२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । रास्वपा बरिष्ठ नेता बालेन शाहसँग भने कुराकानी/भेटघाट पुष्टि भएको छैन ।
यसअघि प्रचण्ड र बालेनबीच भेटघाट भएको समाचार सार्वजनिक भएको थियो । तर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बालेनसँग भेटघाट भएको भनेर आएका समाचार सत्य नभएको बताए ।
प्रचण्डको स्वकीय सचिव समेत भइसकेका आचार्यका अनुसार प्रचण्ड र रविबीच चुनाव जितिसकेपछि मोबाइल फोनमा कुराकानी भएको थियो । त्यसक्रममा चुनाव जितेकोमा एकअर्काले बधाई दिएका थिए । त्यसबाहेक अरु केके कुरा भयो भन्ने खुलेको छैन ।
‘बालेनसँग भेटेको भन्ने कुरा सत्य होइन । रास्वपा सभापति रविजीसँग भने मोबाइलमा कुराकानी भएको हो,’ आचार्यले भने, ‘उहाँहरुले चुनाव जितेकोमा एकअर्कालाई बधाई दिनुभयो । त्यसबाहेक अरु कुराकानी केही भएन ।’
पछिल्लोपटक बालेनका बुवा रामनारायण शाहको निधनमा समवेदना व्यक्त गर्न उनकै घर पुगेका बेला प्रचण्ड र बालेनबीच भेट भएको थियो । यसैबीच प्रतिनिधि सभा निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पहिलोपटक आज भेट भएको छ ।
ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन आज बिहान प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल गठ्ठाघर पुगेका थिए । त्यहीक्रममा ओली र प्रचण्डबीच भेट भएको हो । ‘ओलीजीसँगको यो भेट चुनावपछिको पहिलो हो,’ नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव आचार्यले भने ।
आचार्यका अनुसार चुनावपछि कांग्रेस सभापति गगन थापासँग भने प्रचण्डको कुराकानी र भेटघाट भएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij