Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

समाजवादी मित्रहरूमा जिज्ञासा : के भ्यू टावर निर्माणले त्यहाँबाट गरिबका झुप्रा र समस्याहरू देखिन्छन् ?

समाजवादी मित्रहरूमा जिज्ञासा : के भ्यू टावर निर्माणले त्यहाँबाट गरिबका झुप्रा र समस्याहरू देखिन्छन् ?


  • 12.3K
    Shares

    समाजवादी मित्रहरूमा जिज्ञासा : के भ्यू टावर निर्माणले त्यहाँबाट गरिबका झुप्रा र समस्याहरू देखिन्छन् ?

    समाजवादको सन्दर्भमा प्रदिप गिरी, घनश्याम भुषाल र राम कार्कीहरूको प्रवचन युट्युबमा उपलब्ध छन्, तपाईंहरू यी प्रवचन सुनेर आनन्दीत हुन सक्नुहुन्छ  । खासमा हुनुपर्ने चाहिँ आन्दोलित हो । अहिले आन्दोलनको माहोल छैन । यिनका राजनीतिक पृष्ठभुमिमा  विविधता छ । झण्डै पुँजीवादको डिलबाट  झरिसकेको नेपाली कांग्रेस, झर्न लागेको नेकपा एमाले, झर्ने यात्रामा पुच्छर बनेको  एकीकृत नेकपा माओवादीको प्रभावशाली भूमिकामा यी नेतात्रेय छन् । प्रवचनमा मंचबाट यी नेतात्रेयले  आफ्नै राजनीतिक पार्टीको समेत धज्जी उडाएको देखेको छु ।  खिस्सी गरेको सुनेको छु ।

    समाजवादी बिमर्शमा नेपालमा  हाम्रो पुस्ताले थोरबहुत यिनीहरूबाट प्रेरणा लिन सक्छ । हाम्रो पुस्ता राजनीतिक रूपमा खच्चड भएको सन्दर्भमा यिनीहरूलाई सिक्नुपर्ने ऐतिहासिक बाध्यता सिर्जना भएको छ । 

    दुःखको कुरो समाजवाद विद्वत् प्रवचन, गोष्ठी, पत्रिकाको बिचार पृष्ठ, आमसभा आदि इत्यादिबाट चोक, चौतारा, गाउँघर, किसानका  घरदैलोसम्म पुग्न सकेको छैन । समाजवाद र आम मानिसको सामाजिक दुरी कायम भएको छ । समाजवाद  आम जन समुदायलाई चाहिने राजनीतिक ब्यबस्था हो । त्यही समाजवाद चाहिँ बौद्धिक बिमर्शको  बिषयमा मात्र खुम्चिएको छ । यो दुःखलाग्दो कुरा हो ।

    नुवाकोटका मेरो मित्र ज्वालामुखी लामीछाने मेसेन्जरतिर सोधिरहेका हुन्छन् तपाईंले आस्था राख्ने पार्टीले लिएको राजनीति कार्यदिशा बैज्ञानिक समाजवाद भनेको के हो ? बैज्ञानिक समाजवादमा  अर्थनीति कस्तो हुन्छ ? यसको सांस्कृतिक नीति कस्तो छ ? यसमा शासन ब्यबस्था कस्तो हुन्छ ? बैज्ञानिक समाजवादमा त्यही तरिकाको चुनाव हुन्छ कि हुँदैन ? मित्र ज्वालामुखीको यक्ष  प्रश्न उपर दिने राजनीतिक जवाफ मसँग छैन । यसो भन्नु मनासिब होला किनकी पूर्ण जवाफ मसँग छैन । हाम्रो पुस्तासँग छैन । 

    नेकपाले लिएको बैज्ञानिक समाजवाद पनि बिमर्शमै छ । यसले पूर्ण आकार लिइसकेको छैन । यदि लिइसकेको छ भने पनि मलाई जानकारी छैन । नेपाली कम्युनिस्ट आन्दोलनमा बैज्ञानिक समाजवादले  दह्रो डेरा जमाएको छ । ज्वालामुखी जस्तै युवाहरूमा यसको बारे जान्ने उत्कट इच्छा छ । छलफल गर्न तन्नेरीहरू चाहन्छन् । त्यस्तै तन्नेरी म पनि हुँ । हाम्रै पार्टीका साथीहरूलाई लाग्ला यिनीहरू खिस्सी पो गरिरहेका पो छन् कि ? तर कदापि यस्तो होइन ।

    समाजवादको  बिमर्श गरिरहँदा समाजवादको चाह राखेर भएका कम्युनिस्ट आन्दोलनको बिश्व अनुभवलाई पर्गेल्नपर्छ भन्ने लाग्छ । ज्वालामुखीले  भने जस्तै समाजवादको कुरा गर्दा यसको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक बिशेषतामा घोत्लिनुपर्ने हुन्छ । माक्र्स स्वयंले समेत काल्पनिक र बैज्ञानिक समाजवादको भेदको सन्दर्भ लामो ब्याख्या गरे । पुँजी नामक उनको राजनीतिक कृतिले समाजको अर्थराजनीतिक गोरेटोसँगै समाजवादको ठोस ब्याख्या गर्यो ।

    नेता हेमन्त प्रकाश ओली सुदर्शनले एउटा लेखमा माक्र्सलाई उद्धृत गर्दै लेखेका छन् – वैज्ञानिक समाजवाद भनेको के हो ? भन्ने मार्क्सले स्पस्ट पार्नुभएको छ– ‘समाजवाद स्थायी क्रान्तिको उद्घोष हो, यसमा सर्वहारावर्गको अधिनायकत्वले सम्पूर्ण वर्गविभेदको अन्त्य गर्ने, त्यो वर्गविभेद जन्मने सम्पूर्ण उत्पादन सम्बन्धको उन्मूलन गर्ने, त्यो उत्पादन सम्बन्धबाट उत्पन्न सम्पूर्ण सामाजिक सम्बन्धको उन्मूलन गर्ने र त्यो सामाजिक सम्बन्धबाट उत्पन्न सम्पूर्ण विचारलाई क्रान्तिकारीकरण गर्ने संक्रमणकालीन बिन्दुको काम गर्छ ।’ मार्क्सको वैज्ञानिक समाजवादलाई पुरानो भन्ने मानिसलाई दिमाग सड्केको नभनेर के भन्ने ?
    नेता ओलीको उक्त लेख समाजवाद र बैज्ञानिक समाजको सामान्य जिज्ञासा मेटाउने खालको छ । दार्शनिक ढंगले लेख्न सक्ने, मिठो भाषामा बुझाउन सक्ने र आन्दोलनबाटै हुर्केका नेता ओली समकालीन समाजवादी बिमर्शमा एउटा सशक्त प्रतीभा हुन् । 
    नेपाली सन्दर्भमा समाजवाद बुझ्न यहाँको बिशेषतालाई ध्यान दिनुपर्छ भन्ने लाग्छ । 

    १) आर्थिक बिशेषता 
    नेपालको  अर्थतन्त्रको मोडेल दलाल पुँजीवादी खालको छ । बिचौलिया बर्गले पुरै अर्थतन्त्र कब्जा गरेको  छ । यो बर्गले राजनीतिक शक्तिलाई आफ्नो कब्जामा लिन सक्छ । कर्मचारीलाई प्रभावित पार्न सक्छ । अर्थतन्त्र हायलकायल पार्न सक्छ । बहुसंख्यक मानिसहरूको जीवन अत्यन्तै कष्टकर छ । कृषिमा आधारित अर्थतन्त्रले धान्न सक्ने स्थिति छैन । औद्योगिक बिकास हुन सकेको छैन । जो मजदुर हुन्, तिनीहरूको जीवनमा घाम लाग्न सकेको छैन ।
    लाखौं युवाहरू वैदेशिक रोजगारको सिलसिलामा देश छोड्न बाध्य छन् । अर्थतन्त्र निर्माणको ठुलो हिस्सा रेमिटान्सले धानेको छ । गन्ने नै  हो भने दसजना बिचौलियाको हातमा  आधा अर्थतन्त्रको  ताला चाबी छ । दलाल पुँजीवादको विकल्पमा  आउने बैज्ञानिक समाजवाद कस्तो हुन्छ ? बिमर्श चाहियो ।

    २) राजनीति 
    संसदीय ब्यबस्थाको राजनीतिक चरित्र दलालहरू भन्दा बाहिर हुन सक्दैन । जबजको हामी आलोचना गर्छौं । जबजले प्रतिस्पर्धामा आधारित बहुदलीय जनवादको कुरा गर्यो । बहुदलमा आधारित राजनीतिक प्रणालीमा कुन बर्ग हावी हुन्छ – स्पष्ट छ  शोषक वर्ग । यसैले जबज अपुरो छ भनिएको हो । कतिपय यसलाई संशोधनवाद पनि भनेका छन् ।
    आर्थिक उदारीकरण, खुल्ला बजार, ब्यक्तिगत स्वतन्त्रता, सिण्डिकेटतन्त्रले राजनीतिलाई कब्जा गरेको छ । लोकतन्त्र प्राप्तीपछि कमरेड बिप्लवले भने जस्तै राजनीति कसको कब्जा गयो ? को रातरात अर्बपती बने ? स्पष्ट छ गरिखाने बर्गको निम्ति लोकतन्त्रले स्पेस दिन सकेन । राजनीतिक रूपमा दलाल पुँजीवाद नै राजनीतिक चरित्र बन्यो । यसको विरुद्ध आउने समाजवाद कस्तो हुन्छ ? थाहा चाहियो ।

    ३) संस्कृति 
    संस्कृतिले धेरै कुरा बोध गराउँछ । संस्कृति जीवनपद्धतिको  अभिन्न अंग हो । यसैले समाजवादमा संस्कृति महत्त्वपूर्ण छ । जीवनलाई निराशाको भड्खालो हाल्ने संस्कृति होइन जीवनमा आशा, सम्भावना, समृद्धि दिने संस्कृति चाहिन्छ । समाजवादमा त झन् उन्नत संस्कृति आवश्यक होला ।
    संस्कृतिले कुन बर्गको सेवा गर्छ भन्ने प्रश्न मुख्य हो । हाम्रो चलचित्र, हाम्रो कला, साहित्य, गीत संगीत आदी कसको पक्षमा छ ? समाजवाद संस्कृति कस्तो हुन्छ ? थाहा चाहियो ।

    ४) सूचना प्रविधि 
    पछिल्लो समय सूचना प्रबिधिको सन्दर्भमा बृहतर बहस भएको छ । सूचना प्रबिधिले आजको क्रान्तिको मोडेल बदलिदिएको छ । सूचना प्रविधिले  दुनियाँलाई ग्लोबल भिलेजमा बदलिसकेको छ । एकखाले मानिसहरूको बुझाइ छ सूचना प्रबिधि पुँजीवादहरूकै कब्जामा छ यसैले क्रान्तिकारीहरूले त्यही अनुसार कार्यनीतिको बिकास गर्नुपर्छ । अर्कोखालको मानिसहरू सूचना प्रवृधि साधन भएकोले यसलाई उपयोग गर्न सक्ने ब्याख्या गरिरहेका छन्  । समाजवादमा सूचना प्रवृधिलाई कसरी लिइन्छ ? थाहा चाहियो ।

    माथिका प्रश्नहरू महत्त्वपूर्ण छन् भन्ने लाग्छ । किनकी आजको दुनियाँ भुमण्डलीकृत पुँजीवादको कब्जामा छ ।   साम्राज्यवाद त्यसकै अवतारमा अभिब्यक्त छ । लेनिनले साम्राज्यवादलाई मरणसन्न पुँजीवाद भनेका छन् । यो मरासन्न पुँजीवाद विरुद्ध आजको कम्युनिस्ट आन्दोलनसँग लड्ने योजना के छ ? 

    संविधानप्रदत्त समाजवाद डोजर, ढुङ्गाखानी, क्रसरदेखि चुरेबिनाससम्म आइपुगेको छ । संविधानप्रदत्त समाजवादले भ्यु टावर निर्माण गरेको छ । के त्यहाँबाट गरिबका झुप्राहरू देखिन्छन् ? समस्याका थुप्राहरू देखिन्छन् ? दिनहीनहरूका ब्यथाहरू देखिन्छन् ?

    समाजवाद पाकेको स्याउ कदापि होइन, जो पाकेपछी आफै झर्छ ? समाजवादको लागि लामो संघर्ष आबश्यक छ । हामीलाई आजको पुस्ताले बुझ्ने भाषामा समाजवादको परिभाषा चाहिएको छ । त्यतिमात्र होइन समाजवादको लागि लड्ने पुस्ताको निर्माण गर्नुछ हामीले ।

    प्रकाशित मिति :आषाढ १६ २०७८ बुधवार - ११:०९:४० बजे
    प्रतिक्रिया

    रसुवाली कवि

    writer

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij