२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको आगामी १५औँ महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको छ।
समितिका सदस्य सचिव राजु कटुवालले सोमबार विज्ञप्ति जारी गर्दै भदौ २३ गते मंगलबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिएका छन्।
पार्टीको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिकसम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार निर्वाचन समितिले यसअघि तय भएको अधिवेशन कार्यतालिका परिमार्जन गर्न लागेको हो।
बैठकमा अधिवेशनका प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन तथा यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनका लागि नयाँ मिति तय गर्ने विषयमा ठोस छलफल हुने निर्वाचन समितिले जनाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij