Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

संघीय संसदमा ३६ विधेयक विचाराधीन, निजामतीसहित सात नयाँ विधेयक दर्ता

संघीय संसदमा ३६ विधेयक विचाराधीन, निजामतीसहित सात नयाँ विधेयक दर्ता


  • 477
    Shares

    संघीय संसदमा ३६ विधेयक विचाराधीन, निजामतीसहित सात नयाँ विधेयक दर्ता
    images

    काठमाडौं ।  संघीय संसद्का दुवै सदनमा ३६ वटा विधेयक विचाराधीन रहेका छन्। तीमध्ये प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा मात्रै २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

    सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभाका आठ विषयगत समितिमा विधेयकहरू विचाराधीन छन् भने राष्ट्रिय सभाका कुनै पनि समितिमा हाल विधेयक विचाराधीन छैनन्। यसैबीच, संघीय निजामती सेवा विधेयक, २०८३ सहित सात नयाँ विधेयक दर्ता भएका छन्।

    प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सबैभन्दा बढी पाँचवटा विधेयक विचाराधीन छन्। अर्थ समितिमा चारवटा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन-तीनवटा विधेयक विचाराधीन रहेका छन्।

    त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दुईवटा, राज्य व्यवस्था तथा सुशासन समितिमा दुईवटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको सचिवालयले जनाएको छ।

    समितिहरूमा विचाराधीन विधेयकमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फर्छ्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक तथा खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकलगायत छन्।

    प्रवक्ता गिरीका अनुसार प्रतिनिधिसभाबाट पारित भइसकेको राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन नरहेको उनले स्पष्ट पारे।

    अधिवेशन अन्त्यपछि थप ६ विधेयक दर्ता
    संघीय संसद्को अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को अधिवेशन अन्त्य गरेका थिए।

    अधिवेशन अन्त्य भएपछि थप ६ वटा विधेयक दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए। यससँगै नयाँ दर्ता भएका विधेयकको सङ्ख्या सात पुगेको छ।

    अधिवेशन अन्त्यपछि दर्ता भएका विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, भवन (दोस्रो संशोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक रहेका छन्।

    यी विधेयकहरू दर्ता भए पनि संसद्को अधिवेशन सञ्चालनमा नरहेकाले सभामा प्रस्तुत हुने प्रक्रिया अघि बढ्न बाँकी छ।

    दुई विधेयकका समितिगत प्रतिवेदन तयार
    संसद् सचिवालयका अनुसार सभामा प्रस्तुत भएर मात्रै विचाराधीन रहेको एउटा विधेयक छ। डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए।

    त्यस्तै, संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ माथि सम्बन्धित समितिले प्रतिवेदन तयार गरी सभामा पेस गरिसकेको छ। उक्त विधेयक हाल सभामा विचाराधीन छ।

    नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकको पनि समितिगत प्रतिवेदन तयार भई संसद् सचिवालयमा प्राप्त भएको छ। उक्त विधेयकको प्रतिवेदन सभामा पेस हुन बाँकी रहेको सचिवालयले जनाएको छ।

    १२ विधेयक प्रमाणीकरण, ६ सन्धि तथा महासन्धि पारित
    प्रवक्ता गिरीका अनुसार यस अवधिमा संघीय संसद्का दुवै सदनबाट पारित भएका १२ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्।

    त्यस्तै, संसद्मा पेस भएका ६ वटा सन्धि तथा महासन्धिसमेत पारित भएका छन्।

    संसद् सचिवालयले विधेयकको दर्ता, समितिगत छलफल, प्रतिवेदन तयारी, सभाबाट पारित तथा प्रमाणीकरणसम्मका प्रक्रियाको विवरण सार्वजनिक गर्दै विचाराधीन विधेयकहरूलाई आगामी छलफलबाट टुङ्गोमा पुर्‍याउने तयारी भइरहेको जनाएको छ।

    दशैँ बिदापछि विधेयकमाथिको छलफल अघि बढाउने तयारी
    संसद् सचिवालयका अनुसार दशैँ बिदाअघि प्रतिनिधिसभाका विभिन्न समितिमा केही विधेयकमाथि दफावार छलफल भइरहेको थियो भने केही विधेयकमा सैद्धान्तिक छलफल सुरु गरिएको थियो।

    बिदापछि ती विधेयकमाथिको छलफललाई निरन्तरता दिँदै समितिगत प्रक्रिया टुङ्ग्याउने तयारी गरिएको छ। सचिवालयले समितिमा विचाराधीन विधेयकहरूलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल अघि बढाउने जनाएको छ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १५:३७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij