२०८२ मंसिर १५ गते सोमवार
काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरुपणपछि पार्टीबिहीन बन्न पुगेका नेता महन्थ ठाकुरले सर्वोच्च अदालतबाट न्याय पाउने सवालमा आफू आशावादी रहेको उल्लेख गर्दै अध्यक्ष उपेन्द्र यादव समूहसँग आक्रोश पोखेका छन्।
जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका ठाकुरले न्याय पाउनेमा आशावादी रहेको बताउँदै यादवप्रति कडा आक्रोश पोखेका हुन्।
ठाकुरले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। अदालतले यस सम्बन्धमा जसपा अध्यक्ष यादव र निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेको छ।
अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरी कारण देखाऊ आदेश जारी गरेलगत्तै एक वक्तव्य जारी गर्दै ठाकुरले उपेन्द्र यादव समूहका कारण पार्टी छिन्नभिन्न भएको आरोप लगाएका हुन्।
आफूले उपेन्द्र यादवले नेतृत्व गरेको समूहलाई राजनीतिक रुपमा उद्धार गरेको तर अहिले धोका पाइएको ठाकुरले वक्तव्यमा लेखेका छन्।
निर्वाचन आयोगले जसपाको आधिकारिकता दिएपछि उपेन्द्र यादव पक्षले गल्ती स्वीकार गरेर आत्मालोचना गरे पार्टीमा स्थान दिन सकिने भनी आफ्नो पक्षलाई उर्दी जारी गरेकोमा पनि ठाकुरले आक्रोश पोखेका छन्।
उनले मधेशी जनताको अधिकार र हितमा गरेको कामलाई अपराध र गल्ती भन्ने हो भने यस्ता अपराध बारम्बार गर्न तयार रहेको जवाफ यादवलाई दिएका छन्।
उनले यादवलाई ६ वटा प्रश्न गर्दै अपराध गरेको भए यस्ता अपराध बारम्बार गर्न तयार रहेको बताएका हुन्।
ठाकुरले यादवलाई सोधेका छन्, ‘के आन्दोलनकारीहरु माथि लागेको मुद्दा फिर्ता तथा बन्दी रिहाई गराउनु गल्ती हो, के मधेशी अधिकारको लागि लड्ने एउटा पार्टी (समाजवादी पार्टी)फुट्दै गर्दा आफू जोखिम मोलेर पनि पार्टी बचाउनु अपराध हो, के नागरिकताको लागि अध्यादेश ल्याउन लगाउनु त्रुटि हो, के संविधान संशोधनको निम्ति कार्यदल बनाउन लगाउनु गल्ती हो, के उत्पीडित जातजाति र समुदायहरुको पहिचान र अधिकारको निम्ति माग मुद्दा सम्बोधन गराउन सरकारसँग सहकार्य गरि दबाब दिनु अपराध हो ?’
उनले अगाडि भनेका छन्, ‘यदि हो भने जनताको हितका लागि यस्ता गल्ती, त्रुटि र अपराध हामी बारम्बार गर्न तयार छौँ।’
ठाकुरले १८ महिना ओली सरकारमा रहेर यादवले मधेसी जनताको अधिकारका लागि सिन्को समेत भाँच्न नसकेको आरोप पनि लगाएका छन्। बरु आफूहरुले ओली सरकारमा १८ दिन मात्रै रहेर मधेसका माग र मुद्दाहरु पूरा गराएको उनले दाबी गरेका छन्।
‘आफू १८ महिना सरकारमा बस्दा माग मुद्दाको सवालमा एउटा सिन्को भाँच्न नसक्नेले हामीले १८ दिनमै माग मुद्दाहरु पुरा गराउँदा हामी तिर औँला देखाइरहेका छन्। अरुलाई एउटा औँला देखाउनेले आफू तिर फर्केका चार औलाँलाई सम्झिनैपर्छ र जनतालाई जवाफ दिन तयार बस्नु पर्छ’, ठाकुरले भनेका छन्।
प्रतिनिधिसभामा राजपाका सांसदहरुले मधेश आन्दोलन लगायतको आन्दोलनका सबै मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता विधेयकमा सहमति लगायतको माग मुद्दा सम्बोधन गराउने उद्देश्यले २२ दिन सम्म संसद लगातार अवरुद्द गर्दाका बखत तत्कालिन संघीय समाजवादी फोरम नेपाल मुख दर्शक भएर बसेको आरोप पनि ठाकुरले लगाएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij