२०८२ भाद्र ७ गते शनिवार
‘एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञलाई केवल आगामी चुनावको’ – अब्राहम लिंकन
चर्चित राजनीतिज्ञ अब्राहम लिंकनको यो भनाई राजनीतिक क्षेत्रमा सदैमा सान्दर्भिक रहँदै आएको छ । के डा.भट्टराई र प्रचण्ड सम्मीलित पार्टीमा यस्तै प्रवृत्ति हाबी भएको त होईन ?
राजनीतिक हिसावले छुट्टाछुट्टै बाटोमा हिँडिसकेको डा. भट्टराई र प्रचण्डको पार्टी एकताको कामना त अहिलेको स्थितिमा गर्न नसकिएला । र, यो अवस्थामा प्रचण्ड र बाबुराम मिले भने देश समृद्ध बन्छ, सहिद बेपत्ता योद्धाहरूले मुक्ति पाउँछन् भन्ने पनि होइन। तर जनयुद्धको योद्धाहरू कार्यकर्ता र अग्रगामी सोच बोकेका कम्युनिस्ट आदर्श मान्ने ब्यक्तिहरू भने बाबुराम प्रचण्डको मेलमिलाप नै चाहान्छन् ।
प्रचण्डले आफ्नो विरासत बिर्सेर एमालेलाई सर्वस्व सुम्पिए । डा.भट्टराईले शुसासन र सदाचार सहितको बिकास अनि समृद्धिको नारा लिएर बिशुद्ध सुसंस्कृत बैकल्पिक शक्ति बनाउन माओवादी परित्याग गरी नेपाली काँग्रेसले समेत मन नपराएर लत्याएको महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई बैकल्पिक राजनीतिको पगरी ओढाउनु नै ठूलो गल्ती थियो ।
राजनीतिमा विकल्प सम्भब छ हामीले चाहेको विकल्प ब्यक्तिमा होईन बिचार थियो, संस्कृति र आचरणमा थियो । तर डा.भट्टराई माओवादी परित्याग गरि अल्फाविटा कम्प्लेक्सबाट बाहिरदै गर्दाको क्षणमा उहाँभित्र देखिएको बैकल्पिक राजनीतक सोच र अहिले राजेन्द्र महन्थहरूसँगको एकतासम्म आउँदा के कमजोरी गरे भन्ने महसुस हुन्नु होला ? के समीक्षा गर्ने बेला भएन र ? राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक आन्दोलनका अलग अलग नेता हुन सक्छन् तर सबैको मुल भनेको राजनीतिक नेतृत्व नै हो । संसारभरका राजनीतिक आन्दोलनमा विचारका हिसाबले मलाई कार्लमाक्स अहिलेसम्मकै सर्वमान्य विचारक लाग्छ । ‘दार्शनिकहरूले संसारको ब्याख्या मात्रै गरे तर मुख्य कुरा यसलाई बदल्नु हो ।’ उहाँको यो कथनले सर्वाधिक महत्व राख्दछ ।
जुन दिन डा.भट्टराईले ब्याख्यामात्रलाई छोडेर बद्ल्ने भीष्म प्रतिज्ञा सहित नयाँ शक्तिको परिकल्पना का साथ पार्टी स्थापना गर्दा एकखाजको जागरण आएकै थियो । डा.भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले भनेको ‘बिकास र समृद्धि’ आज राष्ट्रिय मुद्दा बनेको छ । बिकास र समृद्धिको नयाँ यात्रा परम्परागत कार्यशैलीबाट प्राप्त हुँदैन भन्ने सोच सबै राजनीतिक दलमा पुगिसकेको नै थियो ।
नयाँशक्ति पार्टीको स्थापना भइ १/२ बर्षमै निर्वाचन जित्ने र नेतृत्व गर्ने अवस्था बन्छ भन्ने बिश्वास मलाई नलागेकै हो । तर सु–संस्कृत राजनीतिक विकल्प चाहिन्छ भन्ने जनमानस अझै छ । तर, अबसरबाट बन्चित भएर बाहिर रहेका टुक्राहरू महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई अबपनि बैकल्पिक राजनीतिक शक्ति त कसरी भन्ने र खै ?
यो ब्यबस्थाभित्र धर्म निरपेक्षतामा धेरै असन्तुष्टिहरू भेटिएका छन् । संघीयतामा धेरै असन्तुष्टि भेटिएका छन् । तर, समाबेशी, समानुपातिक प्रतिनिधित्व र गणतन्त्रमा छिटफुट असन्तुष्टि बाहेक धेरै जनता र सचेत नागरिक अझैसम्म यो ब्यबस्थाकै पक्षमा छन् । अहिले गणतन्त्रका शासकहरू जनताप्रति नै असहिष्णु हुन थालेका भने पक्कै हो । अपराध प्रमाणित भएकाहरू पनि राजनीतिक शक्तिको आडमा रिहा हुन थालेका छन् । यो प्रवृत्ति गणतन्त्रको मर्मविपरीत छ, यस्तै कृत्यले गणतन्त्रलाई कुरुप समेत बनाएको छ । तर असन्तुष्टिको पनि एउटा सीमा हुन्छ, असन्तुष्टीले सीमा नाघेपछि बिस्फोट हुन्छ जसले ठुलै हलचल पैदा गर्छ ।
माओवादी जनयुद्ध, ६२/६३ को बिशाल जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त भएको हो आजको व्यवस्था । अझै प्रचण्ड र बाबुरामहरू नै आ–आफ्नो अहम्ताका साथ अघि बढ्दछन् भने यो लोकतान्त्रिक गणतन्त्र गुम्ने निश्चित छ । अहिले भइरहेका चलखेलहरूले यही कुराको संकेत गर्छ ।
प्रचण्ड बाबुरामको पार्टी एकता या कार्यगत एकता
एमाले र माओवादी नाममा कम्युनिष्ट पार्टी त हुन् तर यी पार्टीले अहिले गरिरहेको राजनीति माक्र्सले भनेजस्तो वर्गको होइन, पूंजीपति बर्गको पक्षपोषण गरिरहेको छ । माक्र्सवादको मूल दर्शन ‘सर्वहारा वर्गको अधिनायकत्व’बाट यी पार्टीहरू विमुख भइसकेका छन् । तर राजनीतिक दस्तावेजको हिसाबले अझैपनि माओवादी केन्द्रको दस्तावेज हेटौंडा महाअधिबेशनमा डा.भट्टराई नै मस्यौदाकार थिए,त्यो राजनीतिक दस्तावेज जनतालाई अधिकार सप्पन्न बनाउने कुरासम्म ठिक थियो । बुढीगण्डकीमा धेरै नै पानी बगिसक्यो अब पछाडि फर्किन सम्भव चाहिँ देखिँदैन । बाबुराम पक्षका कार्यकर्ता र प्रचण्डपक्षीय कार्यकर्ताले एकताको सपना देखे जस्तो त लाग्छ तर बाबुराम पक्षमा केही होलान् तर प्रचण्ड पक्षका दोश्रो तहका धेरै नेताहरूले बाबुरामको राजनीतिक दस्तावेज चाहिँ स्वीकार गर्ने तर बाबुरामलाई अस्वीकार गर्ने गरेका छन् । डा.भट्टराईले माओवादी पार्टी परित्याग गर्नुको मूख्य कारक तत्व यो पनि हो । फेरि प्रश्न आउला के बाबुरामको महन्थ ठाकुर राजेन्द्र महतो र शरदसिंह भण्डारीहरूसँगको एकता चाहिँ अग्रगामी थियो त ? पटक्कै थिएन ।
सबैभन्दा उपयुक्त विकल्प त उही नयाँशक्ति सु–संस्कृत आचरणसहितको पार्टी नै थियोे । विकल्प सम्भब थियो तर नेपाल राष्ट्र÷ समाज र जनताको चेतनास्तर सुधारउन्मुख थियो हतारले न नयाँशक्ति बन्यो तर अहिले आएर हेर्दा यो पुरानैमा विलय हुने देखिन्छ ।
संसद् विघटनदेखि पार्टी विभाजनसम्म आउँदा प्रचण्ड बाबुरामहरूको समूहले आत्मसमीक्षा गर्नुपर्छ कि पर्दैन ? यी घटनाप्रति जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? कि जिम्मेवारी प्रधानमन्त्री ओलीले मात्रै लिने हो ?
संसद विघटनदेखिका सबै घटनाप्रति सबै नेताले आत्मसमिक्षा मात्रै होइन्, यो लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने समयमा ‘ओली प्रवृत्ति’ कसरी विकसित भयो भन्ने कुराको पनि जवाफ खोज्नुपर्छ । ओली प्रवृत्तिलाई विकसित हुन नदिन कसरी अगाडि बढ्ने त्यो स्पष्ट हुन आवश्यक छ । क्रान्ति, शान्ति र संबिधानको नेतृत्व माओवादी नै गरेको दाबी गरिन्छ भने बिगतमा भएका कमीकमजोरीहरूलाई सच्याउदै, आत्मसमिक्षा गर्दै एकवद्ध भई अगाडि बढ्नु नै आजको एकमात्र बाटो हो ।
अहिलेका सबै कम्युनिस्ट नेताहरू र आदर्शले कम्युनिस्ट ठान्ने ब्यक्तिहरू के ठान्छन् आत्मासमीक्षाले उनीहरूका आफ्ना कमजोरीहरूको पर्दाफास हुन्छन् आफ्नो पद र प्रतिष्ठालाई समिक्षा गर्दा नकारात्मक असर पर्छ भन्ने षड्यन्त्रको सिद्धान्तले काम गरीरहेको छ। यदि मार्क्सवादमा बिश्वास गर्ने हो भने त्यस्तो हुँदैन । आफ्ना गल्तीहरूलाई ढाकछोप गरेर होइन, बरु तिनलाई सच्याएर घमण्ड गरेर होइन, बरु आफूलाई कठिन काममा लगाएर नेताहरू आफ्नो प्रतिष्ठालाई बचाउनु पर्छ । गल्तीहरू सच्याउँदा विश्वास कमजोर हुँदैन, बरु बलियो मात्र हुनेछ । घमण्डी र लाज पचाउने मानिसहरू मात्र गल्तीको पर्दाफास होला भनी डराउँछन् ।
जनताको बीचमा गएर नेताले जनतालाई सिकाउने मात्र होइन, उनीहरूबाट समेत सिक्नुपर्छ । अब जनतामा नेतृत्व चिनेर हिँड्ने बानी नपरेको भान अहिले हुँदैछ ।
नेताले लिनुपर्ने अडान नेतृत्वदायी कार्यकर्ताहरूले आफूले गर्ने प्रत्येक काममा पार्टीको दृष्टिकोणलाई आधार बनाउनु पर्छ । तर यो सामान्य भनाइ मात्र हो । बढी विशेष ढंगबाट भन्ने हो भने नेतृत्वमा यस्ता गुणहरू हुनुपर्ने होईन माक्र्सवादी–लेनिनवादी विश्व–दृष्टिकोण र जीवनबारे क्रान्तिकारी दृष्टिकोण, सिद्धान्तप्रतिको निष्ठा, जनताको तागतमा आस्था, अध्ययनप्रति समर्पण, दह्रो जुझारु भावना, अनुशासनको पालना जस्ता गुण हुनुपर्ने होईन ?
नेताहरूको अधुरो ज्ञानले उनीहरूको अनुभव अपर्याप्त रहन्छ । आफ्नै ज्ञान र अनुभवले सबै कुरा दिन सक्दैन । त्यसैले जनतामा गएर उनीहरूबाट सिक्नु र अनुभव लिनु आवश्यक छ । सच्चा कम्युनिष्ट भए त कामको समीक्षा हुनुपर्छ कार्यकर्ताहरूको काम र कार्ययोजनाको कार्यान्वयनको समीक्षा हुनुपर्छ । कार्यकर्ताहरूको योग्यता जाँच्नुपर्दछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij