Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

‘शव गाडिएको हो, पहिचान होइन’

‘शव गाडिएको हो, पहिचान होइन’


  • 2.7K
    Shares

    ‘शव गाडिएको हो, पहिचान होइन’
    images

    प्रकृतिले एक चोटी ठगी सक्यो अब अर्को महामारीबाट नठगीऔ! रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले धेरै परिवारलाई कहिल्यै निको नहुने घाउ दिएको छ। बाढीले मानिस मात्र बगाएन, परिवारका सपना, सम्बन्ध र वर्षौँदेखि जोडिएका सम्झनाहरू समेत बगाएर लग्यो। अझ पीडादायी कुरा त के छ भने—कतिपय परिवारलाई आफ्ना प्रियजन जीवित छन् कि छैनन् भन्ने निश्चित जानकारीसमेत पाउन कठिन भएको छ।

    आफ़न्त घर फ़र्कीने आसामा टोलायका ती आखा अनी कोमल मनहरू गल्दै गैसके! तर आसाको दियो मेरेको छैन! बाढीको भेलले बगाएर ल्याएका केही शव चितवनमा भेटिए। तीमध्ये कतिपयको तत्काल पहिचान हुन सकेन। समय बित्दै जाँदा शवलाई सुरक्षित राख्ने चुनौती बढ्दै गयो। यस्तो अवस्थामा शवबाट DNA नमुना सुरक्षित राख्ने, छुट्टाछुट्टै पहिचान नम्बर दिने, आवश्यक विवरण अभिलेख गर्ने र गाडिएको स्थानको record सुरक्षित राख्ने प्रक्रिया अघि बढाइएको छ। यही निर्णयलाई लिएर अहिले प्रश्न उठिरहेका छन्। प्रश्न उठ्नु गलत होइन। मृतकको धार्मिक संस्कारबारे चिन्ता हुनु स्वाभाविक हो। आफ्नो मान्छेको अनुहार अन्तिमपटक हेर्न नपाउँदा परिवारको मनमा उठ्ने पीडा कल्पना गर्न पनि कठिन हुन्छ। तर भावनाको यो गहिरो क्षणमा हामीले विज्ञानले दिएको एउटा महत्वपूर्ण सम्भावनालाई पनि बुझ्न आवश्यक छ। शव गाडिएको हो, पहिचान होइन।

    DNA नमुना सुरक्षित छ भने पहिचानको सम्भावना बाँकी रहन्छ। शवलाई छुट्टै code दिइएको छ भने त्यसको विवरण भविष्यसम्म खोज्न सकिन्छ। गाडिएको स्थानको record सुरक्षित छ भने आवश्यक परेको अवस्थामा थप forensic परीक्षणका लागि शव निकाल्नसमेत सम्भव हुन्छ। विश्वले यस्तो अभ्यास पहिले नै देखिनै गरी सकेको रहेछ! सन् २००४ को Thailand tsunami पछि ठूलो संख्यामा मानिसको मृत्यु भयो। धेरै शव सामान्य रूपमा पहिचान गर्न नसकिने अवस्थामा थिए। त्यसपछि fingerprint, dental records, DNA लगायतका वैज्ञानिक विधिबाट मृतकको पहिचान गर्ने ठूलो अभियान सञ्चालन गरियो। त्यसैगरी Bosnia and Herzegovina, Croatia र Kosovo लगायतका क्षेत्रमा युद्धपछि mass graves बाट निकालिएका मानव अवशेषको समेत वर्षौँपछि DNA परीक्षणमार्फत पहिचान गरिएको छ। यसको अर्थ स्पष्ट छ— समय बित्दैमा पहिचानको सम्भावना समाप्त हुँदैन, यदि प्रमाण सुरक्षित छ भने।

    आज एउटा शवको नाम थाहा नहुन सक्छ। तर भोलि उसको परिवार आउन सक्छ। कुनै आमाले आफ्नो छोराको खोजीमा DNA नमुना दिन सक्छिन्। कुनै छोरीले आफ्ना बाबुको पहिचान खोज्न सक्छिन्। कुनै श्रीमतीले वर्षौँदेखि पर्खिरहेको आफ्नो जीवनसाथीको सत्य पाउन सक्छिन्। त्यसैले आजको व्यवस्थापन केवल आजका लागि होइन, भोलिको परिवारका लागि पनि हो। यसकारण सरकार र सम्बन्धित निकायसँग प्रश्न गरौँ— DNA नमुना सुरक्षित छ? हरेक शवको छुट्टै पहिचान नम्बर छ? फोटो, लगायत अन्य विवरण सुरक्षित छन्? गाडिएको स्थानको स्पष्ट record छ? यी अभिलेख भविष्यमा परिवारको पहुँचमा रहनेछन्? पहिचान खुलेपछि परिवारले आफ्नो धार्मिक संस्कारअनुसार अन्तिम संस्कार गर्न पाउनेछन्? यी प्रश्नको स्पष्ट जवाफ माग्नु विरोध होइन। बरु, मृतकप्रतिको सम्मान र परिवारप्रतिको जिम्मेवारी हो।

    हामीले यो पनि बुझ्नुपर्छ—धर्म र विज्ञान एकअर्काका विरोधी होइनन्। मृतकलाई सम्मानपूर्वक अन्तिम संस्कार दिनु हाम्रो संस्कार हो भने, उनीहरूको पहिचानका लागि DNA र अन्य प्रमाण सुरक्षित राख्नु आधुनिक विज्ञानको जिम्मेवारी हो। दुवैलाई सँगसँगै अघि बढाउन सकिन्छ। आज हामीले भावनामा आएर प्रमाण नष्ट गर्‍यौँ भने भोलि कुनै परिवारले आफ्नो मान्छेको पहिचान खोज्दा राज्यसँग केही बाँकी नहुन सक्छ। त्यो अवस्था झन् पीडादायी हुनेछ। त्यसैले “शव किन गाडियो?” भन्ने प्रश्नसँगै “गाड्नुअघि र गाडेपछि प्रमाण कसरी सुरक्षित राखियो?” भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। हामीले अन्धो समर्थन गर्नु हुँदैन। अन्धो विरोध पनि गर्नु हुँदैन। हामीले सही प्रक्रिया, पारदर्शिता र वैज्ञानिक प्रमाण माग्नुपर्छ। किनकि बाढीले हाम्रा प्रियजन हरू बगायो। तर उनीहरूको पहिचान पनि बगाएर लैजानु हुँदैन।

    प्रकृतिले एकपटक हामीलाई कठोर परीक्षा लिइसकेको छ। अब हाम्रो कमजोरी, लापरबाही वा गलत बुझाइले पीडित परिवारलाई दोस्रोपटक नठगोस्। कुनै घरमा अझै पनि आफ्नो मान्छे फर्किने आशा होला। कुनै आमाको आँखाले बाटो खोजिरहेको होला। कुनै बच्चाले बाबुको प्रतीक्षा गरिरहेको होला। त्यसैले आज हामीले सुरक्षित राखेको एउटा सानो DNA sample भोलि एउटा परिवारका लागि संसारकै ठूलो सत्य बन्न सक्छ। शव गाडिएको हो—प्रमाण होइन, शरीर गाडिएको हो—पहिचान होइन, अन्तिम संस्कार गरिएको हो—आशा होइन। मृतकलाई सम्मान गरौँ। परिवारको पीडा बुझौँ। विज्ञानको सदुपयोग गरौँ। र राज्यसँग पारदर्शिता मागौँ। प्रकृतिले हाम्रो प्रियजन खोस्यो; अब हाम्रो लापरबाहीले उनीहरूको नाम र पहिचान नखोसोस्।

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - ०८:४६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij