोस् !५
हरिप्रसाद रिमाल
छन्द वसन्ततिलका
जो भ्रष्ट छ त भ्रष्ट छन्
यो संविधान अनुसार चलेन देश ।
यो राजनीति हुन गो किन आज ठेस ।
सोझा मनुष्य तिर मात्र चले छ चेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(१)
यो राजनीति किन हुन्छ सदा जुधाई ।
ठूलो भयो पद यहाँ मनको रुवाई ।
धान्ने छ जो पद निदाल बनी अडेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(२)
व्यापार झैं हुन गयो अब राजनीति ।
मान्छे समेत किन बेच गरिन्छ साथी ।
गोटी समान जब सांसद बन्छ चेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(३)
ल्यायौँ नि तन्त्र उपयुक्त भनेर खोक्थे ।
नानाथरी गफ गरेर बजेट तोक्थे ।
जे तन्त्र मन्त्र जपियो न कुनै छ बेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(४)
कैले निकास म गरौँ छ करोड खास ।
त्यै हात पार्दछु छिटो अनि बन्छ बास ।
भन्दै सदा नजर बन्न गयो चरेस ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(५)
जोगी कमण्डलु लिदै कति घुम्न जान्छन् ।
भर्दै कमण्डलु कतातिर बाड्न लान्छन् ।
थप्दै गए ऋण यहाँ ऋण बोक्छ देश ।
जो भ्रष्ट मानिस उही हुन जान्छ बेस ।
(६)
तोयानाथ सुवेदी
नारी
म नारी धराकी छहारी अमूल्य
बुझेमा म साँच्चै हिरा रत्नतुल्य ।
म संसार एक्लै हिँडेकी छु बोकी
गरी सृष्टि नौलो रहेकी छु चोखी ।।
म आमा र काकी भएकी छु तिम्री
म पत्नी कसैकी र बैनी हुँ राम्री ।
म नाता बिनाकी रहेकी कहाँ छु
म पीयूष छर्दै छु आफू जहाँ छु ।।
अझै हेप्न खोज्छन् जहिल्यै मलाई
कहाँबाट होला र मेरो भलाइ ।
ममा छैन इच्छा कुनै क्रान्ति गर्ने
यहाँ यत्न हुन्छन् सधैँ बाध्य पार्ने ।।
-मिलन कुमार ढुङ्गाना, झापा
छन्दः शालिनी
शीर्षक: विद्यार्थी
विद्यार्थी हौँ, देशका कर्मवीर
खोली बाटो भर्न सक्छौँ विचार
बुझ्छौँ हामी, राष्ट्रको मर्मलाई
देऊ विद्या, शारदे नित्य आई
(१)
खोजी आफ्नै, देशमा शीप आज
झुल्छन् आभा, नित्य प्यारा मिठास
कालो मैलो, दूर गर्दै रमाई
देऊ विद्या , शारदे नित्य आई
(२)
ज्ञानी बन्दै, द्वार खोल्छौँ सुरम्य
गाँस्दै माला ज्ञानको यो सुमान्य
हेर्छन् तारा दिव्यतामा रमाई
देऊ विद्या , शारदे नित्य आई
(३)
सारा जाग्दै सत्यतामा रमेर
आँखा खुल्ने श्रेष्ठ चाला बुझेर
विद्या नै हो विश्वमा शक्तिदायी
देऊ विद्या शारदे नित्य आई
(४)
कमला महत
"मुक्तक"
के दियो के लियो जिन्दगीले, त्यसमा कबै चासो राखिएन
हिसाबमा कमजोर भएपनि, बाँकी कसैको नासो राखिएन
एउटै कुरा सिकें मैले, खुशी जति बाँड्यो उति बढ्छ भन्ने
सुखमा साथ दिन नसकेपनि कसैको दुस्खमा हाँसो राखिएन !
मुक्तक
दाहाल कल्पना
अहिलेको मान्छे चाहिँदा आफूलाई अष्टवक्र भई झुक्छ
अरुको गर्जो टार्नु पर्दा त स्वयम् मुसोको प्वालभित्र लुक्छ
विराट विश्वलाई मुठ्ठीमा राख्न असफल प्रयत्न गर्दै
भीडमा आफूलाई प्रस्तुत गर्दा चुटेको कपासझैं फुक्छ ।
मुक्तक !!
समय अनुसार नयाँ युग नयाँ ज्ञान बढाउनु पर्छ
भुल्नु हुन्न हाम्रो संस्कार र संस्कृति पढाउनु पर्छ
साँच्चै हाम्रा भावी सन्तति असल बनाउने हो भने
आयातित विकृति र विसंगतिको वलि चढाउनु पर्छ
कमला महत
१००औं विशेष शृङ्खला
खुसी दिन नसके पनि दु:ख कसैलाई दिएकी छैन
खियाएँ दस नङ्ग्रा, सित्तैमा कसैको लिएकी छैन
स्वाभिमान सबैभन्दा ठूलो ईश्वर ठानी पूजा गर्छु ,
कसैकोअहंकारको अघि घुँडा टेकेर जिएकी छैन ।
निरू गौतम
मोरङ्ग
मुक्तक
जीवनको चौघेरामा तिम्रो बाटो हेर्दै आएँ
बीच बाटो काँडैकाँडा घुम्ती मोड फिर्दै आएँ
सम्बन्धको तगारोमा रैछ भोटे ताल्चा यहाँ
उच नीच कुसंस्कार कुरीति म झेल्दै आएँ
मीरा ज्ञवाली
मुक्तक
१)
खुलेर बाच्न नपाउने कस्तो संसार बनायो !
टाढाको हार नजिको चोखो प्यार बनायो !
शब्दको प्रहारले मुटु जलाउछ दिनहु मेरो !
बोलीमा चक्कुको जस्तै धारिलो धार बनायो !
२)
जुन फूल रोजे तेसमा किन धार भगवान !
फूलको बनायौ धारिलो हतियार भगवान !
जिन्दगीमा नमर्न सके न बाच्न सके आज !
मलाई किन चाहियो उज्यालो संसार भगवान !
विविधा भारती
ललितपुर
मनलाई अमिलो र धमिलो नपारॅौ!
गुलियो र मिठो भाव मनमा सारॅौ !!
जगतको भलाई गरेर यो जीवनलाई ,
सत्कर्मले जीवन र यो मन सुन्दर पारॅौ
शोभा
सबै साहित्यिक मनहरूमा नमन !
गीत :
आँखामा बस्न यो जिन्दगीमा हजार सपना आए गए
राम्रा सपना अधुरा रहे नराम्रा सपना पुरा भए
गल्तीहरु नै नहुने भए म पनि यहा देउता हुन्थें
चाहेको सबै पुगेको भए भाग्यमानीमा एउटा हुन्थें
मनमा बस्न यो जिन्दगीमा हजार चाहना आए गए
राम्रा चाहाना अधुरा रहे नराम्रा चाहाना पुरा भए
मान्छेको मन हिमाल जस्तो कहिले कहीं अग्ली दिन्छ
पत्थर बन्छु भन्दा पनि त कहिले फेरी पग्ली दिन्छ
कल्पना जस्ता यो जिन्दगीमा हजार कहानी आए गए
राम्रा कहानी अधुरा रहे नराम्रा कहानी पुरा भए
_ सुनिल संगम
गीत :
पर्खी बसेॅ तिमीलाई सप्तकोशी तीर
एकैछिन ढिला हुॅदा मनमा लाग्ने पिर
निर्मोहिको याद बल्झी दुख्ने सधैॅ दिल
देखाउॅन नमिल्ने यो बनेको छ खिल
बोली तिम्रो कोइलीको गुन्ज्यो चिर चिर
एकैछिन ढिला हुॅदा मनमा लाग्ने पिर
दन्कियो झन् दनदनी भै दिलभित्र ज्वाला
भरिदेऊ तिमी आई दिलको प्रेम प्याला
तड्पिएको सधैॅ छु म आउॅन तिमीनिर
एकैछिन ढिला हुदा मनमा लाग्ने पिर
पर्खी बसेॅ तिमीलाई सप्तकोशी तीर
एकैछिन ढिला हुॅदा मनमा लाग्ने पिर
विन्दा पराजुली बराल
गीत:
मेरो माया फूलै फूल तिम्रो भुलै भुल
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
भैयो भेट दोबाटोमा खुसी भयौँ दुवै
मेरो माया अन्धभक्ति चिन्छु भन्छौ खुबै
वारि म छु पारि माया मर्स्याङ्दीमा पुल
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
हरायो नि मेरो माया खोजेँ तिरै तिर
आगो बल्यो मन ढल्यो भित्रभित्रै पिर
तिम्रो नामको सिँदुरले सजाइदेऊ शिर
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
सँगै बसौँ सँगै हाँसौँ जिन्दगी यो साँचौँ
दुःख सुख आधा आधा बाँटी बाँटी बाँचौँ
हाँस्दाखेरि हाँसिदिने रुँदा रुने रुल
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
मेरो माया फूलै फूल तिम्रो भुलै भुल
बोलौँ माया इसाराले हाम्रो दिलै दिल
-ओमकुमारी रानाभाट
काठमाडौं
१०० अंक विशेष रचना गीत
दोहोरी गीत
केटा- फूल जस्तो जोवन तिम्रो कस्लाई साँची बसेकी छ्यौरु
माया मलाई गर्छ्यौकी चिप्लो मात्र घसेकीछ्यौ ?
केटी- तिमी बाहेक यो संसारमा को नै छ र मेरो भन्नु
चोखो माया गर्छु मैले तिमी मेरो राजा बन्नु।
केटा- तिम्रा खातिर आकाशको जून ले भने पनि दिन्छु।
यो ज्यानको छैन पीर खून ले भने पनि दिन्छु।
केटी- हृदयको कुना कुना तिम्रै माया छाएको छ।
निदरीमा उठाउन तिम्रै छाया आएको छ।
केटा- मलाई आश देखाएर दिल अन्तै साटेकी छ्यौ ?
फूल जस्तो जोवन तिम्रो कस्लाई साँची बसेकी छ्यौ ?
केटी- सयौँ जुनी सम्म तिम्रै प्रतिक्षामा हुन्छु गुन्नु
चोखो माया गर्छु सधैँ तिमी मेरो राजा बन्नु ।
केटा- फूल जस्तो जोवन तिम्रो कस्लाई साँची बसेकीछ्यौ ?
माया मलाई गर्छ्यौ की चिप्लो मात्र घसेकीछ्यौ ?
केटी- तिमी बाहेक यो संसारमा को नै छ र मेरो भन्नु
चोखो माया गर्छु मैले तिमी मेरो राजा बन्नु ।
कमला महत
"गजल"
बहर : समीम मुसद्दस् सालिम
रुक्न : 12212 12212 12212
कोही फूल बेच्ने कोही छ बेच्ने पानी अझै।
चुलो बाल्न बेच्नु पर्ने ~~ कतै जवानी अझै।।
अझै कति दिने हो पीडा ~ मलाई दे जिन्दगी।
बचतमा छ बॉंकी मेरो ~~ थोरै खरानी अझै।।
फोटोबाट निस्कि धर्तीको हाल बेहाल भो।
नबस रमिते जस्तो भगवान जानीजानी अझै।।
भुल्यो भनि नभन्नु परदेशीले कतै देश पनि।
यो छाती चिरेर हेर्नुस् छ कति निशानी अझै।।
कलम थाके, थाके लेख्ने र पढ्ने सारा यहॉं।
मेरो सुरु भएको नै छैन यो कहानी अझै।।
बुवाले भने यो सारा जगत देखाउनु भयो।
न मैले बुझें मेरो बाको त्यो लगानी अझै।।
अमरदेव बास्तोला
अर्कान : 221 2122 221 2122
बहर : मुजारे
आशाहरू कुरेका कैयौं बगरहरु छन्
खोज्दै खुशी चुमेका हेर्ने रहरहरु छन्
यो साथ बस्नु पर्ने छ बाचा जिन्दगीको
गाह्रो छ भुल्न पीडा धेरै कहरहरु छन्
बेथाहरू अझै छन् बाँकी भुलेरआऊ
विश्वास खोजिएका कोसौ सफरहरु छन्
बोलेर हेर सच्चा विद्वेषभाव त्यागी
निष्काम चाहनाका धेरै जहरहरु छन्
उस्तै छ चाहना यो प्रेमिल छ जल्छ मन यो
बुझ्नै नचाहने दिल दोषी नजरहरु छन्
कमला महत
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij