Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

१८ हजार स्थायी शिक्षकको बिज्ञापन ७० दिन भित्रै हुने, आयोगले कसरी गर्दैछ तयारी ?

१८ हजार स्थायी शिक्षकको बिज्ञापन ७० दिन भित्रै हुने, आयोगले कसरी गर्दैछ तयारी ?


  • 6.7K
    Shares

    १८ हजार स्थायी शिक्षकको बिज्ञापन ७० दिन भित्रै हुने, आयोगले कसरी गर्दैछ तयारी ?

    शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ ।  आजको ७० दिन भित्रै सबै काम शुरु हुने बताईएको हो। 

    झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको छ ।

    शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिए । 

    आयोगले पदपूर्ति प्रक्रिया अगाडि बढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सार्वजनिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीको विवरण अद्यावधिक गरिदिन अनुरोध गरेको छ ।

    केन्द्रले शिक्षक सेवा आयोगलाई गत चैत मसान्तसम्मको रिक्त शिक्षकको विवरण पठाएको भए पनि पछिल्लो विवरणसमेत थप गर्न भनिएको आयोगले जनाएको छ । आयोगको आग्रहपछि केन्द्रले आगामी भदौ १० सम्म रिक्त विवरण पठाउन जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । 

    अध्यक्ष रेग्मीले चैत मसान्तसम्म १२ हजार शिक्षकको दरबन्दी रिक्त रहेको विवरण आयोगमा प्राप्त भएको जानकारी दिए । हरेक दिनजसो शिक्षकहरू सेवानिवृत्त हुने भएकाले बढीमा १५ हजारसम्म शिक्षक दरबन्दी रिक्त भएको हुनसक्ने आयोगको अनुमान छ ।

    सार्वजनिक विद्यालयको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी अब यी दरबन्दीको पूर्ति हुनेछ । चार वर्षपछि शिक्षण सेवामा नयाँ शिक्षकको पदपूर्ति हुन लागेको हो ।

    यसअघि २०७४ सालमा आयोगले नयाँ शिक्षकको पदपूर्ति गरेको थियो । यस पटक अस्थायी शिक्षकको व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेकाले सबै पदपूर्ति खुला तरिकाले हुने जनाइएको छ ।

    संविधानले नेपालको विद्यालय तहको शिक्षा प्रणालीलाई आधारभूत र माध्यमिक तहका रूपमा परिभाषित गरे पनि कानुनतः अझै विद्यालय शिक्षाको शिक्षकको पदपूर्ति भने पुरानै हिसाबले भइरहेको छ । 

    पुरानै कानुनअनुसार प्रावि, निमावि, मावि तहकै हिसाबले शिक्षकको पदपूर्ति प्रक्रिया अघि बढाइने जानकारी अध्यक्ष रेग्मीले दिए । 

    आयोगका अनुसार प्रावि तहको जिल्ला र निमावि तथा मावि तहका शिक्षकको प्रदेशगत हिसाबले विज्ञापन गरिनेछ । निमावि र मावि तहमा विषयगत हिसाबले विज्ञापन गरिन्छ भने प्रावि तहमा भने विषय छुट्याइँदैन ।

    यसैबीच आयोगले भदौ महिनाभित्र शिक्षक लाइसेन्सको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । नयाँ जनशक्तिलाई शिक्षण पेसामा भित्र्याउन सहज होस् भनेर शिक्षक लाइसेन्सको परीक्षा लिइने भएको हो ।

    शिक्षक सेवा आयोगले सञ्चालन गर्ने स्थायी शिक्षकको पदपूर्तिका लागि उम्मेदवारले शिक्षक लाइसेन्सको परीक्षा पास गरेको हुनुपर्ने प्रावधान छ ।  नयाँ जनशक्तिलाई सेवा प्रवेश गर्न सहज होस् भनेर पहिला शिक्षक लाइसेन्सको परीक्षा गरेपछि मात्र शिक्षकको नयाँ पदपूर्ति गर्ने योजना बनाइएको अध्यक्ष रेग्मीले जानकारी दिए । प्रावि, निमावि र मावि तहमा लाइसेन्स वितरण गरिनेछ । 

    परीक्षार्थीको भौतिक उपस्थितिमै शिक्षक लाइसेन्सको परीक्षा गरिनेछ । कोरोना भाइरस सङ्क्रमणको पछिल्लो अवस्था हेरेर परीक्षाबारे निर्णय गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । प्रविधिको माध्यमबाट परीक्षा गर्ने अवस्था भने विकास भइसकेको छैन । यस विषयमा आयोगमा छलफल भइरहेको छ ।

    यसैबीच आयोगले झन्डै तीन हजार शिक्षकको बढुवा प्रक्रिया अगाडि बढाउने भएको छ । आयोगमा हाल दुई हजार सात सय शिक्षक दरबन्दीमा बढुवा गर्नुपर्ने विवरण प्राप्त भएको छ । 

    यसमा गत चैत मसान्तदेखिको तथ्याङ्क थप हुँदा यो सङ्ख्या तीन हजारको हाराहारीमा पुग्ने अनुमान आयोगको छ ।

    नयाँ शिक्षकको पदपूर्तिका लागि सिफारिस, शिक्षकको बढुवा र शिक्षकको लाइसेन्स परीक्षा सञ्चालन गर्नु नै आयोगको मुख्य जिम्मेवारी रहेको अध्यक्ष रेग्मीले स्पष्ट पारे। 

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - १२:५५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij