२०८२ भाद्र २४ गते मंगलवार
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो ।
इङ्वाको टाउको र शरीरका विभिन्न ठाउँमामा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएका थिए । उनकी श्रीमती शारीरिकरूपमा अशक्त छिन् ।
सासूससुरा भेट्न मृतककी बुहारी आइतबार बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान सुरु गरेको छ ।
मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीबारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेका स्थानीयले बताएका छन् ।
सोही रकम लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij