२०८२ मंसिर १२ गते शुक्रवार
सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबारदेखि निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको हो ।
सूचकसँगै कारोबार रकम पनि निरन्तर घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर सवा ४ अर्बमा सीमित भएको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेपछि अल्पकालीन लगानीकर्ताले पूँजी झिकेर अन्य क्षेत्रमै लगानी गर्न थालेपछि कारोबारमा ह्वात्तै गिरावट आएको अनुमान गरिएको थियो । साथै लगानीकर्ता मौद्रिक नीति नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबारमा गिरावट आएको आँकलन गरिएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा आइपुगेको छ । आज २२० कम्पनीको ४ अर्ब २२ करोड ४० लाख १८ हजार २२५ रुपैयाँ बराबरको १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.२ प्रतिशतले बढेको छ । यस्तै, उत्पादनमूलक समूह पनि १ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै १.७३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबारमा आएका २२० कम्पनीमध्ये ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । २३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी २० करोड र नेपाल बैंक १३ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
सामान्य अंकले घटेको बजारमा आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.३१ प्रतिशतले बढेको छ ।
घट्दो बजारमा आज एचआइडीसीएल र तामाकोशीको सेयर मूल्य सबैभन्दा धेरै ५ प्रतिशतभन्दा बढीले घटेको छ । यस्तै, रिडी हाइड्रो ४.११, नेशनल हाइड्रो ३.९३, नेपाल इन्स्योरेन्स ३.५३, राधी विद्युत्, जोशी र विशाल बजार कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij