Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै


  • 596
    Shares

    नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
    images

    काठमाडौं । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ ।

    देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिए । 
     
    मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । 

    चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । 
      
    चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवम् ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए ।  

    चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत संगीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने उनले सुनाए । 

    नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । 

    घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराणमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । 
       
    घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ ।

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - ०७:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij