२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । विश्वकै सबैभन्दा धेरै तलब पाउने राजनीतिक नेता सिंगापुरका प्रधानमन्त्री लरेन्स वङको वार्षिक पारिश्रमिकमा करिब ११ लाख अमेरिकी डलर बराबरको वृद्धि हुने भएको छ ।सिंगापुर सरकारले प्रधानमन्त्रीसहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीको तलब बढाउने निर्णय गरेको हो ।
नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री वङको वार्षिक पारिश्रमिक प्याकेज २२ लाख सिंगापुर डलरबाट बढेर करिब ३६ लाख सिंगापुर डलर पुग्ने भएको छ । यो वृद्धि ६० प्रतिशतभन्दा बढी हो ।
वङले तलब वृद्धिबाट प्राप्त हुने अतिरिक्त रकम आगामी पाँच वर्षमा परोपकारी संस्थालाई दान गर्ने बताएका छन् । सरकारले उच्च सरकारी तलब आवश्यक रहेको बताउँदै सक्षम र प्रतिभाशाली व्यक्तिलाई राजनीतिमा आकर्षित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ । सिंगापुर सरकारले विगतदेखि नै उच्च तलबले सरकारी अधिकारीलाई भ्रष्टाचारबाट टाढा राख्न सहयोग गर्ने तर्क गर्दै आएको छ ।
प्रधानमन्त्री वङका अनुसार व्यवसाय क्षेत्रका उच्च तहका व्यक्ति तथा वरिष्ठ सरकारी अधिकारीलाई आफ्नो आकर्षक करियर छाडेर राजनीतिमा आउन मनाउन कठिन भइरहेको छ ।
नयाँ तलब प्रणालीअन्तर्गत सिंगापुरका मन्त्रीहरूको आधारभूत पारिश्रमिक पनि करिब ११ लाखबाट बढेर १२ लाख सिंगापुर डलर पुग्नेछ ।
कार्यसम्पादनका आधारमा उनीहरूको वार्षिक आम्दानी कार्यकालको अन्त्यसम्म करिब १३ लाख ५० हजार सिंगापुर डलरसम्म पुग्न सक्ने बताइएको छ । मन्त्रीहरूको पारिश्रमिकको केही हिस्सा देशको बेरोजगारी दर, आम्दानी वृद्धि र कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० वृद्धिजस्ता आर्थिक सूचकमा आधारित हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक तलब ४ लाख अमेरिकी डलर छ भने बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमको करिब २ लाख ३० हजार डलर रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij