२०८२ भाद्र २५ गते बुधवार
कैलाली । कैलालीमा आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
बलात्कारपछि छोरीको हत्या गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–२ बघनियाका ५१ वर्षीय बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।
१० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
गत जेठ २७ गते बालिका आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको मृत्यु शंकास्पद देखिएपछि शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो । पोष्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको देखाएको छ ।
घटनापछि विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरी हत्या गरको पाइएको विष्टले बताए । ‘आफ्नो अपराधको पोल खुल्ने डरले उनले बलात्कारपछि बालिकालाई झुण्ड्याएर मारेको अनुसन्धानका क्रममा खुलेको छ,’ विष्टले भने ।
उनीविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा कैलाली जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij