Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

लोकसेवाको तयारी कक्षा नलिई एकै पटकमा नाम निकालेका अधिकृतले लोकसेवा पास गर्न दिए यस्ता सूत्र

लोकसेवाको तयारी कक्षा नलिई एकै पटकमा नाम निकालेका अधिकृतले लोकसेवा पास गर्न दिए यस्ता सूत्र


  • 240.5K
    Shares

    लोकसेवाको तयारी कक्षा नलिई एकै पटकमा नाम निकालेका अधिकृतले लोकसेवा पास गर्न दिए यस्ता सूत्र
    images

    रमेश पराजुली

    शाखा अधिकृत,नेपाल सरकार

    मेरो जन्म पर्वत जिल्ला, रानीपानी गाविस बिहादीमा भएको हो । म जन्मेर घरमा सबैभन्दा पहिला हिँड्ने सन्तति हुँ रे ! तर अफसोच ! एक वर्षको हुँदा दुवै खुट्टामा पोलियो रोग लाग्यो । आफ्नै खुट्टाको सहाराले हिँड्ने रहर त्यही २–३ महिनामा सीमित हुन पुग्यो ।

    त्यसयता कि त अरूको सहारामा, कि त बैसाखीको सहारामा, कि त ह्विलचियरको सहायतामा हिँडिरहेको छु । एसएलसीसम्मको पढाइ नवलपरासीको गैँडाकोटबाट गरेँ । कक्षा ११ र १२ विज्ञान विषयमा नेसनल इन्टिग्रेटेड कलेज, डिल्लीबजारबाट पास गरेँ । मेरो रुचि कम्प्युटर साइन्स पढ्ने वा मेडिकल डाक्टर बन्ने थियो । तर, घरबाट समर्थन भएन ।

    रसायन शास्त्र प्रमुख विषय लिई स्नातक तथा स्नातकोत्तर (केन्द्रीय रसायन शास्त्र विभाग) उच्च डिभिजनमा उत्तीर्ण गरेँ । म जीवनमा धेरै कम पटक दोस्रो भएको छु । पढाइमा मात्र होइन, स्कुलमा हुने विभिन्न बौद्धिक क्रियाकलापमा पनि म प्रायः प्रथम हुन्थेँ ।

    - लोकसेवाप्रतिको आकर्षण

    ठूलो दाजु लोकसेवा पास गरेर स्वास्थ्य सेवातर्फ उप–स्वास्थ्यचौकीमा अहेव इन्चार्ज हुनुभयो । त्यही वेला हो, मैले पहिलोपटक लोकसेवा भन्ने सुनेको । स्नातकोत्तर पढ्न दिदी–भिनाजुसँग कीर्तिपुर बस्थेँ । दिदी–भिनाजुको नयाँबजारमा पुस्तक तथा स्टेसनरी पसल थियो । फुर्सदको समयमा त्यो पसलमा बस्थेँ । सबैले लोकसेवाको पुस्तक किन्ने, पढ्ने गरेको देख्दा मलाई लोकसेवाप्रति आकर्षण बढेको हो ।

    - लोकसेवाको तयारी

    मेरो लोकसेवाको तयारी निकै छोटो भयो । मुस्किलले पाँच महिना तयारी गरेँ । आजसम्म मैले ट्युसन पढेको छैन । त्यसकारण लोकसेवाका तयारी कक्षा त जाँदै गइनँ । स्नातकोत्तरको शोधकार्य चल्दै गर्दा मैले सहायक रसायनविद् (प्राविधिक नासु)को जाँच दिएको थिएँ ।

    जम्मा ५० पूर्णांकको परीक्षामा मैले बल्लतल्ल ४२ वटा प्रश्नको उत्तर मिलाएको थिएँ । तर, धेरै जनाले सम्पूर्ण ५० प्रश्नकै सही उत्तर दिएको भन्दै थिए । मैले आशा मारेको थिएँ । त्यसपछि लगातार पाँच महिनाबीच नासु (अप्राविधिक) र शाखा अधिकृतको परीक्षा दिएँ । सबैभन्दा पहिले सहायक रसायनविद्को नतिजा आयो ।

    मेरो नाम दुई नम्बरमा सिफारिस भई पुरातत्व विभागमा नियुक्ति दिइएको थियो । मैले प्रशासनतर्फ शाखा अधिकृतका लागि पनि लोकसेवा परीक्षा दिएको थिएँ । मंसिरमा अधिकृतको नतिजा प्रकाशित भयो । म ८९ नम्बरमा सिफारिस भएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन हो ।

    आजसम्मको जागिरे अनुभव ज्यादै सुखद छ । मैले निजामती सेवामा प्रवेश गरेपछि धेरै खालको स्वतन्त्रताको अनुभव गरेको छु । धेरै नयाँ साथीहरू, नौलो ज्ञान हासिल गर्ने मौका पाएको छु ।

    - मेरो पढ्ने शैली

    मेरो पढ्ने शैली त्यस्तो भिन्न छैन । सुरुमा एकचोटि आद्योपान्त पढ्ने गर्छु, जसले गर्दा किताबमाथिको एक प्रकारको विहंगम दृष्टिकोण प्राप्ति हुन्छ । त्यसपछि प्रत्येक पेज, प्रत्येक अनुच्छेद, प्रत्येक हरफ गहिरिएर पढ्छु । महत्वपूर्ण कुरा टिपोट गर्छु । प्रत्येक कुरा इन्टरनेट, जानकार वा अन्यसँगसमेत पुनर्पुष्टि गर्छु । मैले जम्मा एउटा प्रथम पत्रको किताब, एउटा द्वितीय, एउटा तृतीय अनि एउटा चतुर्थ पत्रको किताब किनेको थिएँ ।

    धेरै किताब थुपारेर धेरै जानिन्छ भन्ने लाग्दैन । म थोरै पढ्छु, तर गहिरिएर पढ्छु । बुँदागत टिपोट गर्छु । र, नहेरी ती बुँदा लेख्न कोसिस गर्छु । म हरफ–हरफ घोक्न सक्दिनँ । हरेक अनुच्छेदका महत्वपूर्ण शब्द मात्रै घोकेर बाँकी आफ्नै शैलीमा लेख्ने मेरो बानी छ ।

    - जागिरे अनुभव

    आजसम्मको जागिरे अनुभव ज्यादै सुखद छ । मैले निजामती सेवामा प्रवेश गरेपछि धेरै खालको स्वतन्त्रताको अनुभव गरेको छु । धेरै नयाँ साथीहरू, नौलो ज्ञान हासिल गर्ने मौका पाएको छु । अवसरका विकल्प अनि त्यसका आयाममा हुने बढोत्तरीले जीवनलाई बुझ्ने छुट्टै धरातल उपलब्ध गराउँदो रहेछ । निजामती सेवा प्रवेशले जीवनको महत्वपूर्ण अस्तित्वको ज्ञान हुँदै गर्दा सामाजिक पहिचान वृद्धि भएको महसुस गरेको छु ।

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १०:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij