२०८२ भाद्र ७ गते शनिवार
संचारकर्मी रूपा सुनारले कोठा खोज्ने क्रममा जातीय बिभेदको सिकार भएपछि सामाजिक संजालमा कोठा कि कोटा भन्ने दोहोरी चलेको छ । जातीय समाजमा उपल्ला भनिने ब्राह्मणहरू उनले कोठा पाइनन् हामीले कोटा पाएनौं भनेर रोइलो गरिरहेका छन् । तथ्यांक अनुसार जम्मा चार प्रतिशत दलितलाई राज्यको आरक्षण प्राप्त छ । बौद्धिक बृत्तमा यसलाई चार बर्ष पुरानो उत्पीडनको क्षतिपूर्ति को रूपमा अथ्र्याउने गरिन्छ ।
काठमाडौंमा कोठा नपाउनु र बाहुनले पनि कोटाको अपेक्षा गर्नेहरूको दिमाग जातीय रसायनले भरिएको छ भन्न सकिन्छ । तहगत लाभांशको मोजमस्ती उपल्ला जातीले नै गरेका छन् । ठुला अबसर पाउने बाहुनहरूनै हुन् । सिडिओ बन्ने बाहुन हुन् । सचिव पनि धेरै मात्रामा वाहुन नै छन् । मुख्य सचिवको कुर्सीमा बाहुन क्षेत्री नै बिराजमान छन् । यसो भनिरहँदा खरिदार सुब्बा भएका दलितहरूप्रती हेर्ने कतिपय बाहुनवादी साथीहरूको चित्त दुख्न सक्छ ।
आजको संस्कृति, सभ्यता, बिकास र प्रविधिको विकासले गोल भूगोल नै गाउँ जस्तो भइसकेको छ । मानिसहरू मंगल ग्रहमा बस्ती बसाल्ने स्थितिमा पुगिसके । तर हाम्रो समाज चाहिँ तँ सानो जातको म ठूलो जातको भनेर झगडामा अल्झिरहेको छ । छिमेकीले चन्द्रमामा यान पठाउँदा हामी चाहिँ बोक्सी आरोप लगाएर महिलाहरूलाई स्वर्गलोक पठाइरहेका छांै । छिमेकीले बिकासको लहर ल्याउँदा हामी चाहिँ कामीको छोरीलाई कोठा नदिएर बिभेदको बीउ रोपिरहेका छांै । मलाई लाग्छ जाती प्रथा लगायतका विभेद नहुने हो भने दुनियाँमा हामीले प्रगति र उन्नति गर्ने थियौं ।
काठमाडौंमा दलित युवतीलाई कोठा निषेधित गरिएको घटना प्रतिनिधिमुलक घटना मात्र हो । ग्रामीण समाजमा दैनिक रूपमा यस्ता घटनाको सिकार दलितहरू भइरहेका छन् । रुकुम घटनापछि पनि दलितको नाउँमा मारिनेको संख्या घटेको छैन । सामाजिक संजालमा शैक्षिक प्रमाणपत्रधारी बाहुन क्षेत्रीहरूको अरण्य रोदन छ त्यो तल्लो जातको कामी खरिदार भो, म जिम्वालको छोरो हुन सकिन । उसलाई राम्रोसँग थाहा छ, त्यो दलित युवकले कति मेहनत गरेर पढ्यो, कति गरिबीको सामाना गर्यो, समाजले उसलाई कति छिःछी दुरदुर गर्यो ? उसले राज्यले दिएको सामान्य सुबिधा उपभोग गर्दा किन आपत्ति ?
जागिर लगायतका अबसर बर्गीय आधारमा दिनुपर्छ भनिन्छ । बर्गीय आधारमा दिँदा कुन जातको मानिसहरूको हालीमुहाली हुन्छ, तपाई अनुमान लगाउन सक्नुहुन्छ । आज पनि दलितहरू शिक्षाको पहुँचबाट टाढा छन् । विद्यालय पुगेका धेरै दलितहरू दुई चार कक्षा पढेर छोड्न बाध्य छन् । आर्थिक कारण उनीहरू माथिल्ला कक्षाहरू पढ्नै पाउँदैनन् । एउटा कामीको छोरो हँसिया अर्चाप्दै उच्च शैक्षिक तहसम्म पुगेर जागीर खाने स्थिति बनाउँछ भने तपाईं किन चित्त दुखाउनु हुन्छ ? दलित खरिदार बन्दा तपाईंको जात सिडीओ बनेकै छ ।
यसैले कोठा र कोटाको रिदम मिल्दा उस्तै हो भनेर रुञ्चे तर्क नगरौं ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij