२०८२ भाद्र २५ गते बुधवार
बाढी पहिरोमा परेर पाल्पा र कास्कीमा दुई जनाको मृत्यु भएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा पहिरोले घर पुरिँदा एक किशोरको मृत्यु भएको छ । गएराति स्थानीय महेन्द्र भट्टराईको घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरोमा परेर गम्भीर घाइते भएका किशोरलाई उपचारका लागि राति नै पाल्पा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । लगातारको वर्षाका कारण पाल्पाको ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन् ।
त्यसैगरी कास्कीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ । माछापुच्छ्रे गाउँपालिका–१ मा गएराति खहरेमा आएको बाढीले बगाउँदा ४० वर्षीया लिलादेवी परियारको मृत्यु भएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए । परियारको शव घटनास्थलदेखि २५ मिटर तल फेला परेको थियो ।
केही दिनदेखिको लगातारको वर्षाले कास्कीका विभिन्न नदीमा पानीको सतह बढेको छ । पहिरोका कारण ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी जिल्लाका सेती, मर्दी, मादी, सार्दी, विजयपुर, हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij