२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । करिब तीन घण्टा लामो विवाद र छलफलपछि बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच दुई पटकसम्मको छलफलपछि स्थायी कमिटी बैठक सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नहुने भनेपछि बैठक सुरु हुन सकेको थिएन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको प्रयासपछि प्रधानमन्त्री बैठकमा बस्न राजी भएका हुन् ।
जहाँ ओलीले दाहाललाई आफूविरुद्ध सचिवालयमा पेश गरिएको आरोपपत्र फिर्ता लिए मात्रै बैठकमा सहभागी हुने अडान लिएका थिए ।
ओली-दाहाल संवाद सकिएलगत्तै भीमबहादुर रावल र पम्फा भुसालसहितका सांसद करिब ८० जनाको हस्ताक्षर लिएर राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए । तर शीतल निवासले उनीहरुको निवेदन दर्ता नै नगरी फर्काइदिएको थियो ।
स्थायी कमिटी रोकिएकै अवस्थामा दाहाल फेरि ओलीसँग संवादका लागि पुगेका थिए । जहाँ प्रचण्डको प्रस्ताव र ओली सरकारले ल्याएको अध्यादेश दुवै फिर्ता गरेर समझदारी बनाउने प्रयास भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij